26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

हिउँदे वर्षा नभएपछि खेत बाँझै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२  

कोहलपुर, माघ २२
्हिउँदे वर्षा नभएपछि बाँकेका अधिकांश खेतहरु बाँझै रहेका छन् । उर्वरभूमि यसरी बाँझै भएपछि बाँकेका किसानहरु खाद्य अधिकारबाट बञ्चित हुने चिन्तामा छन् ।
न्यून सिँचाई सुविधा रहेको बाँके जिल्लामा वर्षायाममा समेत पर्याप्त वर्षा नहुँदा धान उत्पादन ह्वातै घटेको तथ्याङ्क जिल्ला कृषि विकास कार्यालय बाँकेले राखिरहेकै बेला हिउँदे बाली गहुँ पनि अधिकांश किसानहरुले लगाएका छैनन् । वर्षे र हिउँदे दुबै खेती बिग्रिएपछि किसानहरुलाई के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।
बाँके खजुराखुर्द–९ का किसान शत्रुधन अहिर यसपाली लामो खडेर भएका कारण मूख्य बाली धान र गहुँ खेती हुन नसकेको दुखेसो पोख्छन् । वर्षातमा धानलाई चाहिने पर्याप्त पानी नहुँदा सुकेर गएको र हिउँदमा त गहुँ खेती नै लगाउन नसिकएको भन्दै उनले सिँचाई सुविधा र तत्कालका लागि किसानहरुलाई राहत उपलब्ध गराउन सरकासंग माग गरे ।
२८ प्रतिशत मात्र सिँचाई सुविधा रहेको बाँके जिल्लाका सिंचाई नहुने ठाउँका अधिकांश किसानहरुको पीडा अहिरको जस्तै छ । बाँके बेतहनीका किसान आज्ञाराम नाउ वर्षायामबाटै किसानहरुले आकाशे भरको खेती गर्नुको पीडा खप्दै आएको बताउँछन् । उनले लगाएको धानबाली सुकेर गएको र सिंचाई नभएकै कारण गहुँ खेती लगाउन नसकिएको दुखेसो पोखे ।
बेतहनी–३ का अर्का किसान बुद्धिराम यादवले धान र गहुँ दुबै मूख्य बाली भित्र्याउन नसक्दा किसानहरु ठूलो मर्कामा परेको बताउँदै सरकारले राहतको प्याकेज उपलब्ध गराउनुका साथै सिँचाईको व्यवस्था छिटोभन्दा छिटो गराउनका लागि माग गरे ।
यता, जिल्ला कृषि विकास कार्यालय, बाँकेका बाली विकास अधिकृत हश्मुल्ला खाँ यसपटक १६ प्रतिशतले धान उत्पादनमा ह्रास आएको र गहुँ खेतीसमेत सिँचाई अभावका कारण हुन नसक्दा अन्न उत्पादनमा कमी आउने बताउँछन् । उनले यसपटक अन्यत्र पठाउनका लागि उत्पादन हुने अवस्था नगरेको बताए ।
कूल ५२ हजार ८ सय ३८ हेक्टर खेतीयोग्य जमिन रहेको बाँके जिल्लामा ३६ हजार ५ सय हेक्टरमा मूख्य बालीका रुपमा धान र १९ हजार हेक्टरमा गहुँ खेती लगाइने गरे पनि यसपाली घट्दो क्रममा रहेको छ । उर्वरभूमि रहेको बाँके जिल्लालाई हराबरा गराउन सिक्टा सिँचाई निर्माणधीन अवस्थामा रहे पनि हाल भने सिञ्चित क्षेत्र एकदमै कम छ ।

प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२     11:21:45 AM  |