नयाँ प्रमुख आउनेमा अझैं अन्यौलता



१८ दिन पूरा भैसक्दा पनि कोहलपुर नगरपालिका प्रमुख विहीन
बुवा बिरामी भएको बहानामा नयाँ अधिकृतले मन्त्रालयको पत्र बुझ्न मानेनन्
बिनोद पौडेल
केशव राना
कोहलपुर, बैशाख १५
प्रमुखबिहीन भएको १८ दिन पूरा भैसक्दा पनि कोहलपुर नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आउने कुनै छाँटकाँट देखिएको छैन । नयाँ कार्यकारी अधिकृतले मन्त्रालयबाट पत्र बुझ्न नमान्दा नगरपालिकामा नयाँ कार्यकारी अधिकृत आउनेमा अन्यौलता छाएको छ । मन्त्रालयले माधवप्रसाद शर्मालाई खटाउने बताएपनि बुवा बिरामी भएको बहानामा उनले पत्र बुझ्न मानेका छैनन् । कर्मचारी संगठनका नेता समेत रहेका उनी कोहलपुर नगरपालिकामा आउँदिन भन्दै अड्डी कसेर बसेको मन्त्रालय स्रोतले जनाएको छ । सोही कारण पनि नयाँ कार्यकारी अधिकृत आउने सम्भावना अझैं पर धकेलिएको छ । शान्ति मन्त्रालयमा बारुदी सुरुंग व्यवस्थापन शाखा अधिकृत रहेका उनी उपसचिवमा बढुवा भएर स्थानीय विकास मन्त्रालयमा आएका हुन् । मन्त्रालयले ‘माधवप्रसाद शर्मालाई कोहलपुर नगरपालिकामा पदस्थापना गरिएको’ भनेर कोहलपुर नगरपालिकामा चैत्र २३ गते फ्याक्स पठाएको निमित्त कार्यकारी अधिकृत सरद कुमार बरालले जानकारी दिए । काजमा आएका मिमबहादुर शाहीलाई चैत्र २४ गते अन्यत्रै सरुवा गरेको पत्र आएपछि २५ गते हाजिर गरी रमाना बुझाएर हिँडेको उनले बताए । शाहीले २०७३ बैशाख ५ गते सम्मका लागि बिदा लिएको बराल बताउँछन् ।
बाँकेका स्थानीय विकास अधिकारी जिवलाल भुषालले पनि मन्त्रालयको पत्र नयाँ आउनुपर्ने कार्यकारी अधिकृतले नबुझेको बुझिएको बताएका छन् । ‘नयाँ कार्यकारी अधिकृतका बारेमा हामीलाई आधिकारिक रुपमा पत्र त आइसकेको छैन’ उनले भने ‘कार्यकारी अधिकृतले चिठ्ठी नबुझेको भन्ने बुझिएको छ ।’ आर्थिक वर्षको अन्त्यतिर कार्यकारी अधिकृत नआउँदा विकास निर्माणका साथै अन्य कामहरुमा गम्भीर असर पर्ने बताउँदै उनले राजनीतिक दलका प्रतिनिधिले दबाव दिनुपर्ने
बताए ।
बैशाख ६ गते कोहलपुर नगरपालिकामा पदस्थापना भइसक्नुपर्ने नयाँ कार्यकारी अधिकृतले कोहलपुर आउन अटेर गर्दा सेवाग्राहीहरुका कामहरु रोकिएका छन् ।
आर्थिक वर्ष २०७२÷०७३ को अन्त्यतिर पनि अधिकृत आउने टुंगो नलागेपछि यहाँका कामकारबाही प्राय ठप्प छन् । सामान्य सिफारिसका कामहरु भएपनि नक्सा पास, नीतिगत निर्णय, बैठक छलफलबाट गर्नुपर्ने निर्णय र खर्चको भुक्तानीको काम रोकिएको छ । ‘निवेदन दर्ता, योजना प्रक्रियामा सम्झौता भइरहेको छ’ निमित्त कार्यकारी अधिकृत सरद बरालले भने ‘नक्सा पास, सम्पन्न भएका योजनाका बिल भुक्तानी, नीतिगत निर्णयहरु भने हुन सकेको छैनन् ।’
नयाँ कार्यकारी अधिकृत नआउँदा २५ बढी नक्सा पासका प्रक्रिया पूरा भएको तर प्रमाणित हुन बाँकी रहेका छन् । त्यस्तै करिब ५ वटा सम्पन्न भएका योजनाहरुको बिल भुक्तानी पनि भएको छैन । अझैं सम्पन्न भएका योजनाहरुको बिल आउने क्रम जारी रहेको बरालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १५ गते बुधबार