नेपालगन्ज, २१ माघ – राजधानीबाहिर देशकै सबैभन्दा ठूलो सभागृह र व्यावसायिक भवन नेपालगन्जमा निर्माण गरिने भएको छ । कारकाँदोस्थित सडक विभागको मैदानमा सो सभागृह निर्माण गरिने नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
प्रदेश नम्बर ५ को केन्द्रबिन्दु नेपालगन्जमा बहुद्देश्यीय सभागृह र प्रदेशस्तरको व्यावसायिक भवनको अभाव लामो समयदेखि महसुस भएकाले भवन निर्माण गर्न लागिएको संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । सभागृह निर्माणका लागि सरकारले कारकाँदोस्थित सडक विभागको जग्गा लिजमा लिइएको छ । निर्माणका लागि केही वर्षयता दाताको खोजी गरिए पनि नपाइएपछि औद्योगिक महोत्सव आयोजना गरेर त्यसबाट बचत भएको रकमले निर्माण सुरु गर्ने योजना रहेको उनले जनाए ।
२ वर्षअघि आयोजित महोत्सवबाट संघले ५० लाख रुपैयाँ बचत गरेको जनाउँदै संघका अध्यक्ष श्रेष्ठले यसपटक ८५ लाख रुपैयाँ बचत गर्ने र सरकारले दिएको ५० लाखसमेत मिलाएर करिब २ करोडबाट सभागृह निर्माण थालिने बताए ।
माघ अन्तिममा क्षेत्रीय औद्योगिक महोत्सव
सभागृह निर्माणका लागि संघको आयोजनामा नेपालगन्जमा माघ २१ देखि फागुन २ सम्म मध्यपश्चिम क्षेत्रीय औद्योगिक महोत्सव सञ्चालन गरिने भएको छ । पहिलोपटक क्षेत्रीयस्तरको सरकारी मान्यता पाएको महोत्सवलाई भव्य र ऐतिहासिक बनाइने संघले जनाएको छ ।
३०० स्टल रहने महोत्सवमा ५ देखि ७ करोडको कारोबार हुने तथा करिब ८५ लाख रुपैयाँ बचत गरिने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । मध्यपश्चिमका विभिन्न जिल्लाका करिब ५ लाख मानिसले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सव तयारीका लागि संघले २३ वटा उपसमिति गठन गरेको छ । ९० प्रतिशत तयारी सम्पन्न भएको संघका महासचिव विष्णु लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्