17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

नगरपालिकाको कार्यप्रति  राजनीतिक दलको विरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३  

रामबहादुर रावत
कोहलपुर, असार ३१
कोहलपुर नगरपालिका कार्यालयको कार्यशैली प्रति कोहलपुरका राजनीतिक दलहरुले विरोध जनाएका छन् । कोहलपुर नगरपालिकाले बिहीबार गरेको आर्थिक वर्ष २०७२÷०७३ को सार्वजनिक सुनुवाई कार्यक्रममा कोहलपुर नगरपालिकाले कुनै पनि काम गर्दा स्थानिय राजनीतिक दलहरुको राय तथा सुझाव नलिएर मनोमानी गरेको भन्दै विरोध जनाएका हुन् ।

नेपाली काँग्रेसका नगर प्रतिनिधि भुम बहादुर भण्डारीले कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधव प्रसाद शर्माले कोहलपुरका राजनीतिकहरुलाई बेवास्ता गरि आफ्नो मनोमानी रुपमा कामहरु संचालन गरेको आरोप लगाए । ‘हामी जनताका प्रतिनिधि हौं र जनताको आदेश मान्छौं’ उनले भने ‘कोहलपुर नगरपालिकाले विधिको शासनलाई आत्मसाथ गर्नुपर्छ र राजनीतिक दलसँग सहकार्य गर्नुपर्छ ।’
त्यस्तै नेकपा एमाले कोहलपुर नगर प्रतिनिधि खिल प्रसाद भुषालले कोहलपुर नगरपालिकाले जनताले पठाएका नगर प्रतिनिधिहरुलाई सूचना नै नदिएर कार्यक्रम गर्दै आएको भन्दै आपत्ति जनाए । ‘कोहलपुर नगरपालिकाले गर्ने कार्यको सम्पुर्ण जानकारी हामीलाई हुनु पर्ने हो तर कुनै कार्य गर्दा सो जानकारी प्राप्त हुँदैन’ उनले भने ‘यदि कोहलपुर नगरपालिकाका कार्यकारीको कार्यशैली परिवर्तन नभएमा राजनीतिक दलका प्रतिनिधिहरु साउनबाट नयाँ रणनीतिका साथ प्रस्तुत हुनेछौं ।’
कार्यक्रममा बोल्ने अधिकांश कोहलपुरका जनताले कोहलपुर नगरपालिकाले दिएको सेवा प्रति गुनासो पोखेका थिए । कोहलपुर नगरपालिकाबाट भएका विकासका कार्यहरु सन्तोषजनक नभएको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधव प्रसाद शर्माले यस आर्थिक वर्षको प्रगति विवरण साउन मसान्त भित्र सार्वजनिक गरिने र आगामी वर्षमा कोहलपुर नगरपालिकाको मासिक रुपमा आय व्यय सार्वजनिक गरिने बताए ।  यस वर्षको लक्षित वर्गको बजेट सम्बन्धित क्षेत्रका जनता सम्म पुग्न नसकेको उपस्थित सहभागिहरुबाट आवाज आएपछि आगामि दिनहरुमा सम्बन्धित क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुको पहिचान गरी बजेट दिइने उनले बताए । कोहलपुर नगरपालिकाबाट काम गर्दै गर्दा भएका त्रुटिहरुलाई अन्यथा नसम्झन उनले आग्रह गरेका थिए ।
कोहलपुर नगरपालिकाबाट सम्पन्न भएका विकासका गतिविधि, लक्षित वर्गको बजेट, कृषि, स्वास्थ्य, प्रशासनिक काम, बाटो ग्राभेल लगायतका विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा कोहलपुरका राजनीतिक दल, वडा नगरिक मञ्चका संयोजक, बुद्धिजीवि लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, असार ३१, २०७३     7:57:25 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *