23 June 2021  |   बुधबार, असार ९, २०७८

झिँझरीबाट रातमा बालुवा तस्करी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३  

केशव राना
कोहलपुर, असोज ८
बाँकेको झिँझरी खोलाबाट रातको समयमा बालुवा तस्करी हुने गरेको छ । ६ साउन मध्यरातमा बालुवा तस्करीमा संलग्न १३ वटा ट्याक्टरलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ट्याक्टरहरुमा भे १ त ६२४१, ५३८०, ६००३, ७०९३, ६५३२, ६४१२, ६०४६, ६८६०, ७४०३, ५६९८, ३३८०, ६६६३ र ५९९७ रहेका छन् । यस्तै कम्दीस्थित राप्ती नदीबाट ३ वटा बालुवा भरिएको ट्याक्टर पक्राउ गरेको छ । भे १ त ५०७४, ५०९४ र ६९१५ नम्बरको ट्याक्टर पक्राउ परेका हुन् । ती बालुवा भरिएको १६ ट्याक्टर र चालकलाई जिल्ला वन कार्यालय बाँकेमा बुझाइने कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए । उनले तस्करी व्यापक रुपमा भैरहेको सूचनाका आधारमा बालुवा सहितको ट्याक्टर पक्राउ गरिएको जानकारी दिए ।
यसअघि पनि ढुंगा, गिट्टी, बालुवा तस्करीमा संलग्न ट्याक्टरहरु प्रहरीले पक्राउ गरेको थियो । जिल्लामा रोडा, ढुंगा, गिट्टी, बालुवा उत्खनन् र निकासी प्रतिबन्ध रहेपनि ढुंगा, बालुवा उत्खनन् गरी निर्वाध तस्करी भैरहेको हो । तस्करी गर्न ट्याक्टरहरुले जंगलका भित्री बाटाहरु प्रयोग गर्दै आएका छन् । वर्षौदेखि प्राकृतिक सम्पदा रातको समयमा चोरी तस्करी हुने गरेपनि नियन्त्रणमा भने आउन सकेको छैन । तस्करी गरिएको ढुङ्गा, बालुवा दोब्बर मूल्यमा विक्री हुने गरेको छ । ट्याक्टर व्यवसायीका अनुसार तीन हजार प्रतिट्रिपमा पाइने बालुवा अहिले बजारमा छ हजारमा विक्रि हुने गर्दछ भने आठ हजार प्रतिट्रिप विक्रि हुने ढुङ्गा १६ हजार सम्म विक्रि भइरहेको छ । ६ प्रहरीलाई कारबाही गर्ने तयारी
तस्करी नियन्त्रणका लागि ढकेरीमा खटाइएका हवल्दार सहित ६ जना प्रहरीहरुलाई कारबाहीको तयारी गरिएको छ । चोरी निकासी हुन नदिनका लागि प्रहरी परिचालन गरिएपनि सोही ठाउँबाट चोरी तस्करी भएको भन्दै ती प्रहरीलाई प्रहरी नियमावली अन्तरगत कारबाही गरिने कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३     11:01:06 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *