16 June 2021  |   बुधबार, असार २, २०७८

मानखोलामा व्यवस्थित आर्यघाट राबन विश्वकर्मा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ९, २०७३  

बाँसगढी, ८ साउन
बर्दिया र बाँके जिल्लाको सिमानामा रहेको मानखोलामा व्यवस्थित आर्यघाटको निर्माण भइरहेको छ । बर्दियाको बाँसगढी नगरपालीका, बाँकेको टिटिहिरिया र बनकटवा गाविससँगै जोडिएको मानखोलामा शव जलाउन र शव लिएर आएका मलामीहरुको सहजताको लागि आर्यघाटको निर्माण थालिएको हो ।
घाट निर्माणको लागि बाँके क्षेत्र नम्बर ४ का सांसद दलबहादुर सुनारले संसद विकास कोषबाट ३ लाख, बाँकेको बनकटुवा गाविसबाट खानेपानी र शौचालयको लागि २७ हजार २ सय ५० र बाँकेका उद्योगी व्यवसायीहरुबाट चन्दा संकलन गरी आर्यघाटको निर्माण कार्यको थालनी गरिएको मानखोला आर्यघाट उपभोक्ता समिति तथा निर्माण समितिका अध्यक्ष धनबहादुर बुढाक्षेत्रीले जानकारी दिए ।
अहिले सम्म आर्यघाट स्थलमा शव लिएर आएका मलामीहरु बस्न र घाम पानीको ओतको लागि भवन निर्माण, खानेपानी र शौचालय निर्माणको लागि करिब साढे ७ लाख खर्च भइसकेको र अझै करिब ९ लाख बढी खर्च लाग्न सक्ने निर्माण समितिका अध्यक्ष बुढाक्षेत्रीले बताए । समितिले बाँके र बर्दियाका सामुदायिक बनहरुको सहयोग भएमा दाउरा राख्नका लागि पनि भवन निर्माण गरिने जनाएको छ ।
त्यस्तै बाँके र बर्दियाको जिल्ला विकास समिति, नगरपालिका, गाविस तथा विभिन्न संघ संस्थाहरुको सहयोग पाए भविष्यको लागि विद्युतिय तवरले शव जलाउने लक्ष्य समितिले लिएको छ । आर्यघाट स्थलमा ५ हजार देखि माथि सहयोग गर्ने व्यक्तिको नाम र १० हजार देखि माथि सहयोग गर्ने संघ संस्थाको नाम शिलालेखमा लेखिने छ ।
अहिलेसम्म मानखोलामा बर्दिया बाँसगढी नगरपालिका १,२,३,४ नम्बर वडा र बाँकेको बनकटुवा, टिटिहिरिया गाबिस लगायतका मानिसहरु शव जलाउन आउने गरेका छन् ।

प्रकाशित मितिः आइतवार, साउन ९, २०७३     11:38:35 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *