मुम्बई, पुस १७ । पाकिस्तानी गायक अदनान सामीका लागि नयाँ वर्ष २०१६ निकै खास बनेको छ । वर्षको सुरुवात मै उनले भारतीय नागरिकता पाएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार गायक सामीलाई भारत सरकारले नागरिकता दिएको छ । जनवरी १ देखि लागू हुने गरी उनलाई भारतीय नागरिकता दिइएको हो ।
४६ वर्षीयगायक सामीले भारत सरकारसमक्ष नागरिकताका लागि आग्रह गरेका थिए ।
पाकिस्तानको लाहोरमा जन्मिएका उनी १३ मार्च, सन् २००१ मा पहिलो पटक भारत आएका थिए । त्यतिबेला उनी पर्यटक भिसामा भारत आएका थिए । उनलाई इस्लामावादस्थित भारतीय दुतावासले एक वर्षका लागि भिसा दिएको थियो ।
त्यसयता, पटक–पटक आफ्नो भिसा अवधि थप गर्दै उनी भारतमै बस्दै आएका थिए ।
सामीलाई त्यतिबेला अप्ठ्यारो भयो जब पाकिस्तान सरकारले उनको राहदानी नविकरण गरेन । २७ मे, २०१० मा जारी गरिएको उनको राहदानीको अवधि २६ मे, २०१५ मा समाप्त भएको थियो । त्यसपछि पाकिस्तान सरकारले उनको राहदानी नविकरण गर्न अस्वीकार गरिदियो ।
सामीले भारत सरकारसमक्ष आफूलाई मानवीय नाताले भारतमा वैध रुपमा बस्न अनुमतिको याचना गरेका थिए । सोही अनुरुप भारत सरकारले उनलाई नागरिकता दिएको बताइएको छ ।
‘कभी तो नजर मिलाओ’, ‘लिफ्ट करा दे’, ‘तेरा चेहरा’ जस्ता चर्चित गीत गाएका सामीले सलमान खानको पछिल्लो चलचित्र ‘बजरंगी भाइजान’ का लागि गाएको कब्बाली ‘भर दो झोली मेरी’ पनि खुब रुचाइएको छ ।
प्रतिक्रिया दिनुहोस्