सुदीप अधिकारी
बर्दिया, ७ असार
ठेकेदारले बबई नहरको साइफन (जमिन मुनीको नहर) मर्मत गर्ने कार्य समयमै नभ्याउँदा बर्दियाको किसान निकै मर्कामा परेका छन् । असारको पहिलो साता बित्दा पनि पश्चिम नहर क्षेत्रका किसानले अहिलेसम्म धानको ब्याड राख्न पाएका छैनन् । ठेकेदारले साइफन मर्मतको काम अहिलेसम्म पनि नसक्दा सिँचाई कार्यालयले पश्चिम नहरमा पानी छोडेको छैन । नहरमा पानी नभएका कारण किसानले धानको ब्याड राख्न नपाएका हुन् ।
नहर मर्मत र साइफन ममर्तको ठेक्का अमर कन्टक्सन प्रा. लि.ले लिएको छ । ठेकेदारले ढिला सुस्तीले किसान ठूलो मारमा परेका छन् । नहर र साइफन मर्मतको ठेक्का सम्झैता २०७१ फागुनदेखि २०७३ फागुन सम्मको हो । सोह्र महिना बित्दा पनि ठेकेदारले साइफन मर्मतको काम अझै पुरा गर्न सकेको छैन् । भने नहर मर्मतको काम त सुरुवात नै गरेको छैन । अघिल्लो वर्ष किसानले आफैले कुलो खनेर बर्खामा सिँचाईको जोहो गरेका थिए ।
बबई पश्चिम नहरबाट बबई नगरपालिका र सानोश्री ताराताल नगरपालिका क्षेत्रको करिव २१ हजार बढी हेक्टर जमिनमा सिँचाई हुने गरेको छ । तर साइफनको मर्मत सुरु भययता यहाँका जमिन बाँझै छन् ।
यस वर्ष बर्खा अगावै साइफन मर्मत भएर समयमै सिँचाई सुविधा पाउने आशमा बसेका किसान यतीखेर निरास बनेका छन् । ‘असार लाग्यो तर अहिलेसम्म ब्याड राख्न पाइएको छैन । नहरमा पानी आउला र ब्याड राखौँला भन्दा भन्दै समय ढिप्कियो । ठेकेदारको ढिलासुस्तीले हामीलाई मर्नु बनायो,’ बबई नगरपालिका ६ का किसान रघुबिर थारुले सुनाए । बबई सिँचाई आयोजनाले समयमै काम सक्न ठेकेदारलाई पटकपटक दवाव दिँदै आएको बताएको छ । तर काम अझै पुरा हुन सकेको छैन । सिँचाई कार्यालयले जेठ २० गते भित्रै नहरमा पानी छाड्ने भनेर ढुक्क बनाएको किसानहरु बताउँछन् । तर साइफन ममर्त हुन नसक्दा नहर रित्तो छ । ठेकेदारको ढिलासुस्तीले गर्दा यस्तो अवस्था आएको स्वयम बबई सिँचाई आयोजनाका कर्मचारी बताउँछन् । ‘ समयमै साइफन मर्मत हुन नसक्नुमा अन्य कारण पनि भएपनि ठेकेदारको ढिलासुस्ती नै प्रमुख कारण हो जस्तो लाग्छ,’ बबई सिँचाई आयोजनाका पश्चिम नहर साइट हेर्ने इन्जिनियर उमेश गुप्ताले भने । इन्जिनियर गुप्ताले जेठ मसान्तसम्ममा नब्बे प्रतिशत काम सकेको बताएका छन् । गुप्ताका अनुसार किसानले सिँचाई सुविधा पाउन अझै कम्तिमा एक हप्ता कुर्नु पर्ने छ । विगतका वर्षमा जेठको पहिलो र दोस्रो साता भित्रै किसानले धानको ब्याड राखी सक्थे । ठेकेदारको कारणले समयमै ब्याड राख्न नपाउँदा किसान आक्रोशित भएका छन् । अब धानको ब्याड राख्ने समय ढप्किदै गएको किसानहरुको भनाई छ । ‘ ब्याड राख्ने समय जानै लाग्यो । अब पनी ब्याड राख्न पाइएन भने बाली लगाउनुको कुनै अर्थ हुँदैन,’ नेउलापुरका एक किसान अगानु थारुले गुनासो पोखे । साइफनसँगै पश्चिम बबई नहरअन्र्तगत बर्गदा– मानपुर सहायक नहर निमार्णको ठेक्का लिएको ठेकेदारले पनि उक्त नहर निमार्णको पहिलो चरणको काम पनि अझै पुरा गर्न सकेको छैन । संचालनमा आएको वर्षदिन नपुग्दै २०७१ साउनमा बबई नदीमा आएको भिषण बाढीले पश्चिम नहर र साइफनमा ठूलो क्षती पुर्याएको थियो ।
प्रकाशित मिति : २०७३ असार ७ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्