करिब ४ वर्षअघि गुमनाम थियो गाभर भ्याली । स्थानीयहरु रोजगारीका लागि कोही भारत पस्थे भने कोही जिल्लाका मुख्य बजारहरुमा मजदुरी गर्न निस्कन्थे । रोजीरोटीका लागि मजदुरी नगरी सुखै थिएन । आम्दानीका अन्य श्रोतहरु नभएपछि मजदुरी गर्नुको विकल्प थिएन । भ्याली भित्रको गोलाकार बस्ती, बीचमा रहेको खेतियोग्य जमीन । जमिन खेतियोग्य भए पनि वर्षभर नपुग्ने भएपछि रोजीरोटीका लागि मजदुरी गर्नैपर्ने हुन्थ्यो । अहिले गाभर भ्यालीको परिचय फेरिएको छ । गाभर भ्यालीले अहिले नामको पछाडी सामुदायिक होमस्टे जोडेको छ । अहिले मजदुरीमा निस्कनेको संख्या न्यून छ । गाभर भ्यालीको रौनक फेरिएको छ । बाह्य मानिसहरुको आवतजावत दिन प्रतिदिन बाक्लिँदैछ । एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरणले जो कोहीलाई लोभ्याउँछ । चुरे पहाडसँग जोडिएको चिटिक्क अनि सधैँ हराभरा देखिने गाभर भ्याली र यहाँका मुगाली–थारू होमस्टेहरू । एउटै भान्सा र आँगनमा हिमालदेखि तराईसम्मका भिन्न परिकारको स्वाद, विविध भेषभूषा र सांस्कृतिक रहनसहन भेटिन्छ । खेतियोग्य जमीन भए पनि वर्षभरी खाना पुर्याउन हिम्मेहम्मे पथ्र्यो । वर्षभरीको छाक टार्न मजदुरीको विकल्प नै थिए । स्थानीयहरुके पहलमा होमस्टे सञ्चालन भए ।
मुगुको रारा राष्ट्रिय निकुञ्ज विस्तार गर्दा २०३५ मा रारालिही क्षेत्रका बासिन्दालाई गाभर भ्यालीछेउ पुनःस्थापना गरिएको थियो । २०४० पछि थारू समुदाय पनि आए । सुरुमा दुई समुदायको भाषा, संस्कृति र रहनसहन केही मिल्दैनथ्यो । रहँदा–बस्दा एकले अर्कालाई बुझे । सबैभन्दा धेरै दुस्ख–कष्ट र समस्याले उनीहरूलाई नजिक्यायो । जैविक विविधताले भरिपूर्ण गाभरमा थारू र मुगाली, हुम्ली र सल्यानी, रुकुमेली र दैलेखी संस्कृतिको पनि उत्तिकै विविधता छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको सिमानामा अवस्थित गाभर भ्यालीको देशका अरू होमस्टेभन्दा छुट्टै मौलिकता छ । हिमाली भेगका मुगेली र तराईका थारू समुदायका भिन्न स्वाद, भिन्न सांस्कृतिक विविधता र हस्तकलाको केन्द्र हो । होमस्टेमा हिमाली फापरको रोटी, कोदाको ढिडो, सिस्नोको फाँडो र सिमीको दाल लोकप्रिय छ । त्यस्तै, थारू परिकार सिद्रा, ढिक्री, घोँगी र लोकल कुखुराको माग अत्यधिक छ । पाहुनाको रुचि जे हुन्छ, त्यही अनुसार गाउँमा कहिले थारू नाच हुन्छ त कहिले देउडा । सार्वजनिक बिदाका दिन होमस्टेहरु खचाखच भरिन्छन् । पारिवारिक जमघटदेखि साना ठूला बैठक र सभा पनि होमस्टेमा भइरहन्छन् । पर्यटकीय गन्तव्य बनाउनका लागि पनि गाभर भ्यालीका बासिन्दा वन्यजन्तु संरक्षणमा पनि उत्तिकै सक्रिय छन् । यो ठाउँ थारू–मुगाली परिकारको स्वाद र सांस्कृतिक मनोरञ्जनसँगै वन्यजन्तु अवलोकनको केन्द्र बन्दैछ । पर्यटकीय गतिविधिसँगै होमस्टे जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । आन्तरिक पर्यटकहरू गाभर भ्यालीमा आउन थालेका छन् । थारू घरमा थारू मौलिकता झल्किने होमस्टे छन् ।
त्यस्तै, मुगेली घरमा उच्च हिमाली मौलिकता झल्किन्छ । पाँचवटा घरबाट सुरु भएको होमस्टे बढ्दै गएका छन् । गाउँमा मुगेली र थारू संग्रहालय बनाउने योजना छ । त्यस्तै, यो मनोरम उपत्यकाको पर्यटकीय अवलोकनका लागि ५० फिट अग्लो भ्यु टावर बन्दैछ । होमस्टे सञ्चालकसँग बाँके र बर्दिया निकुञ्जमा जंगल सफारी गराउने प्याकेज पनि छ ।
होमस्टेमा थारू नाच, डेउडा नाच, पञ्चेबाजा, पूजाआजामा देखाइने पैठ, छैठ, धालतलवार नाच, रुकुमेली कुरकुटी टप्पा, मयुर झर्रा नाच पनि हेर्न पाइन्छ । थारू हस्तकलाका सामग्रीहरू ढकिया, गुन्द्री, सुपा, डाली, भकारी, छिटुवा, छतरी, हेल्का, डेलिया, काठका मूर्तिहरू, माटाका भाँडाहरू चलनचल्तीमा छन् । मुगाली समुदायले डोको, नाम्लो, चकटी, मान्द्रो, ठेकी, मदानी, काठका मूर्तिहरू, काठको कोसी, भकारी, डोल्ची, बेतबासका कुर्सीहरू बनाउँछन् । पाँच वर्षभित्र कम्तीमा एक सय युवालाई होमस्टेमा स्वरोजगार बनाउने लक्ष्य लिइएको छ । बाँके निकुञ्ज कान्छो भए पनि वन्यजन्तुको कमी छैन । पाटे बाघ, चितुवा, चौसिंगा, जरायो, नीलगाई, चित्तल, बँदेल, स्याल, खरायो, न्याउरी मुसा, ब्वाँसो मध्यवर्ती क्षेत्र वरपरै देखिन थालेका छन् । आन्तरिक तथा बाह्य पाहुनालाई गाभर भ्याली हुँदै चुरे पहाड पदयात्राको माग भइरहेको छ ।
चुरे पहाड पदयात्रा गर्दा वन्यजन्तु अवलोकन, पहाडमाथिबाट देखिने दृश्य तथा बबईमा र्याफ्टिङ गर्न सकिने चौधरी बताउँछन् । तराईको सखिया नाँचदेखि कर्णालीको देउडा एउटै बसाइमा नाच्न पाइन्छ । समुदायस्तरको यस्तो एकता र सद्भाव अन्यत्र बिरलै पाइएला । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । नेपालगन्जभन्दा चिसो मौसम र थारु परिकारमा रम्न पाएपछि आन्तरिक पर्यटकहरु त्यहाँ पुगेर रमाउने गर्दछन् । चारैतिर घना जंगलले घेरिएको र बीचमा खेतियोग्य जमिन रहेको गाभर भ्याली अध्ययन अनुसन्धानका लागिसमेत उपयुक्त छ । थारु र मुगेली समुदायको बस्ती रहेको गाभरमा दुईखाले संस्कृति छ । गाभर भ्यालीलाई थारु र मुगेली संस्कृतिको अध्ययन गर्ने थलो बनाउन सकिन्छ । वन विज्ञान तथा संस्कृति सम्बन्धी अध्धयनरत विद्यार्थीहरुको अध्धयनका लागि निकै लाभदायक र उपयुक्त ठाउँका रुपमा विकास गर्न सकिन्छ ।
पर्यटकहरुको संख्या बढ्न थालेपछि होमस्टे सञ्चालकहरु समेत होमस्टेको स्तरवृद्धि गर्नका लागिपरेका छन् । पर्यटकीय पूर्वाधार निर्माणका लागि गाभर भ्यालीसँग जोडिएको करिब २० विघा जमिनमा लायन्स क्लव अफ इन्टरनेशनलले जैविक पार्क निर्माणका लागि सहकार्य गरिरहेको छ भने पर्यटन कार्यालयले गत आर्थिक वर्ष २०७२/०७३ मा थारु संग्रहालयका लागि भवन निर्माण गरिसकेको छ । गाभरलाई बाँकेकै प्रमूख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिन्छ । समुदायले थोरै मात्र व्यवस्थापन गर्न सके मध्यपश्चिमकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
पर्यटक आगमन वृद्धिसँगै होमस्टेको संख्या बढाउने तयारी होमस्टे सञ्चालकहरुको छ । एक बर्षभित्र थप १० वटा घरमा विस्तार गर्ने होमस्टे व्यवस्थापन समितिको तयारी छ ।
बाघ संरक्षणका उदेश्यले स्थापित बांके राष्ट्रिय निकुञ्ज तथा चुरे पहाडले घेरेको भावर क्षेत्रमा पर्ने गाभर भ्याली पर्यटकीय आकर्षणको केन्द्र बिन्दु हो । गाभर भ्यालीमा आन्तरिक पर्यटकहरु पुग्नुका साथै भारत, स्वीजरल्याण्ड, क्यानडा, बंगलादेश, अमेरिका, थाइल्याण्ड, बहराइन लगायतका विभिन्न मुलुकबाट पनि बाह्य पर्यटकहरु पुग्ने गरेको गाभर भ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ । त्यहाँ आउने अधिकांश बाहय पर्यटकहरु अध्ययन अनुसन्धानका लागि आउने गरेका छन् ।
गाभर भ्याली होमस्टे व्यवस्थापन समिति अनुसार बाह्य देशबा हालसम्म १५० बढि पर्यटकहरु गाभर भ्यालीको भ्रमणमा आएका छन् । सरकारले पनि यस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुको पहिचान गरी दीर्घकालिन योजना बनाउन आवश्यक देखिन्छ ।