25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

तनाव दूर गर्ने ११ तरिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२  

Stress-and-the-improvement-with-Yogaतनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पु¥याउँछ । तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ । त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुुस्ः

विश्राम गर्नुस्
काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ । विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ ।

साथीहरूसँग भेट्नुस्
मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइसँग भेटघाट गर्ने गर्नुस् । साथीभाइबीच हाँसखेल चल्छ, जसले तनाव कम गरिदिन्छ । सामान्य बेला पनि फुर्सद निकालेर बेलाबेलामा मिल्ने साथीभाइसँग भेटघाट गर्नु राम्रो हुन्छ ।

अनावश्यक विवादबाट टाढा रहनुस्
सरोकार नभएको विवादमा भरसक मुछिनु हुँदैन । यसो गर्दा अनावश्यक तनाव लिनुपर्दैन ।

पुरानो कुरा बिर्सिन खोज्नुस्
पुरानो कुनै कुराले तपाईंलाई चिन्तित बनाउने गर्छ भने त्यस्तो कुरा बिर्सिने प्रयास गर्नुस् । यसका लागि वर्तमानका अथवा भविष्यका कुरा सम्झिने गर्नुस् । बिस्तारै यस्तो गर्दै जानुभयो भने तपाईं विगतको धङधङीबाट बिस्तारै बाहिर निस्किँदै र तनावमुक्त हुँदै जानुहुन्छ ।

हाँस्नुस्
तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न ‘लाफ्टर थेरापी’ गर्ने गरिन्छ । यसका लागि बिनाप्रयोजन बेस्कन हाँस्ने गर्नुस् । सक्नुहुन्छ भने पेट मिचीमिची हाँस्ने गर्नुस् । यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हार्मोनको उत्सर्जन बढ्छ, जसले गर्दा तनाव स्वतः कम हुन्छ ।

अत्यधिक मदिरापान नगर्नुस्
कुनै कुराले पिर परेको छ अथवा तनाव सिर्जना गराएको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन् । तर, बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ । यसले तपाईंको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ, जसले गर्दा तनाव घट्नुको सट्टा थपिन पुग्छ ।

कफी, चिया कम गर्नुस्
कामका बीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईंलाई अझ तनावमा पार्छ । किनकि, यसले तपाईंको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथै निद्रालाई पनि कम गरिदिन्छ । पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन ।

धेरै भावुक नहुनुस्
एउटा भनाइ छ– अतिले खती गर्छ । स–साना कुराले भावुक बनाउने गरेको छ भने तपाईं तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ । यदि, आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ ।

डाक्टरसँग परामर्श लिनुस्
यदि तपाईंलाई बढी नै तनाव हुन्छ र यसले निदाउन नदिने गर्न थालेको छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ । डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ । डिप्रेसन भएको रहेछ र समयमै औषधि खानुभएन भने तपाईंको मानसिक स्वास्थ्य अझ बिग्रिँदै जान सक्छ ।

छदेखि आठ घण्टासम्म सुत्नुस्
जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ । छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईंको मन स्वस्थ रहन सक्दैन । तनावग्रस्त अवस्थामा हुनुहुन्छ भने त अझ निद्राको अवधि पूरा होस् भन्नेमा चनाखो बन्नुपर्छ ।

नियमित व्यायाम गर्नुस्
योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ । रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईंलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ ।

प्रकाशित मितिः मङ्लबार, माघ १२, २०७२     2:29:29 PM  |