20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘एनटिभीरोड’ मर्मतको पखाईमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २१, २०७३  

राम बहादुर रावत
कोहलपुर, असार २१
कोहलपुर ‘एनटिभीरोड’ मा खाल्डा खुल्डी पर्दा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । कोहलपुर नेपालगञ्ज चार लाइन सडक निर्माण गर्दा एनटिभी सडकमा खाल्डा खुल्डी परेका हुन् ।
खाल्डामा परिणत भएको एनटिभीरोडमा प्रत्येक दिन दुर्घटना हुने गरेको कोहलपुर–११ का प्रशन्न अधिकारीले बताए । ‘कोहलपुर–नेपालगञ्ज सडक खण्ड निर्माण गर्दा एनटिभी सडक भत्केको थियो’ उनले भने ‘कोहलपुर नगरविकास समिति अन्तर्गत पर्ने यो सडक मर्मत कार्यमा कसैले ध्यान दिएका छैन ।’ चार टन क्षमता भएको एनटिभी सडकमा २० टन सम्मका सवारी साधनहरु संचालनमा ल्याइएको उनले बताए । त्यस्तै एनटिभीरोड मर्मतका लागि पटक पटक नगरविकासलाई जानकारी गराए पनि हाल सम्म मर्मत गर्न नसकेको स्थानिय नम प्रसाद शर्माले बताए । ‘अहिले सडक समान्य रुपमा क्षति भएको छ’ उनले भने ‘थोरै बजेटमा मर्मत गर्न सकिन्छ, तर मर्मत गर्नका लागि नगरविकासले ध्यान दिनुपर्छ ।’ साना–साना खाल्डा खुल्डीहरुलाई मर्मत गर्नका लागि धेरै बजेटको आवश्यकता नपर्ने उनी बताउँछन् । ‘नगर विकास क्षेत्र भित्र भत्केका सडकहरु मर्मत गर्ने जिम्मेवारी नगरविकासको हो’ उनले भने ‘अहिले सम्म एनटिभीरोड मर्मतका लागि नगरविकासले कुनै योजना ल्याउन सकेको छैन ।’त्यस्तै कोहलपुर एनटिभी सडकको मर्मत कार्य केहि समय भित्र सम्पन्न गरिने कोहलपुर नगरविकास समितिका अध्यक्ष लक्ष्मणराज पौडेलले बताए । ‘विभिन्न स्थानहरुमा सडक निर्माण भइरहेका छन्’ उनले भने ‘कोहलपुर एनटिभीरोड मर्मतका लागि हामीले केही बजेटको व्यवस्था गरेका छौं ।’ एनटिभीरोडसँगै जोडिएको न्यूरोड देखि एनटिभीरोड खण्डसम्मको सडक निर्माण कार्य सम्पन्न हुन लागेको र सडक निर्माण सँगै एनटिभीरोड पनि मर्मत गरिने उनले बताएका छन् । एनटिभीरोड पूर्ण रुपमा मर्मत गरिनु पर्ने आवश्यकता देखिएको छ । एनटिभीरोडमा खाल्डा खुल्डी पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सम्बन्धीत निकायले एनटिभीरोड मर्मतका लागि ठोस योजना ल्याउनुपर्ने स्थानियहरु बताउँछन् ।

प्रकाशित मितिः मङ्लबार, असार २१, २०७३     9:02:03 AM  |