भीम रावत
यतिबेला कोरोना भाइरस अर्थात (कोभिड –१९) को विश्व महामारीले दोश्रो विश्व युद्धपछिकै आर्थिक संकटमा विश्व पर्ने सक्ने खतराको संकेत देखिदै गएको छ । विकासका कयौं कामहरु प्रभावित मात्र भएका छैनन् , विकास तथा साधारण खर्चका कयौं शिर्षकका बजेटहरु कटाएर यो महामारीकोरोकथाम , नियनत्रण तथा राहतमा खर्च गर्नु पर्ने अवस्था सिर्जना भएको छ । यसले नेपालको मात्र होइन विश्व अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने संभावना देखिएका छन् । चीनको हुवान शहरबाट शुरु भएको कोभिड–१९ को संक्रमण यतिबेला विश्वका २ सय भन्दा बढी देशहरुमा फैलिसकेको छ र यो फैलिने क्रम रोकिएको छैन । चीनले संक्रमण देखिन साथ हुवान शहरलाई पुरै लकडाउन ग¥यो र त्यसलाई कडाईका साथ कार्यान्वयन ग¥यो । त्यसमा चिनीयाँ नागरिकहरुको पूर्ण सहयोग र समर्थन रहयो ।
त्यसैले चीन अहिले सो संक्रमणको घट्दो अवस्थामा होइन कि नयाँ संक्रमण नै नदेखिने अवस्थामा पुगेको छ । चीनले भाइरस जस्तो संक्रमणलाई पनि एउटै शहरमा कैद गरेर राख्न सफल भयो । जसको कारण उसले नियन्त्रण गर्न सक्यो । अप्रिल १ तारिकका दिन सम्म चीनमा संक्रमित भई एक्टिभ बिरामीको संख्या २ हजार ६ सय ४० जना मात्र रहेका र करिब ४ सय जना बाहेक अरुको स्वास्थ्य अवस्था सामन्य हुँदै गएको श्रोतहरुको दावी छ ।
विश्वमै महाशक्ति भनिएको अमेरिका विश्वमै सबै भन्दा बढी संख्यामा कोभिड–१९ को संक्रमण भएको देशमा परेको छ । इटाली र स्पेन पछि संक्रमितहरुको मृत्यु दर पनि अमेरिकामै बढिरहेको तथ्याङ्कहरुले देखाएका छन् । अमेरिका, बेलायत, इटली , स्पेन जस्ता देशहरु विश्वमै उच्च स्तरको जनस्वास्थ्य व्यवस्थापन भएका उच्च दश देशहरुमा पर्दछन् । तर ती देशहरुका कदमहरु (कोभिड –१९)को संक्रमण रोक्ने कार्यमा असफल भइरहेका छन् ।
यो भाइरस नयाँ भएकाले पनि यसको उपचार पद्धती र उपचारमा प्रयोग गरिने मेडिकल जन्य सामाग्रीहरु पनि संसारकै लागि नयाँ हुनु स्वभाविकै हो । यो भाइरसको महामारी किन पनि हो भने यो भाइरसबाट संक्रमित व्यक्तिलाई मेडिकल र मेडिसिन औजारको प्रयोग विना स्वास्थ्यकर्मी वा कसैले छोयो भने त्यसलाई पनि संक्रमण हुने र मृत्यु भइसकेका व्यक्तिलाई छोयो भने पनि संक्रमण फैलिने भएकाले आफ्नै परिवारको सदस्यको मृत्यु हुँदा पनि छुन र आफ्नो हातले डाहसंस्कार समेत गर्न नपाउनुले हो ।
यो भाइरसको उपचार र यसलाई निर्मुल गर्न सक्ने कुनै औषधी तथा भ्याक्सिन बनाउने कार्य हाल सम्म अनुसन्धान र अध्ययन भइरहेको भएपनि यसको आधिकारिक रुपमा सफलता मिलिसकेको छैन । यो भाइरसको संक्रमणबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेकै संक्रमित व्यक्ति भन्दा टाढै रहनु नै हो । संक्रमणको संकास्पद व्यक्तिलाई क्वारेन्टाइममा राखेर संक्रमणलाई सिमित गर्ने र संक्रमित व्यक्तिहरुबाट अरु व्यक्तिहरुमा यो भाइरस संक्रमण हुन नपाओस् भनेर यसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले समेत आवश्यक सुरक्षाका सामाग्रीहरु अनिवार्य रुपमा प्रयोग गर्नै पर्ने हुन्छ ।
चीनको हुवानमा गत डिसेम्बर अन्तिम साता यो भाइरसको संक्रमण फैलिरहँदा अमेरिका,बेलायत,स्पेन,इटली आदि देशहरुले यो समस्या चीनको मात्र समस्याको रुपमा बुझे र आफूलाई खासै चासो नहुने र गर्न नपर्ने विषयको रुपमा लिए । तर रोगले धनी ,गरिब,सम्पन्न वा विपन्न भनेर चिन्दैन र चिनेना पनि । सम्पन्नशाली र शक्तिशाली देशहरुले अहिले यसको पीडा भोगिरहेका छन् ।
ती देशहरु समयमै कोरोना भाइरसको बारेमा सचेत र सतर्क रहेका भए सायद उनीहरुले यति ठूलो पीडा भोग्नु पर्दैन्थ्यो कि ? । कोरोना भाइरसको संक्रमणबाट अप्रिल २ , २०२० सम्म ५० हजार बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १० लाख भन्दा बढी मानिसहरु संक्रमित भएको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएका छन् । इटलीमा मात्रै अप्रिल १ सम्म १४ हजार मानिसको मृत्यु भइसकेको छ र मृत्युको दर दैनिक बढ्दो क्रममा देखिन्छ । यसबाट कोरोना भाइरसको विश्व महामारी प्रष्टै देखिन्छ ।
विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार पछिल्लो समय दक्षिण एशियाका देशहरु यो भाइरसको उच्च जोखिममा रहेका छन् । झण्डै १ अरब ३० करोड जनसंख्या रहेको भारतमा करिब ४० लाख भन्दा बढी नेपालीहरु विभिन्न पेशा व्यवसाय गरेर बसेका छन् । जति धेरै मानिसहरु भारतमा संक्रमित हुन्छन् त्यति नै बढी जोखिम नेपाललाई हुन्छ । नेपाल सरकारले संक्रमणको त्यो संभावित जोखिमलाई ठीक समयमा पूर्वानुमान गरेको छ । नेपाल सरकारको यस कदमलाई काभिड–१९ को संक्रमणको पीडा भोगिरहेका विश्वका देशहरुले समेत नेपालले समयमै लिएको उचित कदम भन्दै प्रशंसा पनि गरेका छन् ।
तर नेपालमा जस्तो सुकै काममा पनि सरकारको विरोध गर्ने नकारात्मक प्रवृत्तिको चलन,शैली र सोच परम्परा जस्तै भइसकेको छ । शुरुमा मानिसहरुले लकडाउनलाई साँझ पाँच बजेपछि खुल्ने राजनितिक दलहरुको बन्द जस्तै माने र त्यही व्यवहार गरे । अझै पनि त्यो व्यवहारमा पूर्ण रुपमा सचेतना आइसकेको देखिदैन । अधिकांशले लकडाउनको शुरुमा विरोध गरे । यो लकडाउन कोभिड– १९ को संंक्रमणबाट जोगिन हाम्रै जीवनको सुरक्षाका लागि सरकारले उठाएको कदम हो , यसको पालना गर्नु पर्दछ भन्ने कुरा नै बुझेनन् र यसको कार्यान्वयनका लागि सरकारले सुरक्षाकर्मी नै परिचालन गर्नु प¥यो ।
हामी नेपाली हालसम्म भाग्यमानी छौं कि कोभिड– १९ को शंकामा करिब १० हजार जना मानिसको स्वाव परीक्षण गर्दा जम्मा ६ जना मानिसमा मात्र संक्रमण भएको पुष्टि भएको छ । अर्थात कोभिड –१९ संक्रमणको पोजेटिभ देखिएको छ र त्यस मध्ये एक जना पूर्ण रुपमा स्वस्थ भई घर फर्किसकेका छन् भने अन्यको स्वास्थ्य स्थिितिमा पनि क्रमश सुधार भइरहेको र सबै संक्रमितहरु समान्य बन्देै गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिरहेको छ । यसको अर्थ नेपालमा यो भाइरसको अब कुनै जोखिम छैन भन्ने अर्थमा बुझ्नु हुँदैन । नेपाल अझै पनि संक्रमणको उच्च जोखिममै छ ।
नेपाल कोभिड–१९ को उच्च जोखिम मै रहेको र यसको उपचार तथा व्यवस्थापनमा प्रयोग हुने औषधी जन्य सामाग्रीहरु समेत नेपालमा नपाइने अवस्थाका कारण ती सामाग्रीहरु तत्काल देश बाहिरबाट खरिद गर्नु पर्ने त्यो पनि फाष्टट्राकबाट खरिद गर्नु पर्ने आवश्यकता र बाध्यता सरकार सामु आइप¥यो । यस्तो विपद्को अवस्था भनेकै आपतकालिन अवस्था हो र अहिले नेपाल त्यही अवस्थामा रहेको छ । आपतकालिन अवस्थामा विपद्का सामाग्री कसरी खरिद गर्न सकिन्छ भन्ने व्यवस्था नेपालको खरिद ऐनले गरेकै छ । सोही व्यवस्था अनुसार नै यो महामारीको समयमा आवश्यक पर्ने मेडिकल जन्य सामाग्रीहरु चीनबाट खरिद गर्न ओम्नी समूहसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको थियो ।
नेपाली समाजमा कतिपय मानिसहरुले विपद्को समयमा नै बढी कमाउन सकिन्छ भन्ने कुविचारको प्रवृत्ति बोकेका हुन्छन् र सोही अवस्था ढुकेर बकेका हुन्छन् । ती मानवीय स्वभावका नभइ आफ्नो स्वार्थ पुरा गराउने अमानवीय व्यक्ति हुन । ती व्यक्तिहरु राज्यका कुनै पनि तहमा पुगेका हुनसक्छन् । कहिले काही त्यस्तै व्यक्तिका कारण सरकार र त्यसको नेतृत्व समेतले बदनाम र लज्जावोध गर्नुपर्ने अवस्था
आउँछ । तर यसको सकारात्मक पक्ष के हो भने जब कही कतै कसैले नेतृत्वलाई समेत गुमराहमा राखेर केही गडबड छ भन्ने नेतृत्वमा तत्ववोध हुन्छ , तब उसले एक्सन लिन्छ र त्यसलाई करेक्सन गराउँछ भने त्यो कार्य तेतृत्वको प्रशंसा योग्य कार्य हुन्छ ।
औषधी जन्य सामाग्रीहरुको खरिद प्रक्रियामा त्यस्तै भएको हुन सक्छ । हाम्रा प्रधानमन्त्री आफै पनि आफ्नो स्वास्थ्य अवस्थाका कारण देशमा आपत विपद् परेको बेला दिनरात खटिरहने र डटिरहने अवस्थामा हुनुहुन्न । वहाँले पनि कतिपय विषयहरु अरुको अर्थात आफ्ना सल्लाहकारहरुको विश्वास गर्ने हो । वहाँका सल्लाकारहरुले नै शुरुमा चीनबाट स्वास्थ्य मन्त्रालयले सामाग्री खरिद गर्नका लागि गरिएको सम्झौता सही भएको ब्रिफिङ गरेका रहेछन् ।
तर प्रधानमन्त्री स्वयमले सल्लाहकारहरुको त्यो घेरा तोडेर एक विज्ञ विश्वासपात्रसँग जानकारी लिदा स्वास्थ्य सामाग्री खरिदमा आर्थिक अनिमितता समेत भएको तथ्यसहित थाहा पाउँनु भयो । त्यसपछि तुरन्त एक्सन लिनु भयो र सो सम्झौता खारेज गराउन निर्देशन दिनुभयो । सोही अनुसार सम्झैता खारेज भयो र खरिद नियमावली अनुसार नै पूनः स्वास्थ्य सामाग्री खरिदका लागि सूचना आह्वान समेत भइसकेको छ ।
हो, सरकार वा कसैले पनि कही कतै गलत भएको छ भने त्यसलाई समयमै सच्याउन सक्ने गरी सुझाव दिनु, आवाज उठाउनु , दबाव दिनु आदि काम लोकतन्त्रका गुण नै हुन । त्यसबाट बुझ्ने,सिक्ने र कार्यान्वयन तहमा रहेकाहरुबाट उचित कदम चालियो कि चालिएन त्यो महत्वपूर्ण काम हो । यति बेला त्यो काम भएको छ । स्वास्थ्य सामाग्री खरिदका लागि फेरि सूचना आह्वान गरिएको छ ।
हामी सस्तोमा ल्याइदिन्थ्यौं । सरकारले महंगोमा खरिद गरेर आर्थिक चलखेल भयो भन्नेहरुले सस्तोमा ल्याउनका लागि टेण्डर हालेर ल्याइदिए भैहाल्यो त । तर नेपालमा आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने नकारात्ममक प्रवृत्ति बढी छ । अनेक बखडा निकालेर संवेदनशील अवस्थामा पनि सबैलाई नकारात्मक सन्देशले तरङ्गित पार्ने र देशलाई आपतको समयमा पनि विभाजित मनोविज्ञानमा फसाएर कसैको पनि भलो हुँदैन र यस्तो प्रवृत्तिले संकटको बेला पनि देशलाई एकतावद्ध बनाउन सक्दैन ।