आयोडिन नुनको प्रयोगबारे जनचेतना



कालीकोट, चैत १६ गते । कालीकोटका ग्रामीण क्षेत्रमा ढिकेनुनको व्यापक प्रयोग हुन थालेपछि जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले आयोडिन नुनको प्रयोग गर्न चेतनामूलक कार्यक्रम चलाउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले आफू मातहतका स्वास्थ्य संस्थामा स्थानीयवासीलाई उपस्थित गराई ढिके नुनका बेफाइदा तथा आयोडिन नुनको फाइदा र खाने तरिकाका बारेमा चेतना फैलाउन थालेको छ ।

ग्रामीण क्षेत्रका समुदायमा आयोडिन नुनको प्रयोग गर्न नजानेर ढिके नुन प्रयोग हुन थालेपछि चेतना जगाउनुपरेको स्वास्थ्य चौकी स्युना रास्कोटका अहेब ज्ञानेन्द्र पाण्डेले बताउनुभयो ।
जिल्लाका अधिकांश समुदायमा आयोडिन नुनको प्रयोगमा कमी हुने गरेको बताइएको छ । अहेब पाण्डेका अनुसार नेपालमा ४० प्रतिशत समुदायले ढिके नुन प्रयोग गर्ने गरेका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रमा बिक्री वितरण केन्द्र नभएकाले समुदायले ढिके नुनको प्रयोग गर्ने गरेको बताइएको छ । ढिके नुन जहाँतहीँ खोजेको समयमा उपलब्ध हुुने भएकाले अधिकांश समुदायले प्रयोग गर्ने गरेको स्युनाका स्थानीय व्यापारी हस्त शाहीले बताउनुभयो ।

राज्यले आयोडिन नुनका लागि सदरमुकाममा मात्र बिक्री केन्द्र राखेकाले सदरमुकाम आसपासका समुदायले मात्र लिने गरेको र टाढाका समुदायका लागि एकजना बराबर पाँच पाकेटमात्र दिँदै आएको साल्ट ट्रेडिङ कर्पोरेसन बिक्री केन्द्र मान्मले जनाएको छ ।
कालीकोट जिल्लामा ढिके नुन बिक्री गर्ने व्यापारीलाई समेत जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले अन्तक्र्रिया कार्यक्रम गर्दै बिक्री वितरणमा कमी ल्याउन अनुरोधसमेत गरेको छ । खिन, बदालकोट, स्युनालगायतका स्वास्थ्य संस्थामा जनचेतना जगाइएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १६ गते मंगलबार