18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

क्यान्सर अस्पतालमा स्याटेलाईट सेवा शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३  

कोहलपुर, असार ३०
खजुरामा रहेको नेपाल क्यान्सर अस्पतालमा बुधबार देखि स्याटेलाइट सेवा सुचारु भएको छ । स्याटेलाइट सेवा सुचारु भए संगै मध्य तथा सुदुर पश्चिम क्षेत्रका बिरामीहरु क्यान्सर रोग उपचारका लागि खजुरा आउन थालेका छन् ।
सञ्चालन भएको पहिलो दिनमै मुख तथा घाटिका क्यान्सर रोगीहरु उपचारका लागि आएका छन् । मध्य तथा सुदुरपश्चिमका जनताहरु अझै पनि क्यान्सर रोगका लागि भारतको लखनउ वा चितवनको भरतपुर क्यान्सर अस्पताल जान बाध्य थिए । तर पछिल्लो समयमा बाँकेको खजुरामा नेपाल क्यान्सर अस्पतालमै क्यान्सरको उपचार शुरु भएपछी मध्य तथा सुदूर पश्चिमका जनताले सस्तो र आफ्नै क्षेत्रमा क्यान्सरको उपचार सेवा पाउने भएका छन्् ।
२०६५ सालमा स्थानीयको पहलमा बिराट ज्ञान महायज्ञ सञ्चालन गरेर २०६६ सालदेखि निर्माण कार्य शुरु गरिएको अस्पतालले १ सय शैयाको स्विकृत पाएको क्यान्सर अस्पतालको ५० शैयाबाट सेवा सुरु हुन थालेको हो । अस्पताल निर्माणका लागि २०६५ सालमा स्थानीयहरुले खजुरामा महायज्ञ सञ्चालन गरेर ५ करोड बढी रकम संकलन गरेका थिए । महायज्ञबाट संकलित भएको रकमबाट हौंसिएका स्थानीयहरुले महायज्ञ सञ्चालन पश्चात नै अस्पताल बनाउन जुटेका थिए । निर्माणकार्य शुरु भएको ६ बर्ष पछी बल्ल खजुराबासीहरुको सपना साकार भएको छ । खजुराबासीको सपना संगै मध्य तथा सुदुरपश्चिमका नागरिकहरुले समेत सस्तो र सुलभ दरमा क्यान्सरको उपचार पाउने भएका छन् । स्याटेलाईट सेवा अन्र्तगत ओपीडी सेवा, क्यान्सर रोगको परिक्षण सेवा लगाएतका सेवाहरु शुरु भएको नेपाल क्यान्सर अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतीले जानकारी दिए । क्यान्सर अस्पताल सञ्चालनमा आएपछी अस्पताल आसपासका स्थानीयहरु पनि खुसी देखिएका छन् । चार बिगाहा क्षेत्रफलमा फैलिएको अस्पताल सञ्चालनमा आएपछी स्थानीयहरुले आसपासमा घरहरु निर्माणलाई तीव्रता दिएका छन् । अस्पताल सञ्चालनमा आएपछी २ सय बढि स्थानीयले रोजगार समेत पाउने बिश्वास गरिएको छ । क्यान्सर अस्पतालका लागि लायन्स क्लबले समेत ७५ लाख बराबरको उपचार सामाग्री उपलब्ध गराएको छ ।

प्रकाशित मितिः बिहिबार, असार ३०, २०७३     11:50:35 AM  |