20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सयौं बासिन्दा घुम्ती सेवा शिविरबाट लाभान्वित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३  

नेपालगञ्ज, बैशाख १८ गते । सडक र यातायातको असुविधाका कारण जिल्ला सदरमुकामबाट निकै दुर्गममा परेका बाँकेको राप्तीपारी बघौडा क्षेत्रका सयौं बासिन्दा एकिकृत घुम्ती सेवा शिवीरबाट लाभान्वित भएका छन् ।
बाँके जिल्लाको बघौडा क्षेत्रका होलिया, गंगापुर, मटैहिया र नरैनापुर गरी ४ वटा गाविसका बासिन्दालाई लक्षित गरेर शुक्रवार गंगापुर गाविसको गंगापुरमा एकिकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको थियो ।
गंगापुर गाविसको समन्वयमा स्थानीय सुशासन कार्यक्रम अन्तर्गत आयोजना गरिएको सो घुम्ती सेवा शिविरमा स्थानीय सेवा प्रदायक निकायहरु, गाविस, स्वास्थ्य चौकी र पशु कार्यालय लगायतले समुदायलाई आवश्यक सेवा प्रदान गरेको गंगापुर गाविसका सचिव  ले बताउनु भयो ।
शिविरमा स्वास्थ्य चौकीका कर्मचारीहरुले सेवा लिन चारवटै गाविसका आएका ५४ जना महिला र ३१ पुरुष गरी ८५ जनाको स्वास्थ्य जाँच गरी औषधि समेत उपलब्ध गराईएको उहाँले जनाउनु भयो ।
यसैगरी पशु कार्यालयबाट खटिइएका पशु चिकित्सकहरुले ५२ घरधुरीका ४३३ पशुहरुलाई रोग विरुद्ध खोप लगाएका थिए भने गाविसले घटना दर्ता, जन्म दर्ता, विवाह दर्ता गरी १४ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको थियो । सोही प्रकारले तीन दर्जन बढीले नागरिकताको सिफारिश प्राप्त गरेका थिए ।
जनताको घरदैलोमै आएर सेवा प्रदान गरिएकोले स्थानीय बासिन्दालाई सहज भएको गंगापुरका स्थानीय राम फेरन वर्माले बताउनु भयो । उहाँले सेवा लिन टाढा जान नसक्ने र कुन सेवा कसरी लिने भन्ने जानकारी समेत नभएका स्थानीयलाई घरदैलोमै आइ सेवा दिनु सराहनीय रहेको बताउनु भयो ।
बिशेष गरी स्वास्थ्य सेवाको पहुँचमा नरहेका सो क्षेत्रका बासिन्दाले सो शविरबाट राम्रो सेवा पाएको अर्का स्थानीय मकबुल पठानले बताउनु भयो । शिविरमा महिलाको सहभागिता धेरै भएको उहाँको भनाई छ ।
दुर्गम गाविसका अति विपन्न र सीमान्तकृत वर्गको सरकारी सेवामा पहुँच बढाउनका निमित्त गाविसको समन्वयमा घुम्ती सेवा शिविर संचालन गरिएको साझेदारी विकास परियोजनाका कार्यक्रम संयोजक साजिद अली सिद्दीकीले बताउनु भयो ।

प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३     2:16:36 PM  |