परीक्षाफल आशा लाग्दो, अझै रनभुल्ल



रावन विश्वकर्मा
बाँसगढी, असार ४
यस वर्षको एसएलसी परीक्षाको रिजल्टले धेरैलाई रनभुल्लमा पारेको छ । पहिलोपटक लागू गरिएको ग्रेडिङ प्रणाली सहजै बुझ्न सकिने खालको छैन । विगतको एसएलसी रिजल्टमा पास फेल र डिभिजन हेरिन्थ्यो । मार्कसिटमा हरेक विषयको प्राप्तांक हेर्न पाइन्थ्यो । यसपाली परीक्षा नियन्त्रण कार्यालयले नयाँ प्रयोग गर्दै प्रत्येक विषयलाई नौ तहमा वर्गिकरण गरेर रिजल्ट निकालेको छ । यसमा परीक्षार्थीले आफ्नो प्राप्ताङ्क भेट्दैनन् । बाँसगढी ८ बाह्रबिघाका गोपाल गिरीले पहिलेको रिजल्ट जस्तो फेल हुने नभए पनि कुन ग्रेडले पढ्न पाउने कुनले नपाउने भन्ने अन्यौल रहेको बताए । रिजल्टमा परीक्षार्थीको प्रत्येक विषयको अंकको साटो ग्रेड दिइएको छ । समग्र ग्रेड प्वाइन्ट एभरेज (जीपीए) उल्लेख गरिएको छ । बाँसगढी क्षेत्रको १.६ को हिसाबले समग्र परीक्षाफल राम्रै भए पनि बुझ्नलाई अझै केही असजिलो र स्पष्ट भई नसकेको बाँसगढी स्रोत केन्द्रका स्रोत व्यक्ति ढाकाराम ढकालले बताए । सामान्यतया १.६ देखि २ सम्म जीपीए पाएका विद्यार्थीहरुले कक्षा ११ मा पढन पाउने प्रावधान छ । तर, परीक्षा नियन्त्रण कार्यालयबाट आधिकारीक जानकारी अझै जिल्ला सम्म आईनपुगेको जिल्ला शिक्षा कार्यालय बर्दियाका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले बताए । उनले भने ‘सम्रग रुपमा बर्दियाको रिजल्ट हेर्दा पहिलेका बर्ष भन्दा केही आशा लाग्दोे छ ।’ बर्दिया जिल्लामा परीक्षा दिएका ७ हजार १० जना विद्यार्थी मध्ये डि प्लस सम्म ल्याएका विद्यार्थीहरुको संख्या ६ हजार ६ सय १४ जना रहेको उनले बताए । यसरी हेर्दा बर्दियामा समग्र प्रतिशतको हिसाव गर्दा ९४.३५ प्रतिशत रहेको छ । अहिलेको नयाँ अभ्यास विशेषगरी कमजोर विद्यार्थीहरुका लागि अनुकुल छ, किनकी यसले कसैलाई पनि ‘फेल’ भएको देखाउँदैन । तर, व्यवहारीक रुपमा भने १.६ भन्दा कम जीपीए भएका विद्यार्थी फेल बराबर मानिन्छन् । उनीहरुले ११ कक्षामा भर्ना हुन पाउँदैनन्, बरु दुई विषयमा मौका परीक्षा दिएर आफ्नो जीपीए सुधार्न सक्छन् । नयाँ गरिएको प्रयोग कति सफल र प्रभावकारी हुन्छ भनेर आँकलन तत्कालै गर्न सकिँदैन, तर यति भन्न सकिन्छ यो प्रणालीले एसएलसी अब पहिलेजस्तो ‘आइरन गेट’ रहेन ।

  • No tags available
प्रकाशित मिति : २०७३ असार ४ गते शनिबार