कोहलपुरमा दुई  प्रमुखको आगमन



 एक महिनापछि नगरपालिकामा प्रमुख झुल्किए,
 कोहलपुर प्रहरी प्रमुखमा डिएसपी सुरेश काफ्ले
राम बहादुर रावत
कोहलपुर, बैशाख ३०
कोहलपुर क्षेत्रमा दुई कार्यालय प्रमुखहरुको आगमन भएको छ । प्रमुखविहीन रहेको कोहलपुर नगरपालिकामा करिब एक महिनापछि कार्यकारी अधिकृतको आगमन भएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि प्रमुखको आगमन भएको छ ।
कोहलपुर नगरपालिकामा करिब एक महिनापछि कार्यकारी अधिकृतको रुपमा माधवप्रसाद शर्मा आएका हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चैत्र २३ गते नै कोहलपुर नगरपालिकामा शर्मालाई पदस्थापना गरिएको व्यहोराको पत्र फ्याक्स मार्फत पठाएपनि उनी एक महिना ढिलो गरी कार्यालयमा आएका हुन् ।
कोहलपुर नगरपालिका कार्यकारी अधिकृत आएसँगै नक्सा पास, नीतिगत निर्णय, बैठक छलफलबाट गर्नुपर्ने निर्णय र खर्चको भुक्तानीको काम सुचारु भएको छ । महिनौं दिनदेखि अड्किएका कामहरु बनेपछि सेवाग्राहीमा खुशी छाएको छ ।
उनी कोहलपुर आएलगत्तै बुधबार परिचयात्मक कार्यक्रम गरेका छन् । उनले कोहलपुर नगरपालिकाका राजनीतिक दलका प्रतिनिधिहरुसँग परिचयात्मक
कार्यक्रम गरेका हुन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले कोहलपुर नगर परिषद्बाट पास भएका योजनाहरुलाई तत्काल प्राथमिकता दिने बताएका छन् । उनले राजनीतिक दलहरुको साथ र सहयोगले नै कोहलपुरको विकास हुने बताउँदै सबै दलका प्रतिनिधिहरुलाई सक्रिय भएर लाग्न अनुरोध गरेका छन् ।
कोहलपुर सम्भावनाको सुन्दर भविष्य बोकेको भन्दै कोहलपुरको विकासका लागि सबैको सहयोगको आवश्यकता रहेको शर्माले बताए । सबैको साथ सहयोग पाए नगरपालिकाले कोहलपुरलाई सपनाको शहर बनाउने बताए । कार्यक्रममा कोहलपुरका विकासका बारेमा सम्पूर्ण राजनीतिक दलका नगर प्रतिनिधिहरुले जानकारी गराएका थिए ।
यता कोहलपुर प्रहरी प्रमुखको रुपमा डिएसपी सुरेश काफ्लेले जिम्मेवारी सम्हालेका छन् । बुधबार डिएसपी काफ्लेले राजनीतिक दल र पत्रकारहरुबीचमा अन्तरक्रिया कार्यक्रम गरे ।
सरुवा भई नयाँ कार्यभार सम्हाल्न कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुर आएका डिएसपी काप्mलेले नयाँ योजनासहित जनतालाई शान्ति सुरक्षाको प्रत्याभूत गराउने प्रतिबद्वता जनाए । उनले प्रहरीले आपराधिक तथा शान्ति सुरक्षा मजबुद पार्ने सवालमा सबैको सहयोग आवश्यक रहने भएकाले प्रहरीले सबैसँग सहयोगको अपेक्षा गरिरहेको बताए ।
कार्यक्रममा सहभागीहरुले प्रहरीलाई सहयोग गर्ने बताउँदै प्रहरीले पनि आचरण विपरितका काम नगर्न सुझाव दिए । साथै सहभागीले प्रहरीको सकारात्मक कामको प्रशंसा गर्ने र गलत कामको विरोध गर्नुपर्ने बताउँदै विरोध गर्दा प्रहरीलाई सच्चिने अवसर प्रदान हुने बताए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्यार्थी नेता, पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ३० गते बिहीबार