nmcकाठमाडौं– मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्सिङ) परीक्षामा लगातार ३ वर्ष फेल भएका विद्यार्थीले परीक्षा दिन नपाउने प्राबधान ल्याउने तयारी गरेको छ । काउन्सिलले चिकित्सकको गुणस्तर प्रश्न उठिरहेका बेला लाइसेन्सिङ परीक्षामा कडाइ गर्न खोजेको हो । काउन्सिलका रजिस्टार डा. दिलिप शर्माले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि डाक्टरको योग्यतामा कडाइ गर्नुपर्छ । त्यसैले यस्तो तयारी गरेका हौं ।’
काउन्सिलको लाइसेन्सिङ परीक्षा पास नगरेका डाक्टरले चिकित्सकीय अभ्यास गर्न नपाउने नियम छ । त्यसकारण अहिले लगातार ३१ पटकसम्म फेल भएका डाक्टर समेत काउन्सिलको परीक्षा दिइरहेका छन् । काउन्सिलको परीक्षामा धेरै पटक अनुत्तीर्ण हुने विद्यार्थी एसएलसी मुस्किलले पास भएका र भारतबाट आइएस्सी गरेका रहेको काउन्सिलको तथ्याङ्कले देखाउँछ । भारतबाट आइएस्सी पासको प्रमाणपत्र ल्याउने अधिकांश विद्यार्थीको प्रमाणपत्र पनि नकल्ली हुनसक्ने आशंका गरिएको छ । धेरै पटक फेल हुने अधिकांश विद्यार्थीले एसएलसीमा ५० प्रतिशत भन्दा कम नम्बर ल्याएको पाइएको छ ।
काउन्सिलले वर्षमा ३ पटक एमबिबिएस पास गरेका विद्यार्थीका लागि स्थाई दर्ता परीक्षा दिने पाउन व्यवस्था गरेको छ ।
यसैगरी काउन्सिलले अर्को वर्षदेखी विदेश अध्ययन गर्न जाने विद्यार्थीले अनिवार्य रुपमा नेपालमा कुनै विश्वविद्यालय वा प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा पास गरेको हुनुपर्ने नियम पनि कडाईका साथ लागू गर्ने भएको छ ।
प्रकाशित मिति : २०७२ पुस २१ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्