20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

बालिकालाई यौनधन्दामा लगाउने दुई महिला पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १०, २०७३  

कोहलपुर, असार १०
१५ बर्षीय बालिकालाई यौनधन्दामा लगाउने २ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । कोहलपुर–११ स्थित एकान्त होटल एण्ड रेष्टुरेन्टका संचालक सुस्मिता बोटे र सुशीला श्रेष्ठलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई मानव बेचबिखन मुद्धा चलाउने तयारी भएको डिएसपी सुरेश काफ्लेले बताए ।
प्युठान भएकी १५ बर्षीय ती बालिकालाई ललाईफकाई तीन महिनादेखि यौनधन्दामा लगाएको पाइएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार होटलमा ग्राहकबाट पाँच हजार देखि दश हजार असूल्दै ती होटल सञ्चालिकाहरुले बालिकालाई पाँच सय रुपैँया दिँदै आएका थिए । कक्षा ८ मा अध्ययरत गर्दागर्दा ती बालिका आर्थिक अवस्था नाजुक भएपछि पढाई छोड्न बाध्य भएकी थिइन् । यसैक्रममा सुस्मिताले ललाईफकाई प्युठानबाट कोहलपुर ल्याई यौनधन्दामा लगाएको प्रहरीको भनाइ छ । ‘तीन महिनादेखि ती बालिकालाई होटलमा राखेर यौनधन्दामा लगाएको पाइयो’ डिएसपी काफ्लेले भने । बालिकाको उद्धार र होटल संचालिका पक्राउ परेपछि स्थानीयले कारवाहीका माग गर्दै प्रहरीमा जाहेरी समेत दिएका छन् । स्थानीयको जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले मानव बेचबिखनको मुद्दा चलाउने तयारी गरेको हो ।  बालिका विपन्न परिवारको रहेको पाइएको छ । पीडित बालिकाका बुवाको मृत्यु भएको र आमा अर्कैसँग विवाह गरेर गएको पीडित बालिकाले बताइन् । उनले आफूले भाइलाई पढाउनका लागि यौनधन्दाबाट खर्च जुटाउने गरेको बताइन् । यसैबीच कोहलपुर प्रहरीले बिहिबार नै छापा मारेर कोहलपुर क्षेत्रका होटलबाट पाँच जोडी पक्राउ गरेको छ । प्रक्राउ परेका प्रायः विवाहिता महिला भएको पाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, असार १०, २०७३     8:10:59 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *