23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

क्षेत्रिय ट्राफिकमा जनशक्ति अभावटा ट्राफिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २५, २०७३  

एउटा प्रहरीको भागमा ४०४ सवारीसाधन र १८ किलोमिटर बढी सडक

केशव राना
कोहलपुर, साउन

मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरमा जनशक्ति अभाव रहेको पाइएको छ । हाल कार्यालयमा एक सय ९२ जनाको दरबन्दी रहेकोमा दुई सय ८३ जना प्रहरी कार्यरत छन् । तर, पनि अत्यधिक दुर्घटना हुने मध्यपश्चिम क्षेत्रमा ट्राफिक प्रहरीको यो संख्या भने निकै कम हो । मध्यपश्चिम क्षेत्रको सडकको जम्मा लम्बाई ५,१६०.३९ किलोमिटर रहेको छ । यसरी हेर्दा एकजना ट्राफिक प्रहरीको भागमा १८ किलोमिटर बढी पर्न आउँछ । पन्ध्र जिल्ला रहेको यस मध्यपश्चिम क्षेत्रमा अहिले १ लाख १४ हजार २९२ वटा सवारी साधन गुड्ने गर्छन् । सवारीसाधनको हिसाबले हेर्ने हो भने एकजना ट्राफिक प्रहरीलाई करिब ४०४ वटा सवारीसाधन भाग पर्छ । सवारीसाधनको संख्या बढ्दै जानु र ट्राफिक प्रहरीमा प्रयाप्त जनशक्ति अभावले ट्राफिक व्यवस्थापन गर्न निकै कठिनाई भएको मप क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमलप्रसाद खरेलले बताए । सवारी दुर्घटना घट्यो आ.व. २०७०÷०७१ मा ५१३ वटा सवारी दुर्घटना भयो । सो अवधीमा मृत्यु संख्या २५४ पुग्यो । आ.व. २०७१÷०७२ मा दुर्घटना संख्या बढेर ५३८ पुग्यो । मृत्यु हुनेको संख्या पनि बढेर २७६ पुगेको छ । तर, गत आ.व. २०७२÷०७३ मा सवारी दुर्घटना घटेको छ । गत आ.व.मा जम्मा २९४ सवारी दुर्घटना भएका छन् । यस अवधीमा २२८ जनाको मृत्यु भएको छ भने ३ सय १ जना गम्भीर घाइते भएका थिए । यसरी तीन वर्षको तथ्यांकलाई हेर्दा २०७१÷०७२ सम्म दुर्घटनाको संख्यामा वृद्धि भएको देखिन्छ तर, गत आ.व.मा भने यो संख्या ह्वात्तै घटेको छ । ट्राफिक प्रहरीको नियमित चेकजाँच र ट्राफिक प्रहरी व्यापक परिचालन गरेका कारण दुर्घटनामा कमी ल्याउन सफल भएको ट्राफिक प्रहरी प्रमुख खरेलको भनाई छ ।

IMG_0223

यसक्षेत्रको भौगोलिक विकटता र सडकको दुरावस्था पनि सडक दुर्घटनाको कारक भएको ट्राफिक प्रहरी प्रमुख खरेलले बताए । त्यस्तै चालकको लापरबाही र तीव्रगतिका कारण दुर्घटनाहरु भएको देखिन्छ । चार करोड बढी राजश्व संकलन ट्राफिक प्रहरी कार्यालयले राजश्व संकलनमा पनि वृद्धि गर्दै लगेको छ । गत आ.व. २०७२÷०७३ मा कार्यालयले ४ करोड २२ लाख १९ हजार राजश्व संकलन गरेको छ । १ लाख ३८ हजार २५९ सवारीसाधनलाई कारबाही गरी उक्त राजश्व संकलन गर्न ट्राफिक प्रहरी सफल भएको हो ।  आ.व. २०७०÷०७१ मा १ लाख ३७ हजार सवारीसाधनलाई कारबाही गरी २ करोड ३९ लाख ५५ हजार ५ सय ५० रुपैंया संकलन गरेको थियो । यस्तै आ.व. २०७१÷०७२ मा कारबाही संख्या १ लाख ४७ हजार ४०६ पुगेको थियो भने राजश्व राजश्व रकम ३ करोड ६४ लाख १ हजार २ सय रुपैंया संकलन भएको छ ।  चालू आर्थिक वर्ष २०७३÷०७४ को श्रावण २३ गते सम्म मात्रै ४ हजार ३ सय ५० सवारीलाई कारबाही गरी २६ लाख ८४ हजार राजश्व संकलन भएको छ । मापसे गरेर सवारी चलाउने घट्दै मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको संख्या पनि घट्दै गएको छ । ०७२÷०७२ सम्म बढेको देखिएपनि गत आ.व. २०७२÷०७३ मा भने घटेको छ । ०७१÷०७२ मा २ हजार ९० मापसे कारबाही गरेको ट्राफिक प्रहरीले ०७२÷०७३ मा एक हजार २ सय ९ जना मात्रै कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको श्रावण २३ सम्म १११ जना मापसे कारबाहीमा परेको तथ्यांक सार्वजनिक भएको छ ।  साढे २ सय लाइसेन्समा प्वाल गत आ.व. २०७२÷०७३ मा २५४ जनाको सवारी अनुमती पत्र (लाइसेन्स) मा प्वाल पारेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार मापसे गरी सवारी चलाउने चालकको लाइसेन्स प्वाल पारेर आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको छ ।
गत आ.व.मा १० वटा चोरीका सवारी साधनलाई भन्सार तथा राजश्व अनुसन्धान कार्यालयमा पठाइएको मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमलप्रसाद खरेलले बताए । यसअघि आ.व. २०७०÷०७१ मा ३४ वटा सवारी पठाइएको थियो भने ०७१÷०७२ मा १८ वटा सवारी पठाइएको उनले बताए । कार्यालयले दुर्घटना न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । जनचेतना मुलक वृत्तचित्र, विद्यालय सम्पर्क कार्याक्रम, चालक परिचालकलाई प्रशिक्षण लगायतका कार्यक्रमहरु गरिहेको प्रमुख खरेलले जानकारी दिए । यसैगरी ध्वनी प्रदुषण नियन्त्रणका लागि ३८६ सवारीबाट प्रेसर हर्न निकालिएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन २५, २०७३     12:08:22 PM  |