26 September 2021  |   आइतवार, अशोज १०, २०७८

नेविसंघको आन्तरिक विवादले स्ववियू निर्वाचन अन्यौलमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३  

कोहलपुर, १६ फागुन / कांग्रेस सम्वद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादका कारण बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको स्ववियू निर्वाचन अन्यौलमा परेको छ । स्ववियू निर्वाचन नजिकिँदै गएका बेला नेविसंघ क्याम्पस इकाई समितिले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि स्ववियू निर्वाचनमा अवरोध खडा भएको हो ।
इकाई सभापति भोलानाथ शर्माको नेतृत्वमा गएको एक टोलीले जनक लम्साललाई नेविसंघको उम्मेदवार भनेर नामावली प्रकाशन गर्नुको साटो स्वतन्त्र भनेर प्रकाशन गरेको भन्दै आइतबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।
भएको के हो ?
फागुन १४ गते उम्मेदवारी दर्ताको समयमा नेवि संघ क्याम्पस इकाई सभापति भोलानाथ शर्माद्वारा हस्ताक्षरित पत्रबाट जनक लम्साललाई अध्यक्षको उम्मेदवार बनाइएको प्यानल दर्ता भएको थियो । त्यस्तै नेवि संघ क्याम्पस इकाई सचिव छत्र वलीको हस्ताक्षरमा कमल बहादुर शाहीको नेतृत्वमा अर्को प्यानल दर्ता गरिएको थियो । नेविसंघ ‘ए’ र नेवि संघ ‘बि’ भन्दै निर्वाचन समितिमा प्यानल दर्ता गरियो ।
नेविसंघका २ वटा छुट्टाछुट्टै प्यानल दर्ता भएपछि निर्वाचन समितिलाई प¥यो फसाद् । समितिको सोही दिन दिउँसो ३ बजेको बैठकले दुबै पत्रको आधिकारिता माग ग¥यो । समितिले आइतबार दिउँसो ३ बजे सम्म नेवि संघ केन्द्रीय अध्यक्षको आधिकारिक पत्र माग गरेको
थियो । सोही अनुसार आइतबार पौने १२ बजे केन्द्रीय अध्यक्ष नैनसिंह महरले बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस निर्वाचन अधिकृतलाई सम्बोधन गरी हस्ताक्षर गरेको आधिकारिक पत्रमा कमलबहादुर शाहीको प्यानल नै आधिकारिक भएको भन्ने खुलाएपछि समितिले सो प्यानललाई आधिकारिक प्यानल कायम ग¥यो ।
त्यसलगत्तै सार्वजनिक गरिएको उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा जनक लम्साललाई स्वतन्त्र उम्मेदवार बनाइएपछि नेविसंघ इकाई समिति सभापति लगायतको टोली विरोधमा उत्रिएको हो । इकाई सभापति भोलानाथ शर्माले इकाई समितिले बनाएको उम्मेदवार नै नेविसंघको आधिकारिक उम्मेदवार भएको दावी गरेका छन् । उनले नेवि संघ ‘बि’ लाई आधिकारिक बनाइएको र इकाई समितिले पठाएको उम्मेदवारलाई स्वतन्त्र भन्दै नामावली प्रकाशित भएपछि निर्वाचन समिति प्रति आपत्ति जनाएका छन् ।
यस विषयमा चाँडो सत्यतथ्य बाहिर नआउँदा सम्म निर्वाचनका कुनै पनि कार्यक्रम अगाडि नबढाउन माग गर्दै तालाबन्दी गरेको उनको भनाई छ । यदी अटेर गरी कार्यक्रम अघि बढाएमा हुने क्षतिको जिम्मेवार स्ववियू निर्वाचन कमिटी नै हुने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
को को छन् उम्मेदवार ?
निर्वाचन समितिका अनुसार अनेरास्ववियूका तर्फबाट स्ववियू अध्यक्षका उम्मेदवार दिनेश केसी, सचिव टेकलाल केसी, कोषाध्यक्ष कालीबहादुर डाँगी, सदस्इहरु बालऋषी पाण्डे, प्रदिप तिमिल्सिना, गिताकुमारी सुनार, गणेशबहादुर खड्का र माधव अधिकारी रहेका छन् । त्यस्तै नेविसंघबाट स्ववियू अध्यक्षका उम्मेदवार कमलबहादुर शाही, सचिव उपेन्द्र बहादुर विष्ट, कोषाध्यक्ष भगवती पोख्रेल र सदस्य गोविन्द रोका रहेका छन् । त्यस्तै संयुक्त अखिल (क्रान्तिकारी)बाट अध्यक्षका उम्मेदवार राजेन्द्र विष्ट, सचिव महेश बस्नेत, कोषाध्यक्ष डम्बर बहादुर शाही, सदस्इहरु जनक बडुवाल संजय केसी, रामराज फडेरा, दिपिका आचार्य र सुष्मा आचार्य छन् ।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका तर्फबाट सचिवमा बिजय काफ्लेले उम्मेदवारी दिएका छन् । त्यस्तै जनक लम्साललाई स्वतन्त्र अध्यक्षको उम्मेदवार र दुर्गाभण्डारीलाई स्वतन्त्र कोषाध्यक्षको उम्मेदवार भएको नामावली समितिले प्रकाशित गरेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १६, २०७३     12:42:58 PM  |