20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अवैध हातहतियार संकलन गर्दै बाँके निकुञ्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२  

संकलन गरिएको हातहतियार प्रहरीलाई हस्तान्तरण

केशव राना
कोहलपुर, फागुन १८
खासकुस्मा ४ सौरीबाट बरामद गरिएको अवैध हातहतियारहरु बाँके राष्ट्रिय निकुञ्जले जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै निकुञ्जले भरुवा बन्दुक १८ थान र नाल मात्र ३ थान हस्तान्तरण गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकको उपस्थितिमा निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राइलाई बरामद हातहतियारहरु हस्तान्तरण गरेका हुन् । माघ १३ गते साँझ पौने ८ बजे निकुञ्जका कर्मचारी र वन रक्षकको संयुक्त गस्ती टोलीले खासकुस्मा ४ सौरी नजिक निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जंगलमा शिकार गर्नका लागि तयारी हालतमा बसेका २ जनालाई अवैध हातहतियार सहित पक्राउ गरेको थियो । भरुवा बन्दुक सहित खासकुस्मा ४ का रेशम बुढाथोकी र सोही ठाउँका लोकमणि ओलीलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ ।
उनीहरुकै सूचनाका आधारमा माघ १४ गते सौरी तथा आसपासका गाउँमा खोजतलास गर्दा भरुवा बन्दुक १० थान र आखेटोपहार सहित १० जनालाई पक्राउ गरिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा अवैध हातहतियार अझैं पनि हुन सक्ने देखिएपछि निकुञ्जले हातहतियार संकलन अभियान थालेको हो ।
फागुन ७ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले फागुन महिनाभरी अवैध हातहतियार संकलन गर्ने निर्णय गरेको निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनले निकुञ्जको अग्रसरतामा प्रचारप्रसारका साथै अवैध हातहतियार संकलन कार्य भैरहेको र संकलन भएका हातहतियार सरोकारवाला निकायलाई बुझाउने बताएका छन् ।
यता मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुनले मध्यवर्ती क्षेत्रभित्र रहेका गाउँहरुबाट फागुन महिनाभित्र अवैध हातहतियार संकलन गर्नका लागि पहल गर्ने बताएकी छन् । उनले अवैध हातहतियार भएका खण्डमा निकुञ्जलाई बुझाउन आग्रह समेत गरेकी छन् ।
निकुञ्ज क्षेत्रलाई अवैध हातहतियार रहित क्षेत्र बनाउनका लागि हातहतियार संकलन अभियान थालेको निकुञ्जले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले बैध हातहतियारको पनि लगत राख्न निकुञ्जलाई सुझाव दिएका छन् ।
स्थापनाकालदेखि ४१ मुद्दा दर्ता
निकुञ्ज स्थापनाकालदेखि हालसम्म वन्यजन्तु चोरी शिकार एवं वन पैदावारको अवैध संकलन तथा निकासी सम्बन्धी ४१ वटा मुद्दा दर्ता भएको छ । १९ वटा मुद्दा फैसला भइसकेको र २२ मुद्दा अदालती प्रक्रियामा सारिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । निकुञ्ज क्षेत्रबाट बाघको चोरी शिकार नभएको तर, आहारा प्रजातीको भने शिकार हुने गरेको भण्डारीले स्वीकारेका छन् । चोरी शिकार पहिले भन्दा निकै कम भएको उनले बताए ।
बाघको संख्यामा वृद्धि
विश्वमै दुर्लभ पाटे बाघको संरक्षण गर्ने प्रतिवद्धता अनूरुप स्थापना भएको बाँके निकुञ्जमा बाघको संख्यामा वृद्धि भएको अनुमान गरिएको छ । गतवर्षको क्यामरा ट्रयापिङ्गमा ६ वटा बाघहरुको तस्विर देखा परेको निकुञ्जले जनाएको छ । अबको केही दिनमा पुनः क्यामरा ट्रयापिङ्ग मार्फत बाघ गणना गरिने निकुञ्जको भनाई छ । ‘अबको केही दिनमा बाघको गणना कार्य शुरु हुन्छ’ निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने ‘बाघको संख्यामा वृद्धि हुने अनुमान गरेका छौं ।’ साथै आहार प्रजातीको संख्यामा पनि वृद्धि भएको उनले बताएका छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १८, २०७२     5:38:04 PM  |