15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

अनूचित कार्य गर्ने प्रहरी हवल्दार र जवान पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन २४, २०७३  

केशव राना
कोहलपुर, साउन २४
प्रहरीले अन्य अपराधीहरुलाई पक्राउ गरेको त पक्कै सुनेकै हो तर, प्रहरीलाई स्थानीयले पक्राउ गरे भन्ने चाँही सायदै सुन्नु भयो होला । हो, नौवस्ता प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार झरेन्द्रबहादुर कार्की र जवान रमेश गौतमलाई स्थानीयले पक्राउ गरेर कोहलपुर प्रहरीमा बुझाएका छन् । शनिबार राती करिब ११ बजे अनुचित कार्य गरेको भन्दै नौवस्ता ७ सुतैयाका स्थानीयले पक्राउ गरेर कोहलपुर प्रहरीमा बुझाएका हुन् । रातीमा आउने र स्थानीय एक विवाहित महिलासँग पटक–पटक दुईजनाले नै अनैतिक सम्बन्ध राख्ने गरेकाले ती दुई प्रहरीलाई समातेर इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको गाविस स्तरीय बाल सञ्जाल अध्यक्ष सर्जन आचार्यले बताए । पंचदिप क्लब र बाल सञ्जालका व्यक्तिहरुले उनीहरुलाई राती पक्राउ गरेको हो । लामो समयको अनैतिक सम्बन्ध रहेको स्थानीयलाई जानकारी भएपनि प्रहरी भएकाले बोल्ने आँट गरेका थिएनन् । हदै भएपछि पंचद्विप क्लब र बाल सञ्जालको अगुवाईमा उनीहरुलाई पक्राउ गरिएको बाल सञ्जाल अध्यक्ष आचार्यले बताए । यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवराज पोख्रेलले अनैतिक क्रियाकलाप गर्ने ती दुई प्रहरीलाई पक्राउ गरिएको पुष्टी गरे । आचरण विपरित कार्य गरेकाले उनीहरुलाई विभागिय कारबाही हुने उनले बताए । उनले यस विषयमा थप अनुसन्धान भैरहेको बताएका छन् । अनुचित कार्य गर्ने ती दुई प्रहरी कार्की र गौतम कोहलपुर प्रहरीको हिरासतमा छन् । यसअघि पनि इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत दुई प्रहरी जवानले मदिरा सेवन गरी कोहलपुरका विभिन्न होटलमा आतंक मच्चाएका थिए ।

प्रकाशित मितिः सोमवार, साउन २४, २०७३     2:42:37 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *