28 February 2021  |   सोमवार, फाल्गुन १७, २०७७

सरकारी सेवाका ४ दशक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १७, २०७३  

– विष्णुकान्त आचार्य
कोहलपुर ११, बाँके
म निजामती सेवामा प्रवेश गरेको वि.स. २०३४ साल देखि हो । खरिदार स्तरको गा.पं. सचिव पदस्थापना भई दुर्गम हिमाली क्षेत्र कर्णाली अञ्चलको जुम्ला र मुगु जिल्लामा २०४७ साल सम्म विभिन्न गाउँ पञ्चायत र गाउँ विकास समितिका पदाधिकारी अशिक्षित जनमानस सँग विभिन्न किसिमका आरोह अवरोह पार गर्दै २०५० सालमा भवन कार्यालय कपिलवस्तुको खरिदार पदमा सरुवा भइयो । कर्णालीका ती अनकण्टार उकाली, ओराली र कृषि–पशु युगले नछोडेका अँध्यारो शिक्षा, स्वास्थ्य र नवचेतनाले उज्यालो पार्न नसकेको दुर्गम क्षेत्र पार गर्दै पश्चिम तराईको अति गर्मि जिल्ला कपिलवस्तुमा प्रस्थान गरीयो । कर्णालीको त्यो चिसो हावापानीमा रमाइएको मानिस एक्कासि तराईको खलखली पसिना खाउने गर्मी वातारवरण, भाष शैलीमा जीवन उतार्न पनि अत कठिन भएता पनि सहेरै बसियो । त्यहाँ पनि २ वर्ष बढी बस्न नदिए पुन मुगु नै सरुवा भईयो । के गर्ने कर्मचारी भए पछि क्यारेमवोर्डका गोटी जस्तै ठुलावडाले जत्ता खटाए उत्तै जानु पर्ने रहेछ । फेरी कर्णालीमा फर्कियो । २०५६ सालमा मुगुको जिल्ला प्रशासन कार्यालयको नायव सुब्वा पदमा बढुवा भयो । जिल्ला प्रशासन पनि निम्न स्तरका कर्मचारीको लागि अस्वतन्त्रताको पर्खाल हुँदा रहे । त्यो पनि भोगियो । त्यस पछि मेरो सरुवा बर्दिया भवन कार्यालयमा भयो त्यसपछि छ महिना मा बाँकेको नेपालगञ्जमा सरुवा भयो बाँकी १५ वर्ष नेपालगञ्ज कै गर्मि खाएर बिते ।
नेपालगञ्ज बस्ने क्रममा सहकारी डिभिजन, नापी गोइवरा नापि कार्यालय, सुकुम्वासी समस्या समाधान आयोग, र सिक्टा सिचाई आयोजनामा बसेर सरकारी कामकाज गरियो । मेरो सरकारी सेवाको ४० वर्ष जुम्ला देखि नेपालगञ्ज खरिदार देखि शाखा अधिकृत सरकारी कार्यालय देखि आयोग र आयोजना सम्म पनि पुगियो । कार्यालय, आयोग र आयोजना सम्मका फरक फरक गतिविधि सम्मको जानकारी भयो । नोकरीको अवधिमा कहिले काँही संघसंगठन तिर लागेर विद्रोह पनि गरीयो, कहिले आक्रोश व्यक्त गरीयो त कहिले जुलुस र कालो पट्टी बाछियो । यस्तो गर्दा गर्दै नेपाल सरकारको निजामति सेवामा जस्तै भएर ४० वर्ष भएको पत्तै भएनछ । सरकारी सेवामा खेल्दा खेल्दै भुल्दा भुल्दै चार दशक पूरा भएछन् । चार दशकमा न कार्यबाहीमा परियो न त स्पष्टीकरणमा परियो । यहाँसम्मको सफल यात्रा २०७३ जेष्ठ १२ गते समाप्त भयो । यसैलाई जीवनको पूर्वाद्ध सम्झेर म अब फूलको थुंगाजस्तै वा सिमलको भुवा जस्तै हलुंगो हुन चाहान्छु । मुक्त जीवनको बोध गर्न चाहन्छु । वितेका दिनको आनन्द पिएर बाँकी यात्रा गर्न चाहान्छु । अब म खुला बतास् चल्ने डाँगामा उभिएको छु । कतिबेला धेरै हल्का भएर बतासले ज्यादा उडाउने होकी जस्तो पनि डर लाग्छ । किनभने हिजोसम्म अनुगमन आउँथे हाजिरीकपीमा रातो दल्नेहरु आउँथे, नमिलेको बिदालाई बेतलवी बिदामा गाभ्नेहरु आउथे, प्रोमोसन रोकिन्छ कि ग्रेड कट्टी हुन्छ कि, तलब कट्टी हुन्छ कि यस्तै यस्तै अनेकौं दाम्लाले बाँधिएर मात्रै सरकारी सेवाको स्व्तन्त्रता भोग्दै आएँ । अब यसपाली प्रमोशन हुन्छ कि, अषाढ आए तलब बढ्छ कि, दशैं आउने समयमा दशै खर्च आउने समय भयो भन्ने दिन पनि गए । अन्तमा सेवा निवृत्त जीवन जता गए पनि जान सकिने कुनै गन्तव्य न भएको मानिस जस्तो हुने रहेछ ।

प्रकाशित मितिः सोमवार, साउन १७, २०७३     1:00:10 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *