कोहलपुर (बाँके) ।
सुदूरपश्चिमको बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर २ माझी गाउँमा जन्मिएकी लक्ष्मी नेपाली गायिका हुन् । विस २०५६ माघ २४ गते विकट बाजुरामा जन्मिएकी नेपाली पछिल्लो समय गायन क्षेत्रमै आफ्नो पहिचान बनाउँदैछिन् । बुवा लाल दमाई र आमा कली दमाईको कोखबाट माइली छोरीका रूपमा जन्मेकी उनका दुई दाई, एक भाइ र दिदी छन् । एसएलसीसम्मको औपचारिक शिक्षा आर्जन गरेकी नेपालीको सानै उमेरदेखि गायनमा रुचि थियो । उनले प्राथमिक शिक्षा श्री सत्यवादी माविबाट हासिल गरिन् ।
उनी भन्छिन्, ‘सानै उमेरदेखि गायनमा रुचि थियो । स्कुलका विभिन्न कार्यक्रममा गीत गाउँथे । बिस्तारै गाउँघरमा हुने कार्यक्रमा जान थालेँ । अहिले पनि गायन क्षेत्रमै संघर्ष गरिरहेकी छु ।’ उनले गीत गाउँदा सबैले तारिफ गर्थे । यसैपनि गायनमा लक्ष्मीको रुचि थियो । सबैले राम्रो छ भन्दा आफूलाई हौसला मिल्थ्यो । पछि बिस्तारै उनी गायन क्षेत्रमा सक्रिय हुन थालिन् । अहिले उनी नेपाली गीत संगीतमा आफ्नो पहिचान बनाउँदैछिन् ।
यतिबेला उनको अधिकांश समय गीत रेकर्डिङमा बित्छ । घरको आर्थिक अवस्था कमजोर हुँदासमेत गीत संगीतमा स्थापित हुनका लागि संघर्ष गरेकी लक्ष्मी अहिले गीत गाएरै जीविकोपार्जनसमेत गरिरहेकी छिन् । उनलाई संगीत क्षेत्रमा चिनाउने गीत चाहिँ ‘पछ्यौरी दिएँ’ बोलको गीत हो। त्यसपछि लक्ष्मीले सांगितिक क्षेत्रमा पछि फर्केर हेर्न परेन् । उनको सांगितिक करिअर निरन्तर उकालो लागिरहेको छ । उनका अनुसार यही गीतले दर्शक, श्र्रोतामाझ बढी चिनाएको हो ।
गायिका नेपालीका अहिलेसम्म चार दर्जन बढी गीत बजारमा आइसकेका छन् । थुप्रै गीतहरू रेकर्ड भइसकेका छन् । एक दर्जनभन्दा बढी गीत बजारमा आउनै बाँकी रहेको उनको भनाइ छ । उनी आधुनिक, लोकदोहोरी र देउडा गीत गाउँछिन् । ‘मन होइजा सितल’बोलको देउडा गीत उनको चर्चित गीत हो । ‘सम्झना आउँछ कि लै लै’ लगायत दर्जनौँ देउडा गीतमा उनले स्वर दिइसकेकी छिन् । दर्शक र श्रोताको मायाले सांगीतिक क्षेत्रमा अगाडि बढ्न थप प्रेरणा मिलेको गायिका लक्ष्मी बताउँछिन् ।
लोक, आधुनिक र देउडा गीत गाएर सांगीतिक दुनियाँमा छाएकी गायिका नेपाली खासगरि देउडा गीतमा छाइरहेकी छिन् । बाल्यकालदेखि नै सांगीतिक मोहमा लागेकी उनी संगीतमै भविष्य बनाउने सपना बोकेर काठमाडौँमा सांगीतिक संघर्ष गरिरहेकी छिन् । सांगितिक क्षेत्रबाटै घरखर्चसमेत धान्दै आएकी उनी विभिन्न ठाउँमा आयोजित स्टेज प्रोग्राम (स्थलगत कार्यक्रम)मा पनि उत्तिकै जम्न थालेकी छिन् । गायिका नेपालीको स्वरमा सजिएको दर्जन बढी लोक तथा देउढा गीतमा निर्माण गरिएका म्युजिक भिडिओसमेत बजारमा आएका छन् ।









प्रतिक्रिया दिनुहोस्