बर्दिया, फागुन २४
जन्ती बोकेको बस पल्टदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । २० जना भन्दा बढी घाइते भएका छन् । जिल्लाको धधवार गाविस वडा नं–७ दुद्धाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती गएको भे १ ख ८५४ नम्बरको बस वेहुली लिएर फर्किँदै गर्दा शानिबार राति करीव साढे ९ बजे बबई नगरपालीका–६ सैनवारको जम्ती खोला पुल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी जन्ती गएका धधवार–७ दुद्धाका १७ वर्षीय विष्णु थारु, वर्ष १९ का सन्तोष थारु, वर्ष १९ का निरज थारु र वर्ष १४ का अरुण थारुको ज्यान गएको ईलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । वेहुला वेहुली भने जिपमा सवार थिए । बसको भित्र र छतमा गरि करिव ७० बढी जन्ती थिए ।
घाइते २० जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
घटना पछि दुलाहाको गाउँ दुद्धधा शोकमग्न भएको छ । दुर्घटना ज्यान गुमाउने सबै दुलाहा छिमेकी एवं घनिष्ट साथी हुन् ।
घटना गाउँको बिचमा भएकाले समयमै स्थानियले घाइतेहरुको उद्धार गरेको थिए । मृत्यु हुने चारै जनालाई बसले च्यापेको थियो । गाउँले आएर बसलाई ठाडो परेपछि उनीहरुको शव देखिएको स्थानिय हैरमवा थारुले बताए । पल्टिन लागेको बसबाट ज्यान जोगाउन छतबाट हाम फल्दा पल्टेको बसले किच्दा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । बसका चालक नारायण पौडेल इलाका प्रहरी कार्यालय भुरीगाउँको नियन्त्रणमा छन् ।
चालकले मदिरा सेवन गरेको हुँदा गाडी अनियन्त्रित भई सडकबाट तल खसेको जन्ती मध्येका एक रतनबहादुर चौधरीले बताए । ‘भित्र र छत माथि जन्ती खचाखच थिए । चालकले ग्रेवल बाटोमा पनि बेसुरमा गाडी हेकेका थिए,’ जन्ती रतनबहादुर चौधरीले घटना सुनाउँदै भने, ‘एक्कासी अगाडी सामान्य खाल्डो आयो । गाडी नियन्त्रण हुन सकेन । अनी तल खेतमा खस्यो ।’ जन्तीले पटकपटक गाडी बेस्सरी नहाक्न अनुरोध गर्दा पनि चालकले नमानेको चौधरीले बताए ।
चालकले मदिरा सेवन गरेको जन्तीले बताए पनि प्रहरीले भने चालकले मदिरा सेवन गरेको नपाइएको बताएको छ । ‘हामीसँग मदिरा सेवन गरे नगरेको जाँच गर्ने मेसिन त छैन । तर, सामान्यतया हेर्दा मदिरासेवन गरेको जस्तो लागेन,’ इलाका प्रहरी कार्यालय भुरिगाउँका सई दुर्गाप्रसाल भट्टले भने ।
आवश्यक परे जिल्लामा लगेर जाँच गरिने सई भट्टले बताए । क्षमता भन्दा बढी मानिस चढेको बस कच्ची सडकको खाल्डोमा चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्