कोहलपुर, भदौ २२
जेसीज सप्ताहको चौथो दिन मंगलबार कोहलपुरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । कोहलपुर जेसीजको आयोजनामा भएको जेसीज सप्ताह अन्तरगत मंगलबार कोहलपुरस्थित सुकुम्वासी वस्तीमा स्वास्थ्य शिविर गरिएको हो । शिविरको उद्घाटन गदै कोहलपुर जेसीजका पूर्व अध्यक्ष विष्णु बेल्वासले सुगम नगरको यस दुर्गम वस्तीका वासिन्दाहरुले नियमित चेकजाँच गर्नुपर्ने बताए । साथै स्वास्थ्य शिविरले नियमित रुपमा चेकजाँच गर्नुपर्छ भन्ने सचेतना फैलिएको बताए । शिविरमा करीव सय भन्दा बढी बृद्धबृद्धा, बालबालिका, महिलाहरु तथा पुरुषहरुको चेकजाँच गरिएको थियो । कोहलपुर जेसीज उपाध्यक्ष राम पाण्डेको संयोजकत्वमा भएको शिविरमा माता मनकामना आयुर्वेद स्वास्थ्य क्लिनिक प्रा.लि. कोहलपुरको प्राविधिक सहयोग गरेको थियो । शिविरमा कोहलपुर जेसीज अध्यक्ष हेमराज खनाल सन्तोष, निर्वतमान अध्यक्ष पवन थापा, महासचिव लुना बुढाथोकी लगायतको उपस्थिति थियो । यस्तै आज बुधबार पाँचौ दिन तालिमको आयोजना गरिएको जेसीजले जनाएको छ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २२, २०७३