18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्वास्थ्य चौकीमा न्यानो झोला अभाव हुँदा शिशुलाई जोखिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२  

डडेल्धुरा, माघ २१ गते । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा न्यानो झोलाको अभाव हुँदा शिशुहरुलाई जोखिम बढेको छ । न्यानो झोलाका अभावमा नवजात शिशुका परिवारले घरबाट ल्याएको कपडामा बच्चा राख्दा चिसोका कारणले विभिन्न किसिमका रोगको सङ्क्रमण हुनुका साथै न्यानो कम हुने भएकाले जोखिम बढेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले टेन्डरमार्फत एक हजार न्यानो झोला खरिद गरेको भएपनि समयमा झोला आइनपुग्दा नवजात शिशुलाई समस्या आउन सक्ने चिकित्सक बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले न्यानो झोला खरिद प्रक्रिया सुरु गरेको झन्डै दुई महिना बितिसक्दासम्म पनि जिम्मेवारी पाएको ठेकेदारले खरिद नगरेकाले स्वास्थ्य चौकीमा न्यानो झोलाको अभाव भएको हो ।

डडेल्धुरा जिल्लामा रहेका १८ स्वास्थ्य चौकीसहित जोगबुढा अस्पतालमा एक महिनाभन्दा पहिलेदेखि नै न्यानो झोलाको अभाव भएको छ ।

बच्चा जन्मेपछि आफूले पसलबाट किनेको कपडामा बच्चा राखेको जोगबुढाकी एक सुत्केरी महिलाले बताइन् । न्यानो झोला नहुँदा बच्चा जन्मदा सुत्केरी महिलाले घरबाटै ल्याएको कपडा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । रासस

प्रकाशित मितिः बिहिबार, माघ २१, २०७२     1:39:39 PM  |