जनता दल युनाइटेडका नेता शरद यादसँग नयाँ दिल्लीमा बैठक गर्दै माेर्चा नेता। तस्विर: मदन ठाकुर
काठमाडौं— मधेसमा जारी आन्दोलन र सरकारसँगको वार्ता त्यसै छाडेर नयाँ दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताले नयाँ दिल्लीमा न्यानो स्वागत पाएका छन्। नेपालको राजनीतिक समस्या समाधान खोज्न भारत सरकारले मोर्चा नेतालाई दिल्ली बोलाएको हो।
होटल ताजमा रहेका मोर्चाका नेतालाई भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने अभय ठाकुरले स्वागत गरेका छन्। स्रोतका अनुसार सरकारी बाहेक अन्य बैठकहरु माेर्चा नेताहरुले यही होटलमा गर्नेछन्।
मोर्चाका नेताले १२ बजे बिहारका राज्य सभा सदस्य एवं जनता दल युनाइटेडका अध्यक्ष शरद यादबसँग भेटघाट गरेका छन्। भेटमा मोर्चा नेताहरु उपेन्द्र यादब, महेन्द्र यादब, महन्थ ठाकुर, राजेन्द्र महतो र चन्दा चौधरी सहभागी भए।
उनीहरुले ४ बजे प्रमुख विपक्षी कांग्रेस नेता करण सिंहसँग भेट गर्ने कार्यक्रम तय भएको छ। उनीसँगको बैठक नाकाबन्दी र तराई आन्दोलन केन्द्रित हुने स्रोतले बताएको छ।
आजै साँझ ५ः३० बजे मोर्चाको टोलीले नेसनलिष्ट कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठीसँग भेट गर्नेछ। राज्य सभा सदस्य त्रिपाठी उत्तर प्रदेशका नेता हुन्।
आजै साँझ ७ः३० बजे मोर्चा नेताहरुसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले छलफल गर्नेछिन्। त्यसपछि सरकार स्तरमा मोर्चाका नेताहरुलाई रात्री भोज दिइनेछ।
माेर्चा र भारतीय पक्षबीच संघीय प्रदेशकाे सिमाङ्कनका विषयमा छलफल हुने बताइएको छ। संविधान संशाेधनमार्फत् झापा, माेरङ, माेरङ सुनसरीलाई २ नम्बर प्रदेशमा राख्न तथा कैलाली कञ्चनपुर सहितको थारुवान प्रदेश निर्माण गर्न नयाँ दिल्लीमा छलफल हुनेछ।
भारतले नेपालको संविधान निर्माण प्रक्रिया रोक्न चाहेको थियो। संविधान सभाले संविधान जारी गरेपछि आक्रोसित बनेको दक्षिणी छिमेकीले नयाँ संविधानलाई असफल पार्न संविधान समावेशी नभएको भन्दै मधेसवादी दलको आवाज समेट्नुपर्ने अडान राख्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्