26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

हस्तान्तरण नै नगरी जिम्मा दिइयो सार्वजनिक शौचालयको सटर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १, २०७३  

केशव राना
कोहलपुर, साउन १
कोहलपुर न्यूरोडमा निर्माण भएको अत्याधुनिक सार्वजनिक शौचालयको सटर हस्तान्तरण गर्नुअघि नै एक व्यक्तिलाई जिम्मा दिइएको छ । सार्वजनिक शौचालय उपभोक्ता समितिका केही पदाधिकारी र कोहलपुर नगरविकास समितिको मिलेमतोमा शौचालयको सटर हेयर कटिङ् (कपाल काट्ने पसल) सञ्चालनका लागि जिम्मा दिइएको हो । कोहलपुर नगरपालिका अन्तरगत निर्माण भएको सो सार्वजनिक शौचालय कोहलपुर नगरविकास समितिलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर, केही व्यक्तिको मिलेमतोमा शौचालयको हस्तान्तरण अगावै एक कपाल काट्ने व्यवसायीलाई सटर उपलब्ध गराइएको छ ।
हस्तान्तरण नगर्दै सटर उपलब्ध गराइएपछि उपभोक्ता समितिभित्रैका सदस्यहरुले असन्तुष्टी जनाएका छन् । बोर्ड बैठक नै नबसेर अन्य पदाधिकारी तथा सदस्यहरुको सहमति बेगर केही व्यक्तिको मिलेमतोमा सटर उपलब्ध गराइएको भन्दै असन्तुष्टी जनाएका हुन् । नाम उल्लेख नगर्ने सर्तमा उपभोक्ता समितिका एक पदाधिकारीले मनोमानी ढंगले शौचालयका सटर जिम्मा लगाइएको बताए । ‘बोर्डको बैठक नै नबसेर सटर जिम्मा लगाउनु उचित होइन’ उनले भने ‘कि नगर विकास समितिलाई हस्तान्तरण गर्नुपथ्र्यो, कि बोर्डको बैठकले निर्णय गर्नुपथ्र्यो ।’ यता उपभोक्ता समिति अध्यक्ष सतिदेवी ढकालले शौचालयका सामानहरु चोरी हुन थालेपछि चौकीदारका रुपमा राखिएको बताइन् । ‘सटर कसलाई दिने भन्ने सहमति भएको छैन’ उनले भनिन् ‘अहिले रेखदेख गर्नका लागि मात्रै राखिएको हो ।’ रेखदेख गर्नका लागि मान्छे राख्दा बोर्डको बैठक बसाल्नु जरुरी नरहेको उनले बताइन् । सार्वजनिक शौचालय हस्तान्तरणको मिति तय गर्नका लागि आज (शनिबार) बैठक बस्न लागेको बताउँदै अध्यक्ष ढकालले भनिन् ‘सटर कसलाई दिन्छ, त्यो नगर विकासले जान्ने कुरा हो ।’ कोहलपुर नगरविकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले पनि सार्वजनिक शौचालयमा चोरी बढेपछि रेखदेखका लागि मान्छे राखिएको बताए ।
उनले एकवर्षका लागि शौचालयको जिम्मा ‘स्विपर’ लाई दिइएको बताए । ‘नयाँ शौचालय झन् पुरानो जस्तो देखिन थाल्यो’ उनले भने ‘उपभोक्ता समितिका केही पदाधिकारी र हामी बसेर रेखदेख गर्ने मान्छे राखेका हौं ।’ शौचालय निर्माण भएको महिनौं बितिसक्दा पनि शौचालय प्रयोगमा आउन सकेको छैन । साढे १४ लाख बढी लागतमा निर्माण भएको शौचालय प्रयोगमा नआउँदा बटुवा तथा सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ ।

प्रकाशित मितिः शनिबार, साउन १, २०७३     12:24:31 PM  |