19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

समाचारको विषयमा भएको विवाद समाधान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, साउन ५, २०७३  

कोहलपुर, असाउन ५
नेपाल पत्रकार महासंघ बाँकेका कार्य समिति सदस्य हेमन्त चौधरी र नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष खिल प्रसाद भुसाल बीच भएको विवाद समाधान भएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रेम केसी तथा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाको उपस्थितिमा भएको छलफलमा दुवै पक्षले आ–आफ्नो तर्फबाट भएका गल्तीको समिक्षा गर्दै आगामी दिनमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता जनाएका छन् । एमाले कोहलपुर नगर कमिटी अध्यक्ष भुसालले आफूले पत्रकार र पत्रकारितामाथि आँच पु¥याउने आशयले पत्रकार चौधरीलाई भाषा प्रयोग नगरेको बताउँदै सदैव स्वतन्त्र पत्रकारिताको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे । उनले आफू र आफ्नो पार्टी कहिल्यै स्वतन्त्र प्रेसको विपक्षमा नरहेको समेत बताए । पत्रकार चौधरीले आफू पत्रकार आचारसंहिताको पालना गरी समाचार सम्प्रेषण गर्ने प्रतिवद्धता जनाए । उनले आफूले कसैको ब्यक्तिगत आचरणमा ठेस पुग्ने आशयको समाचार प्रकाशन नगरेको बताउँदै आगामी दिनमा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने स्पष्ट पारे । त्यस्तै यूवा संघ बाँकेका अध्यक्ष किशोर थापाले पत्रकार हेमन्त चौधरी र एमाले कोहलपुरका अध्यक्ष भुसाल बिच भएको विवादमा यूवा संघले निकालेको विज्ञप्तीको पुनरावृत्ती नगर्ने आश्वासन दिए । उनले यूवा संघ सदैव स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए ।

प्रकाशित मितिः बुधबार, साउन ५, २०७३     2:25:14 PM  |