23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

यात्राका सम्झनाहरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ८, २०७३  

नियात्रा
– बद्रि ढकाल ‘हिरामणी’

यसपाली यात्रा गर्ने भित्री रहर थिएन । त्यसो त हरिद्वार, मन्सादेवी र रुड्की पुग्ने योजना २०७२ सालकै हो । आयोग परिक्षा अनि स्कुल गतिविधिले व्यस्त बनायो । छोरीको विशेष रहरले दिन दिनै पखेटा हाल्न थाल्यो । ‘लैजानु पर्छ नि ! झुट बोल्न पाइदैन नि !’ भन्दै ७ वर्षे छोरीले १७ पटक प्रतिवद्धता मागी सकेकी थिइन्.। मेरी उनीको पनि श्रीमान्सँग हिँड्ने रहर बढेको सजिलै बुझिन्थ्यो । यो वर्षायाम हो भन्ने स्पष्ट थाहा थियो हामीलाई । एउटा छाता पनि हाल्यौ । ‘साउन १ गते ठूली एकादशी नुहाउनु नि हर्कीपौडीमा ।’ आमाले सम्झाउँदै हुनुहुन्थ्यो । वुवाले यसको महिमा थप्नु भयो । म केही बेर हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको कामले महानन्द सर, चापागाई सर सँगै कोहलपुर नगरपालिका पुगि १ बजे तिर घर फर्किएँ । मनमा हतार हतार लाग्दै
थियो । घरमा दिदी, भान्जा, भान्जी बुहारी, नाती–नातीनाहरु आएकाले हेलो हाई भयो । मौसमको डर मान्दै मान्दै भटभटेबाट ३ जनाको बिजोर यात्रा शुरु भयो असार २९ गते २ बजे । सायद हरेक समय र हरेक वस्तुको छुट्टा छुट्टै तरङ्ग हुन्छ होला । पहिले नै देखेको ठाउँ भए पनि उनी र छोरी हुनाले भिन्दै अनुभव भइरहेको थियो । २ः३० वजे नेपालगञ्ज पुग्यौ । हस्पिटल क्वाटरको एक कुनामा भटभटे राख्यौं ।
रु.५०। का दरले रुपैडिया लैजाने शर्तमा अटो रिक्सामा बस्यांै । १०० मिटर गुडेपछि बेट्रीले तानेन भनी लैजान असमर्थ जनायो । आइरहेको अर्को रिक्सामा चढ्यौं । पहिलो रिक्सावालाले दोस्रोसँग रु. २०।– मागेर लग्यो । भाडा दर रु. ४० ।– भएको बुझ्यौं । हामी केही पनि बोलेनांै । सायद ‘मनोपोली’ भनेको यही हो क्यारे । पक्की बाटोमै बालुवा, गिटी, मिक्स्चर र रोकिएका गाडीहरुले प्रशासनलाई जिस्काए जस्तो लाग्दथ्यो । बोर्डर पुग्नै लाग्दा अटोलाई सडकको तातो रापमा अड्याएर चालक सडक पारी छायाँमा गयो । उसले एक किशोरी सँग मस्किमस्कि गफ ग¥यो । उसका गफ लम्वेतान सुनिए । तातो रापले सेकिएर आत्तिएका यात्रीले उसलाई चर्को स्वरमा गुहारे.। ढिला भएकाले मैले पनि रुखोसँग बोलें । झण्डै १ घन्टा पछि पसिना पुछ्दै रुपैडिया पुग्यौं । गाडीहरु ताल माथि नै पौडिन लागेका जस्ता देखिन्थे बसपार्कमा । ‘बाबा बस पानीमा कसरी हिँड्छ ?’ छोरीले अचम्म मानेर प्रश्न सोधिन् । यो सुनेर वरपरका नेपाली यात्री गलल हाँसे । मैले उसलाई सम्झाउने कोशिस गरें । बसको कन्डक्टरले २ वटा पुरा र एक आधा टिकट काट्नु पर्ने जनायो हामीलाई । सिट दिनुपर्ने शर्त राख्यौं । वच्चा भगवान हुन् यिनीहरुको सम्मान गर्नुपर्छ भन्दै शर्त सकार भयो । हरिद्वारसम्मका लागि भारु १२८।– मागेकोमा रु.१००।– दिएँ । उसले पातलो रिचार्ज कार्ड जत्रो कागज पछाडि वृत भित्र १७ लेखेर दियो । ४ बजे तिर यात्रुहरु तछाड मछाड गर्दै बस चढे । भित्र कन्डक्टरले हात पसारेर अगाडीका केही सिट खाली नै राख्यो । अगाडीका खाली सिट मध्ये २ सिटमा हामी बस्यौं । कन्डक्टरसँगको सिटे सम्झौता वेकार भयो । तातात्तै कुरा फेर्न खप्पिस हँुदा रहेछन् कर्मचारी । ड्राइभरले बुनोटमा बसेका ३ जना युवालाई चर्को स्वरमा अनादर शव्द बोल्दै भारतीयको हेपाहा प्रवृति देखायो ।
३ किमि पनि नहिँडी खाजा खान आग्रह गर्दै ३० मिनेट रोक्यो । यात्रु प्रायः नेपाली भाषी भएकाले ‘किन रोकेको ?’ भन्दै थिए । गर्मीले निधार वाफिएको झैं लाग्थ्यो । टाउको चट्क्यो । गाडीको माहोल नेपालीमय थियो । भारतीय गाडी रिजर्व गरेर नेपाल घुम्न हिडें जस्तो ।
केही बेरमा गाडी सरर सुइकियो ।नेपालको जस्तो उचनिच थिएन बाटो । हाम्रा इन्जिनियर त्यस्ता हुन् कि ठेकेदार ? हाम्रो देशमा बाटो यस्तो किन भएन मनमा कुरा खेलिरह्न्थ्यो । नानपाराबाट गाडी दायाँ मोडियो । दायाँतिर रहेका ६ जना किशोरीहरु मध्ये एक दुई जना अविच्छिन्न बोलिरहेका थिए । उनीहरु त दाङ, झापा, सुर्खेत, काठमान्डौ, बर्दिया र बुटवलबाट देहरादुन पढ्न हिँडेका विद्यार्थी रहेछन् । योजना बनाई सँगै आउने जाने गर्दा रहेछन् । उनीहरु सरदार भगवान सिहं कलेजमा बि.एम. एल. टि. र बि. एस. सी. (नर्सिङ) पढ्दा रहेछन् । प्रमिला(दाङ)ले चाँही फिजियो थेरापी पढ्ने रहेछिन् । नेपालमा एक ठाउँमा कलेज भएको त्यो पनि राम्रो नभएको भन्ने गुनासो गर्दै देश प्रति चिन्ता जनाइन् । प्राविधिक लाइन पढ्नकै लागि भारत तिर गएका गाउँघरका र मेरा थुप्रै विद्यार्थीको नाम सम्झिएँ । नेपालमा पढ्ने अवसर प्रयाप्त हुन नसकेकोमा सरकार संचालन र नीति निर्माताहरु प्रति उदेक लागेर आयो । नेपाली मुद्रा बिदेसिनु र प्राविधिक जनशक्ति बाहिरनुको कारण किन बुझ्दैनन् नीति निर्माताहरु ।लखिम्पुर पुग्न ५४ किमि बाँकी हुँदो हो ठुलो नदी देखियो । कर्नाली रहेछ । कर्णालीलाई घाघ्रा र बबईलाई सर्जु भन्दा रहेछन् भारतमा । नेपाली पन नेपाली रङ र सुवास बोकेर बगिरहेको महशुस भयो । हेर्न मिलेसम्म पर हेरिरहन मन लाग्यो । रातभरी अटमस्स अप्ठ्यारो सिटसँग कुस्ती खेल्दै बितायांै । नेपालका फोल्डिङ सिटका गाडी कैयौं पटक सम्झें । ‘क्या बोर, बरु हिँडेर जाउँ जस्तो भा’छ’ भन्दै थिए कतिपय यात्रुहरु । हरेक सिटमा थरिथरिका योग ध्यान गर्न लागे जस्ता देखिन्थे । कोही औलामा लठ्ठी थिरथिर अड्याउन खोजे जस्तो पनि देखिन्थे । बिहानपख, बरेली, कोतवालीमा पुरी तरकारी खायांै । वरिपरि कागहरुका हुल देखिन्थे । खुला राखिएका पुरी लैजाने दाउँमा देखिन्थे कागहरु । कैयौं पटक ठुग्ने छोड्ने गरे होलान् पुरीमा । त्यही खान वाध्य थियौं हामी यात्रु । संचालक मान्छे बोलाउनै व्यस्त ।
अधवैश एक जना यात्रुले मेरो सामिप्यमा आएर ‘हजुरको घर सुर्खेत वाविया चौर होइन ?’ भनी सोधे । ‘मलाई त गाउँको रेशम विष्ट जस्तो लाग्यो । हिजोबाटै बोल्न मन लागेको’ भन्दै कुरा बढाए । यात्रामा एकल महशुस भएको रहेछ । थरिथरिका रमाइला कुरा गर्दै सुन्दै सिट वरिपरिका सबै सहभागी भयौं । हरिद्वार मन्दिरै मन्दिरको प्राचीन नेपालको शहर थियो । व्रतवन्धको बेला पुस्तक, छाता र लठ्ठी भिरेर हरिद्वार पढ्न जान भागेको क्षण याद आइरहेको थियो । नेपालीहरुले ज्ञान प्राप्त गर्न जान यो पवित्र नेपाली भूमिलाई १९५० को सुगौली सन्धी मार्फत भारतले खोसेको थियो । त्यहाँको वातावरणमा नेपाली रगत, पसिना, सुवास र संस्कृति रहेको थियो । पुर्खौली गाथा बोकेको इतिहास सम्झिँदा भूमि नै स्वर्गीय अनुभूति भयो । सिमसिमे पानीले स्वागत गरिरहेको सुन्दर उज्यालो मौसम थियो । व्रिज निवासमा झोला राखी मन्सादेवीको दर्शन गर्न तम्तयार भयौं । मन्सादेवी हरिद्वारको उच्च ठाउँमा रहेको असाध्यै लोकप्रिय मन्दिर रहेछ । यिनको दशर्नले मनोकांक्षा पुरा हुने जनविश्वास रहेछ । नेपालको मनकामना मन्दिर जस्तै । ३ वर्षअघि पति पत्नि दुवै पैदल मार्गवाट मन्सादेवीको दर्शन गरिसकेका थियौं । त्यसैले पनि हामी केवलकारबाट जाने भयौं । टिकट जाँच गर्ने ठाउँमा छोरी जयन्तीको उचाईको नापो लिइयो । उनी ११० से.मि. भन्दा अग्ली भएकाले ३ वटा टिकट लिएँ । बच्चाहरुको भाडाका विषयमा विवाद रहित वैज्ञानिक पद्धति अपनाएकोमा हामीलाई खुव घत प¥यो । उमेरको कुनै दहल फसल गर्न नपर्ने यस्तो सजिलो विधि बसपार्क, पार्क र अन्य ठाउँमा हामीले प्रयोग गर्न किन नजानेका हौंला भनी चुकचुक लाग्यो । विद्युतीय चक्रमा सलल बगेको कारमाथि उचालिदा खुशीले गद्गद् भयौं । गंगानदी, हर्कीपौडी, डाँडाकाँडाहरुलाई ताकी–ताकी तस्विर खिच्यौं । ७ मिनेट एकै छिन जस्तो  लाग्यो । त्यहाँ वैदिक विधानबाट दैनिक पूजा अर्चना गरिदो रहेछ । पूजा सँगसँगै टिका लगाउने पण्डितहरु पनि ५÷७ जना नै हुनेरहेछन् । कमलको फूल र नरिवल प्रसादको रुपमा ग्रहण गरी फोटो खिच्दै तल झ¥यौं । उस्तै परिवेशको मनकामना मन्दिर अझ व्यवस्थित गर्न यो मन्दिर उदाहरणीय छ जस्तो लाग्यो । चन्द्र मोहन ढावामा तरकारीसँग रोटी खायौं । तत्कालै रिक्सामा हर्कीपौडीतिर लाग्यांै । बडेमानको शिव मूर्तिले हामीसँग भलाकुसारी गरे जस्तो लाग्यो । उनी सिंगै हरिद्वारको रक्षा गर्न उभिएको जस्तो लाग्यो । गंगानदीको केन्द्रीय भागमा सरस्वतीको सुन्दर मूर्तिले रात दिन प्रवचन दिइरहेको जस्तो देखिन्थ्यो । धमिलो पानीको प्रवाह नगरी स्नान गरिरहेका धेरै मानिसहरु देखिन्थे । गंगामाथि दर्जनौ मोहक पुलहरु थिए । हरेक पुलबाट देखिने दृश्य रसस्वादन फरक थियो । साङ्लो समात्दै राधिका र जयन्तीले पनि जल अर्पण गरे । घर पु¥याउने गरी मैले एक बोत्तल जल राखें । भरपुर घुमघाम र तस्विर कैदपछि पनि मन थाकेको थिएन । ५ बजीसकेकोले होटलमा फक्र्यौं । बार्गेनिङ् गर्न नजान्नेको लागि एक दामको बजार नै उत्कृष्ट लाग्यो ।  साँझ रुड्की लेखानगर रिता कहाँ पुगेर बस्ने निधो ग¥यौं । रिता प्रवासी नेपाली महिला संघकी अध्यक्ष रहिछन् । उनीहरु सेनाको छावनी क्वाटरमा बस्दा रहेछन् । रिताका माइती गैरे र घरतिरका गुल्मेली भट्टराई हुन् । उनको इच्छा ठूलो छोराको विवाह नेपाल गर्न पाए भन्ने रहेछ । घर भने देहरादुनमा बनाउने योजना सुनाइन् । नेपाल र भारतको सम्बन्ध ‘रोटी र वेटी’को त्यसै भनिएको रहेनछ । नेपालीपन बोकेर नेपाली माया संगालेर कति वस्तीहरु भारतमै जीवन बिताउन बाध्य छन् । हामीलाई असाध्यै सम्मान दिए भट्टराई परिवीरले । दाङ, गुल्मी, पर्वत, डडेल्धुराबाट आई बसेका मिलनसार नेपालीसँग परिचय भयो । शिर उँचो पारेरै बसेका रहेछन् सबै । नेपाली संस्कृति चलन चल्ती बिर्सन नहुने उनीहरुका विचार सुन्दा मनबाटै लाखौ सलाम टक्राएँ । विदेश पुगेपछि राष्ट्रियता झन ओझिलो भएको महशुस गरें ।
वर्षायाममा पनि सफा सुन्दर नै देखिन्थे, त्यहाँका वस्तीहरु । भोलिपल्ट बिहान रितासँगै रेल स्टेसन रुड्की
पुग्यौं । जयन्तीको पहिलो पटक रेल चढ्ने चाहाना चण्डीगढ लखनऊ एक्सप्रेसले पुरा गर्ने भयो । तोकिएको समयमा रेल आएन । सोधपुछ कक्षमा बसेको कर्मचारीले यात्रुले सोधेका सवै उत्तर वोर्डमा लठ्ठीले देखाउथ्यो । कोही गोल घेरा बनाएर बीचमा रोटी,तरकारी अचार खाँदै थिए । कोही मोबाइलमा भिडियो हेर्न व्यस्त थिए । रेल पार्क हल्ला खल्ला मेला जस्तो लाग्थ्यो । आउने जानेको उस्तै भिड । सरसफाई राख्न प्रहरी प्रशासन तल्लीन थियो । रितालाई फर्कदा साथ दिन आएकी महिलाले रिक्सावाला, ज्वाई, छोरा र छोरी सबैलाई ‘वेटा’ भन्ने शव्द प्रयोग गरेको सुन्दा हामीलाई आश्चर्य लाग्यो । ‘अलि राम्रो टिकट काटे भा’हुन्थ्यो बाबा’ यस्तै अचम्मका जिज्ञासका उत्तर दिँदै सवार भयौं । रेल रातभरी सिठी लगाउँदै रोक्दै कुदै गरिरह्यो । हामी पनि ब्युझने सुत्ने गरिरह्यौं । विहानी पख न घाम न पानीको मौसममा खेत रोप्न लागिरहेका देखिन्थे । आली भरि सेताम्मे वकुल्ला त कतै लस्करै लिपिस्टिक र कतै लहरे पिपलका बोटहरुले आँखालाई नअघाउने स्वाद दिइरÞहेका थिए । कुनै खेतमा पुरुषहरु मात्रै रोपाहार देख्दा अचम्म भयौं । कुनै पनि कामलाई लैंगिक विभाजन गर्नु हुन्न भन्ने लागिरहेको थियो ।
प्राय बाँदरहरु देखिएका ठाउँमा ऊखु खेति देखियो । वशारतगँज, रामगंगा आसपासमा जुनेली मकै खेती देखियो । कतै घिरौला खेती । चनेहटिज पुग्नै लाग्दा कयौं थाकल जस्ता चरौती, काकटसहरु रेल मार्गका वरिपरि देखिन्थे । पानीका छिटासँग खेल्दै १ वजे आलमनगर. लखनऊमा पुग्यौं । २ बजे प्राणी उद्यानमा टिकट काटेपछि ठूलो पानी प¥यो । होटलमा ओत दिन पनि निकै गाह्रो माने । चुहेको फोहोर पानी समोसा र तातो तेलमा परेको देखियो । सिमसिम पानी परिरहे पनि उद्धान भित्र पसि अजिंगर, परेवा, सुगा, माछा लगायत कैयांै जनावर हेरेर मजा लियौं । ६० रुपैयाको पुरा सदुपयोग भयो । छोरीले पानीको प्रवाह नगरी बाल पार्कमा विभिन्न खेल खेलिन् । जु मा भिडभाड नै थियो । मस्तको भिजाई र थकाईलाई रिक्सामा विश्राम गर्दै अमिनावादको मन्दाकिनी होटलमा आई आरामसँग सुत्यौं । साउन २ गते बिहानै रुपडिया टेक्सी स्टान्डबाट सुर्खेत रामघाटका सन्तोष विसि र हामी मिली ट्याक्सी रिजर्व ग¥यौ । जम्मुबाट ४ महिनाको छुट्टीमा आएका सिपाहि रहेछन् उनी । ‘नेपालको भन्दा भारतको सिस्टम कडा तर रमाइलो त आफ्नै देश छ’ भन्ने युवा भेटिएकोमा खुशी लाग्यो । बीचमा पहिरोले बाटो बन्द भएकाले ४० किमि बढी हिँडेर लखिमपुर हुँदै ५.५ घन्टामा रुपैडिया पुगियो । यहाँ आउँदा पनि पानीले पिछा गरेकै थियो ।

प्रकाशित मितिः शनिबार, साउन ८, २०७३     9:16:03 AM  |