28 November 2020  |   शनिबार, मंसिर १३, २०७७

‘खुकुरी’ पछि ‘खुर्पा’ लिएर आउँदै किशोर  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १९, २०७२  

19 माघ,

काठमाडौं, माघ १९ । ‘खुकुरी’ धेरैलाई थाहा छ, भनिन्छ, खुकुरी वीर गोर्खालीको सान हो । करिब एक दशकअघि निर्देशक किशोर सुब्बाले यिनै खुकुरीमाथि चलचित्र बनाएका थिए । चलचित्रको नाम थियो, खुकुरी नै ।

अहिले यिनै निर्देशक अर्थात् किशोर सुब्बाले चलचित्र ‘खुर्पा’ बनाएका छन् । यो चलचित्रको प्रदर्शन मितिसमेत तय भइसकेको छ । ‘खुर्पा’ आउँदो फागुनबाट एकसाथ देशभर प्रदर्शनमा आउँदैछ ।

खुकुरी पछि चलचित्र ‘खुर्पा’ निर्देशन गरेका किशोरका यतिखेर राजधानीमा छन् । उनी ‘खुर्पा’ को प्रचार–प्रसारका लागि झापाबाट राजधानी आएका हुन् । निर्देशक किशोरका अनुसार ‘खुर्पा’ नारी प्रधान एक्शन चलचित्र हो । हुन त उनको ‘खुकुरी’ पनि एक्शन प्रधान नै थियो ।

तर, ‘खुकुरी’ पुरुषप्रधान थियो भने ‘खुर्पा’ नारी पात्र केन्द्रित छ । ‘नामैले खुर्पा नारी प्रधान हो भन्ने खुल्छ’ खुर्पाबारे स्पष्ट पार्दै किशोर भन्छन्, ‘खुर्पा गाउँघरका महिला अर्थात् नारीले बोक्ने हतियार हो । किशोर एक्शन प्रधान चलचित्र बनाउन रुचाउँछन् भन्ने बुझ्न ‘खुकुरी’ र ‘खुर्पा’ नै काफी छ । त्यस्तै, आफ्नो आगामी चलचित्र पनि एक्शन नै हुने उनले बताए । खुर्पापछि उनको खुँडा नामक चलचित्र निर्माण हुने तयारी रहेको छ ।

‘खुर्पा’ चार जनाको लगानी तयार भएको चलचित्र हो । जसमा हस्त लिबाङ मुख्य निर्माता रहेका छन् । त्यस्तै, ‘खुर्पा’ मा विराज आङ्देम्बे, विशाल थेबे र पदम चेम्जोङको पनि लगानी छ । करिब ५० लाख रुपैयाँ लगानीमा ‘खुर्पा’ तयार भएको किशोरले बताए ।

‘अहिले प्रमोसनमा खर्च भइरहेको छ’ किशोरले भने, ‘निर्माण प्रारम्भदेखि प्रमोसनसम्म आइपुग्दा करिब ५० लाख रुपैयाँ खर्च भएको छ ।’ तर, यतिका रकम खर्च भए पनि उनी आफ्नो चलचित्रले लगानी उठाउँछ भन्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘यसपटक चाहिँ हामी शेफ हुन्छौ भन्ने मलाई पूर्ण विश्वास छ किनकि केही स्थानमा हामीले च्यारिटी समेत गरिसकेका छौं भने अझै गर्नेछौं ।’ चलचित्र ‘खुर्पा’ मा पुष्पा लिम्बूको भरपूर्ण एक्शन देख्न सकिने किशोरले बताए ।

पुष्पाको को–एक्टरमा सविन श्रेष्ठ छन् । त्यसैले ‘खुर्पा’ मा एक्शन मात्र नभइ प्रेम र रोमान्स पनि पाउन सकिने छ । साथै चलचित्रमा रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का सिमान्त उदास, युवराज लामा, हस्त लिबाङ र पुष्प श्रेष्ठको पनि मुख्य अभिनय छ । संगीत निरज कुमार, नृत्य गोविन्द राई र द्वन्द्व शंकर महर्जन रहेको ‘खुर्पा’ लाई कुमार बखतीले खिचेका हुन् । फिल्म फाल्गुन १४ गतेबाट देशभर प्रदर्शन हुदैछ ।

प्रकाशित मितिः मङ्लबार, माघ १९, २०७२     1:12:30 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *