23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

गफ मार्दै आयआर्जन गर्दै दमौलीका महिला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ६, २०७३  

राबन विश्वकर्मा
बाँसगढी, साउन ६
बर्दिया बाँसगढीका ९ धाराटोल दमौलीका महिलाहरु मिलेर मुडा बनाउने व्यवसाय सुरु गरेका छन् । फुर्सदको समयमा गफ गरेर समय बिताउने धाराटोल दमौलीका महिलाहरु अहिले ७ जनाको समूह बनाएर मुडा बनाउन व्यस्त देखिन्छन् ।
बिहान बेलुका घरको काम सकेर खाली समयमा गफ गर्दै मुडा बनाउन सकिने भएकाले पनि उनीहरुले यो व्यवसाय सुरु गरेको बताउँछन् । सधै गाउँको कुनै एउटा घरमा भेला भएर गफ चुट्ने महिलाहरु त्यो फुर्सदमा गफै गरेर भए पनि अहिले मुडा बनाएर खाली समय बिताउँछन् । गाउँमा सधै गफ गरेर बसे पनि गाँउमै मुडा बनाउन सिकेर अहिले फुर्सदमा मुडा बनाएर बस्ने बाँसगढी ९ दमौलीकी सुकमाया महत्तोले बताईन । त्यस्तै लिला भट्राईले मुडा बनाएर समयको सदुपयोग मात्र नभएर केही आय आर्जनको बाटो पनि बनेको बताइन् । गाँउमा समुहका शान्ति महतो, रुपा चौधरी लगायतका महिलाहरु अहिले एकै ठाँउमा भेला भएर सामुहिक रुपमा मुडा बनाइरहेको देख्न सकिन्छ । उनीहरुले बनाएको मुडा बेचेर आएको पैसा समुहमा बचत गर्ने र बाँकी सबै मिलेर घर व्यवहार चलाइरहेको उनीहरु बताउँछन् । महिलाहरुले बुनेका मुडाहरु ४ सय देखि ८ सय सम्मका रहेको उनीहरुले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन ६, २०७३     2:53:14 PM  |