19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

तुलसीराम स्मृति पुरस्कार उप्रेतीलाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार २९, २०७३  

कोहलपुृर, असार २९
२०३ औं भानु जयन्तीको अवसरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले मंगलबार वरिष्ठ कवि तथा निबन्धकार भिष्म उप्रेतीलाई ‘तुलसी राम स्मृति पुरस्कार–२०७२’ बाट सम्मान गरेको छ । ।
तुलसीराम ढकालको सम्झनामा २०६२ सालमा स्थापना भई प्रत्येक वर्ष प्रदान गरिने रु २१०१।–(दुई हजार एक सय एक) राशी रहेको यो पुरस्कार २०७२ का लागि लामो समयदेखि भाषा साहित्यमा योगदान दिए वापत उप्रेतीलाई प्रदान गरिएको हो । झापामा जन्मेका उप्रेति एक स्थापित कवि हुन् भने हाल नेपाल राष्ट्र बैंक बाँकेमा क्षेत्रिय निर्देशकको रुपमा कार्यरत छन् ।  कार्यक्रममा बोल्दै वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले साहित्य लेखनका लागि अध्ययनको आवश्यकता पर्ने बताए । ‘साहित्य लेख्नको लागि अध्ययन आवश्यक छ’ उनले भने ‘विविध विषयहरुलाई कलात्मक तरिकाले प्रस्तुति गर्नु साहित्य लेखन हो ।’  त्यस्तै कार्यक्रममा बाँके, दाङ, सुर्खेत, सल्यान, बर्दियाका साहित्यकार लगायतको उपस्थिती रहेको थियो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालको सभापतित्वमा भएको कार्यक्रमको संचालन बागेश्वरी साहित्य परिषद्का अध्यक्ष पुष्करनाथ रिजाल ‘पुष्प’ले गरेका थिए ।  त्यस्तै ‘तुलसी राम स्मृति पुरस्कार–२०७२’ बाट हालसम्म पुष्प अधिकारी अञ्जली (चितवन), पद्मराज जोशी (कैलाली), राजेन्द्र प्रसाद धिताल (बर्दिया), प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारी (बाँके), सृजन लम्साल (बाँके), डा. दिपक गौतम (सुर्खेत) र टिकाराम उदासी (दाङ) सम्मानित भैसकेका छन् । कथा लेखन प्रशिक्षण सम्पन्न यसैबीच हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले कथा लेखन सिप विकास प्रशिक्षण कार्यक्रममा सम्पन्न गरेको छ । नगरपालिकाको आर्थिक सहयोग र बागेश्वरी साहित्य परिषद्को समन्वयमा एक दिने कथा लेखन सिप विकास प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।  महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा नेपाली विषयका विभागिय प्रमुख डम्बर बहादुर पुन र बर्दिया बहुमुखी क्याम्पसका प्रध्यापक हरि सुवेदीले कथा लेखन सिप विकास सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा एक सय बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, असार २९, २०७३     12:44:24 PM  |