23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

वेष्टर्न हस्पिटलको लापरवाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २१, २०७३  


दुईवटा नशा काटिएपछि बिरामीको मृत्यु
कोहलपुर, असार २१
नेपालगञ्जस्थित वेस्टर्न हस्पिटलको लापरबाहीले एक व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा बायाँ काँधको हातको जोर्नी फुस्किएर उपचारका लागि वेस्टर्न हस्पिटल गएका कोहलपुर २ प्रेमनगरका ४२ वर्षिय दत्तबहादुर विकको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।
विशेषगरी हड्डी सम्बन्धी उपचार हुने हस्पिटलमा बिकको हातको अप्रेशन गर्दा दुईवटा नशा काटिएपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको हो । असार १६ गते हस्पिटलमा भर्ना भएका विकको १७ गते बायाँ काँधमा रहेको हातको जोर्नीको अप्रेशन गरिएको थियो । सोही अप्रेशनका क्रममा नशा काटिएको थियो । अत्यधिक रक्तश्रावपछि काठमाण्डौ पु¥याइएका विकको सोमबार बिहान ११ बजे टिचिङ्ग हस्पिटल महाराजगञ्जमा मृत्यु भएको हो । हड्डीसम्बन्धी उपचार गराउने अस्पतालले हड्डीमा च्यापिएको नशा समेत काटिदिएपछि उनको मृत्यु भएको आफन्तको दावी छ । मृतक विकका आफन्त पुजन विकले वेष्टर्न हस्पिटलले अप्रेशनका क्रममा रगत बग्ने दुई वटा नशा काटिदिएकोले अत्याधिक रक्तश्रावपछि मृत्यु भएको बताए । अत्यधिक रक्तश्रावका कारण काटिएको नशाबाट ईन्फेक्सन भई दुवै मृगौल फेल भएको र मुटुले काम नगर्दा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै उनले बताए । ‘बाँया हातका काँधनिरका दुई नशा काटिएपछि वेष्र्टन अस्पतालका चिकित्सकले रगत थाम्न कपास राखिदिएकाले पनि ईन्सफेक्सन भएको पाइयो’ उनले भने । टिचिङ् हस्पिटलका चिकित्सकले अत्यधिक रक्तश्रावपछि मृगौला, मुटुले काम नगर्दा बचाउन नसकिएको आफन्तलाई जानकारी दिएका थिए । आफन्तले वेष्र्टन हस्पिटलका डा. विनोद थापाको कमजोरी भएको आरोप लगाएका छन् । असार पहिलो साता विकको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा पर्दा बाँया काँधको हड्डी फुत्किएको थियो ।यता अस्पतालले पनि नशासम्बन्धि विशषेज्ञ नहुँदा कमजोरी भएको स्वीकार गरेको छ । वेष्र्टन अस्पतालका प्रमुख डा. विनोद थापाले आफू नशा विशेषज्ञ नभएकोले यस्तो कमजोरी भएको स्वीकार गरे । १७ गते अप्रेशन गर्दा काँधमा फुत्किएको हड्डी पुरानै अवस्थामा तानेर मिलाउने क्रममा नआएपछि जोडले तान्ने प्रयास गर्दा नशा च्यातिएर रक्तश्राव भएको उनले बताए ।  हड्डीको डाक्टरलाई नशासम्बन्धि जानकारी नहुने हुँदा समस्या आएको बताउँदै उनले रगत दिएपछि काठमाण्डौ रिफर गर्दासम्म विकको स्वास्थ्य अवस्था सामान्य रहेको दावी गरेका छन् । उनले चिकित्सक पेशा नै जोखिम भएकोले विरामी मृत्यु हुँदा डाक्टरमाथि दोष लाग्ने गरेको बताए । मृतक बिक नेकपा एमाले कोहलपुर नगर कमिटी सदस्य एवं उत्पीडित जातिय मुक्ति समाज कोहलपुरका अध्यक्ष समेत हुन् ।

प्रकाशित मितिः मङ्लबार, असार २१, २०७३     8:58:40 AM  |