23 June 2021  |   बुधबार, असार ९, २०७८

युवतीको प्रयोग गरेर अपहरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३  

अपहरणमा संलग्न रहेको आरोपमा युवती सहित चार पक्राउ, एक फरार

कोहलपुर, २८ माघ / युवतीको प्रयोग गरी अपहरण गरेर फिरौती असुल्ने गिरोह सक्रिय रुपमा रहेको खुलेको छ । २४ माघमा सैघा ५ दाङ्गका केशरमान रोकालाई अपहरण गरी फिरौती असुल्ने क्रममा बाँके कोहलपुरमा प्रहरी तथा स्थानीयले रंगेहात पक्राउ गरेपछि यो धन्दामा गिरोह नै सक्रिय रहेको खुलेको हो ।
अपहरणमा संलग्न रहेको आरोपमा तुलसीपुर ४ की २० वर्षिया रिचा गुरुङ्ग, तुल्सीपुर ६ का २१ वर्षिय राजकुमार नेपाली, सोही ठाउँ बस्ने २१ वर्षिय विश्व नेपाली र फुलबारी ९ बस्ने २३ वर्षिय अनिल नेपालीलाई पक्राउ गरिएको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । एकजना भने फरार रहेका छन् । पक्राउ परेकालाई शरीर बन्धक मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको उनको भनाई छ ।
२३ माघमा जग्गा कारोबारीको काम गर्ने रोकालाई दाङ्गबाट नेपालगञ्ज बोलाई बन्धक बनाइएको थियो ।यस्तो छ घटनाको नालीबेली केशरमानका साथी दिलकुमार पुनले दुई हप्ता अघि तुलसीपुर ४ की २० वर्षिया रिचा गुरुङ्गसँग चिनजान गराइदिएका थिए । चिनचानपछि बीचबीचमा रिचाले धेरैपटक भेट्नलाई बोलाइरहन्थिन् । केशरमानले आफू व्यस्त भएको भन्दै भेटेका थिएनन् । जग्गा कारोबारी भएकाले उनलाई ती युवतीले आफू नेपालगञ्ज रहेको र नेपालगञ्जमा घर किन्ने ‘ठूलो पार्टी’ भएको भन्दै फोन गरिन् ।
केशरमानले दाङ्गमा एउटा जग्गा पास गर्दैगर्दा अपरान्ह ४ बजिसकेको थियो । साँझ ५÷६ बजे फेरि ती युवतीले फोनमा ‘जहिल्यै ढाँट्नुहुन्छ, जसरी पनि आउनुस्’ भनेपछि उनी जान तयार भए । राती करिब ९ बजे आफ्ना साथीहरुसँग नेपालगञ्जको कारकाँदो चोकमा ती युवतीलाई भेटे । त्यसपछि लागे नेपालगञ्जस्थित सनराईज होटल । सनराईज होटलमा दुईवटा कोठा बुक गरे । खाजा खाँदै गर्दा मध्यरात १२ बजिसकेको थियो । कामको बारेमा भोलि कुरा गर्ने भन्दै आ–आफ्नो कोठामा सुत्न लागे ।

keshar man

पीडित केशरमान रोका 

‘डिल’ गर्ने मान्छे आउने भन्दै ती युवतीले केशरमानलाई आफ्नो कोठामा बोलाइन् । बिहान करिब ४ बजे ढोका ढकढक हानेपछि भनेको मान्छे आयो भन्दै ढोका खोले । ‘हामी पुलिस हो केटी ल्याएर बस्छस्’ भन्दै केशरमानलाई जबर्जस्ती ३÷४ जनाले लछारपछार गर्दै लगे । ती व्यक्तिहरुले अन्य साथीहरुलाई चुकुल लगाएर भित्र थुनिसकेका रहेछन् ।
उनीहरुले निजी गाडीमा हालेर केशरमानलाई कोहलपुरस्थित जुनकिरी गेष्ट हाउसमा ल्याएर बन्धक बनाए । त्यसपछि पिट्दै ज्यानको माया छ भने रकम दिनुपर्ने प्रस्ताव गरे । ५० लाखबाट फिरौती रकम प्रस्ताव शुरु गरेका उनीहरु १५ लाखसम्म झरे । उनीहरुबीच अहिले साढे ३ लाख दिएर छुट्ने र अन्य रकम पछि दिने गरी सहमति भयो ।
उनलाई कोहलपुरबाट फेरि बिहान १० बजे चेकबाट रकम झिक्नका लागि नेपालगञ्जस्थित हिमालयन बैंक लगियो । स्लिपमा चेक एउटामा मात्रै भएको र चेकमा लेख्दा बिग्रिएपछि चेकको स्लिप बनाउने प्रक्रियामा लागे । खाता दाङ्ग शाखाको भएकाले चेक स्लिप दिन नमिल्ने बैंकले भनेपछि उनीहरु कोहलपुर फर्किए । केशरमानको फोन पनि उनीहरुले कब्जामा लिएका थिए ।

केशरमानलाई उनीहरुले साथीसँग पैसा माग्नलाई भनेपछि उनले फोन गरेर एकजना साथीलाई अढाई लाख लिएर आउन भने । उनीसँग झोलामा भएको एक लाख रुपैंयामा उनीहरुले लगिसकेका थिए । साथी पैसा लिएर बसपार्क आएपनि ती व्यक्तिहरुले दाङ्गमै हिसाबकिताव गर्ने भन्दै गाडी घुमाउने बेला केशरमानका साथीहरुले विवाद गर्दै गाडी रोकेर उनीहरुलाई पक्राउ गराउन सफल भए । प्रहरीले उनीहरुको साथबाट एकलाख नगद समेत बरामद् गरेको छ ।
– केशरमान र केशरमानका साथीहरुसँगको कुराकानीमा आधारित

प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     11:31:39 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *