बिनोद पौडेल
केशव राना
काहेलपु, बैशाख १८
चौतर्फी दबाबका कारण २१ दिनदेखि प्रमुखविहीन भएको कोहलपुर नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आउने संकेत देखा परेको छ । मन्त्रालयले कोहलपुर नगरपालिकामा पदस्थापना गराएका माधवप्रसाद शर्मा ३–४ दिनभित्र आउने संकेत देखा परेको हो ।
बाँके क्षेत्र नं. १ सांसद देवभारले आगामी मंगलबारभित्र नयाँ कार्यकारी अधिकृत कोहलपुर आइपुग्ने दावी गरेका छन् । ‘मन्त्री र सचिवसँग पनि यस बारेमा कुराकानी भयो’ उनले भने ‘मंगलबारभित्र नयाँ कार्यकारी अधिकृत नगरपालिकामा उपस्थित हुन्छन ।’
यता संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सहसचिव पूर्णचन्द्र भट्टराईले कोहलपुर नगरपालिकामा माधवप्रसाद शर्मालाई नै पदस्थापना गरिएको बताएका छन् । मन्त्रालयल खटाएको कर्मचारी कानुन अनुसार जानैपर्ने बताउँदै उनले कोहलपुर नगरपालिकामा कार्यकारी अधिकृत केही दिन मै पुग्ने बताएका छन् । ‘बाटोको म्याद बाहेक ३५ दिनभित्र कर्मचारी खटाएको क्षेत्रमा पुगिसक्नुपर्छ’ उनले भने ‘तोकिएको समयभित्र पनि पुगेनन् भने त्यसपछि कारबाही प्रक्रिया अगाडि बढ्छ ।’ यस्तै नेकपा एमाले बाँके अध्यक्ष अशोक कोइरालाले पनि केही दिनमै नयाँ कार्यकारी अधिकृत आउने दावी गरेका छन् । ‘नयाँ कार्यकारी अधिकृत माधवप्रसाद शर्माले फोन गर्नुभएको थियो’ उनले भने ‘बुवा बिरामी भएकाले आउन नपाएको र ३–४ दिनभित्रै आउँछु, भन्नुभएको छ ।’
संघर्षमा उत्रने तयारी
कोहलपुर नगरपालिकामा अझैं पनि कार्यकारी अधिकृत नआए संघर्षमा उत्रने चेतावनी दिइएको छ । कोहलपुर सुधार समाजले दुईदिनभित्र कार्यकारी अधिकृत नआएमा चरणबद्व रुपमा आन्दोलनमा उत्रने जनाएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै सुधार समाजले प्रमुखविहीन हुँदा कोहलपुर नगरपालिकाको विकासका कामहरु ठप्प भएको, नयाँ आर्थिक बर्षको बजेट र कोहलपुरको विकासमा समेत नकारात्मक प्रभाव परेकोले नेपाल सरकार, स्थानिय विकास मन्त्रालय र सम्बन्धित सरोकारवाला निकाय तथा राजनीतिक दलहरुलाई तत्काल नयाँ कार्यकारी अधिकृत पठाउन जोडदार माग गरेको छ ।
यस्तै कोहलपुर उद्योग व्यापार संघ अध्यक्ष नरेन्द्र शर्माले ३–४ दिनभित्र नआए संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् । माथिल्लो निकायमा नयाँ कार्यकारी अधिकृत पठाउनका लागि दबाब सिर्जना गरिरहेको बताउँदै उनले अझैं पनि नआएमा राजनैतिक दल लगायत सम्पूर्ण कोहलपुरवासीलाई साथमा लिएर संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन् ।
स्थानीय विकास मन्त्रालयले ‘माधवप्रसाद शर्मालाई कोहलपुर नगरपालिकामा पदस्थापना गरिएको’ भनेर कोहलपुर नगरपालिकामा चैत्र २३ गते फ्याक्स पठाएको थियो । नगरपालिका प्रमुखविहीन हुँदा सामान्य सिफारिसका कामहरु निमित्तबाट भएपनि नक्सा पास, नीतिगत निर्णय, बैठक छलफलबाट गर्नुपर्ने निर्णय र खर्चको भुक्तानीको काम रोकिएको छ । आर्थिक वर्षको अन्त्य हुने अवस्थामा कार्यकारी अधिकृत नहुँदा कोहलपुरको विकासमा अवरोध सिर्जना भएको छ ।
प्रकाशित मिति : २०७३ वैशाख १८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्