25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

जिका भाइरसबाट ४० लाख मानिस संक्रमित हुन सक्ने चेतावनी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२  

वासिंटन, माघ १५ । विश्व स्वास्थ्य संगठनले अमेरिकी महादेशमा ३० देखि ४० लाख मानिस जिका भाइरसबाट संक्रमित हुन सक्ने चेतावनी दिएको छ । संगठनले जिका भाइरसको लक्षण तत्काल नदेखिए पनि त्यसको असर बालबालिकाको मस्तिष्कमा पर्ने जनाएको छ ।
जिका भाइरस ब्यापक रुपमा फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले एक आपतकालीन टिम पनि गठन गरेको छ । जिका भाइरसबाट संक्रमित महिलाले जन्माएका शिशुको मस्तिष्क पुर्ण रुपमा विकसित नहुने गरेको पाइएको छ ।
ब्राजिलमा पछिल्लो केहीसमय यता जन्मिएका धेरै शिशु यसबाट संक्रमित भएको र उनीहरुको टाउको सानो भएको देखिएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक माग्र्रेट चानले जिका भाइरसले भयंकर रुप लिएको बताएका छन् ।
संगठनले गठन गरेको आपतकालीन टिमको बैठकले जिका भाइरसलाई इबोला भाइरसकै जस्तो महामारीको रुपमा लिनुपर्ने जनाएको छ । पश्चिमी अफ्रिकाबाट फैलिएको जिका भाइरसबाट विश्वभर ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
यसअघि अमेरिकी वैज्ञानिकहरुले यो भाइरसको तत्काल नियन्त्रण गर्न नसकिए यसले महामारीकै रुप लिन सक्ने चेतावनी दिइसकेका छन् । अमेरिकी देशहरुमा ब्राजिलबाट फैलिएको जिका भाइरसबाट हजारौं मानिस प्रभावित भइसकेका छन् ।
यो भाइरस अन्य २० देशमा फैलिसकेको बताइएको छ । ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफले जिका भाइरसविरुद्ध ल्याटिन अमेरिकी देशहरुलाई एकजुट हुन आग्रह गरेकी छन् । (एजेन्सी)

प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२     10:52:37 AM  |