भारतीय सिमेन्ट माथिको निर्भरता घट्दो



Cimentधनगढी, ८ चैत । भारतबाट आयात हुने सिमेन्ट माथिको निर्भरता यस क्षेत्रमा घट्न थालेको छ । स्वदेशमा उत्पादित सिमेन्टको माग बढेपछि भारतबाट आउने सिमेन्ट माथिको निर्भरता घटेको हो ।

भारतबाट भित्रिने सिमेन्टको मूल्यको तुलनामा नेपालमा उत्पादित सिमेन्ट सस्तो र गुणस्तर भएकाले बजारमा नेपाली सिमेन्टको माग बढेको देखिएको स्थानीय हरिदत्त भट्ट बताउँछन् ।

यस क्षेत्रमा निर्माण हुने सबैखाले संरचनामा डेढ दशकअघिसम्म भारतबाट आयात गरिने सिमेन्ट नै बढी प्रयोग हुने गरेको थियो । कैलाली भन्सार कार्यालयको तथ्याङ्कमा पनि विगत केही वर्षयता भारतबाट भित्रिने सिमेन्टको परिमाण बर्सेनि घट्दै गएको देखाएको छ ।

कार्यालयका अधिकृत राजेन्द्र थापाले आर्थिक वर्ष २०७०÷७१ मा भारतवाट चार करोड ८७ लाख १३ हजार ७०० किलो सिमेन्ट आयात भएकामा आव २०७१/७२ मा यसको परिमाण घटेर एक करोड ९८ लाख ६३ हजार ५०० किलो आयात भएको जानकारी दिए । चार वर्षको अवधिको तुलना गर्दा आव २०७२/७३ मा आयात हुने सिमेन्टको परिमाण केही बढेको देखिए पनि भारतबाट आउने सिमेन्टको परिमाण बर्सेनि घट्दै गएको छ ।

नेपालमा लामो अवधिसम्म भएको बन्दका कारण स्वदेशी सिमेन्ट बजारमा आउन नपाएपछि चालु आवमा भारतबाट सिमेन्ट आयातको परिमाण बढेको हुन सक्ने बताइएको छ । यस क्षेत्रमा डेढ दशकअघिको तुलनामा सङ्ख्यात्मक रुपमा भौतिक संरचना निर्माण पनि बर्सेनि बढ्दै गएका छन् । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ चैत ८ गते सोमबार