20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कांग्रेसका महाधिवेशनको आजबाट शुरुवात,गाउँ र नगरको अधिवेशन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२  

काठमाडौ १५ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आजदेखि औपचारिक रुपमा १३ औँ महाधिवेशनमा प्रवेश गरेको छ । महाधिवशेनका लागि आज कांग्रेसको तल्लो तहको समिति गाउँ,नगरको अधिवेशन हुँदै छ ।

अधिवेशनले आगामी चार वर्षका लागि गाउँ र नगर समिति चयन गर्ने छ। यस्तै शुक्रवार गाउँ र नगर समितिको निर्वाचनबाट क्षेत्रिय समितिको नेतृत्व चयन गर्न क्षेत्रिय प्रतिनिधिको पनि छनोट पनि हुनेछ।

पार्टी विधानअनुसार गाउँ अधिवेशनबाट सभापति, सचिव, कोषाध्यक्ष र आठ सदस्य प्रत्यक्ष चुन्नेछ। अधिवेशनले समितिमा कम्तीमा दुई महिला, दलित, आदिवासी जनजाति एक–एकजना, मधेसी, मुस्लिम, अल्पसंख्यक वा पिछडिएको वर्गको प्रतिनिधित्व गराउँदै ९ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ।

शुक्रवार हुने गाउँ र नगर समितिको अधिवेशनले ३ हजार १ सय ५७ गाविस, २ सय १७ नगर वडाबाट झन्डै साढे एक लाख क्षेत्रीय प्रतिनिधि तथा स्थानीय नेतृत्व चयन गर्ने निर्वाचन समितिले जनाएको छ।

विधान अनुसार क्षेत्रीय सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् भने कम्तीमा दुई महिला, एक–एकजना दलित जनजाति, एकजना अल्पसंख्यक, मधेसी, मुस्लिम, पिछडा वर्गसहित ११ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ।
गाउ,नगर सकिएपछि क्षेत्रीय समितिको यहि २२ र जिल्ला समितिको २५ गने अधिवेशन हुदैछ । आजदेखि शुरु हुन थालेको अधिवेशनका लागि नेताहरु जिल्ला दौडमा लागेका छन् ।
यसपटक कांग्रेसको महावेशनमा ४ लाख ७० हजार ६ सय ५५ जना क्रियाशील सदस्य निर्वाचनमा सहभागी हुँदैछन्।

कांग्रेसको निर्वाचन तालिका अनुसार माघ २२ मा क्षेत्रको र माघ २५ मा जिल्ला कार्यसमितिको निर्वाचन हुनेछ। कांग्रेसको आगामी फागुन २०–२३ सम्म राष्ट्रिय महाधिवेशन हुँंदैछ । देशैभर वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय भएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी छ ।

प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२     11:18:06 AM  |