कोहलपुर, मंसिर १५
खाना पकाउने ग्यासको चरम अभाव भैरहेको फाईदा उठाउंदै बाँकेमा भने खुलेआम कालो बजारी भएको पाइएको छ ।
ग्यास आपुर्ति ब्यवस्था तथा अनुगमन समितिले सोमबार नेपालगन्जमा गरेको अनुगमनमा बजारमा बढी मुल्यमा ग्यास बेचिरहेको फेला पार्ेको छ । ग्यास बिक्रेता संघका अध्यक्ष समेत रहेका दिब्यदेव उप्रेतीले संचालन गरिरहेको शोभा भगवती ग्यास सप्लायर्समा ७ सय ५० रुपैयांमा ग्यास बेचेको अनुगमन समितिले फेला पारेको छ ।
रिक्सा लिएर पसल सम्म आएका एकजना ग्राहकसंग ७ सय ५० रुपैयां लिइरहेको अवस्थामा फेला परेपछि समितिले उप्रेतीलाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटेको छ । बढी मुल्यमा ग्यास बेचेको सम्बन्धमा प्रश्न गर्दा अनुगमन समितिलाई नै ७ सय ५० भन्दा कममा बेच्न नसकिने भन्दै सकेको गर्न बिक्रेता उप्रेतीले चेतावनी दिएको अनुगमन समितिको नेतृत्व गरेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए ।
सरकारले १४ किलो २ सय ग्राम तौलको ग्यासलाई १ हजार ४ सय मुल्यमा बिक्री गर्ने निर्णय गरेको छ । बजारमा चरम अभाव भएपछि ७ किलो १ सय ग्राम ग्यास भर्ने र ७ सय मुल्यमा बेच्न नेपाल आयल निगमले निर्णय गरेको छ । सोमबारको अनुगमनमा धम्बोझी स्थित केपी ग्यास सप्लायर्स र मनकामना ट्रेडर्सले पनि उप्रेतीकै निर्देशनमा ७ सय ५० मुल्यमा ग्यास बेचेको स्विकार गरेका थिए । उनीहरुलाई समेत प्रशासनमा हाजीर हुन अनुगमन समितिले निर्देशन दिएको छ ।
समितिले सोमबार ८ वटा बिक्रेताहरुको पसलको अनुगमन गरेको थियो । निर्धारित मुल्य भन्दा बढी मुल्यमा ग्यास बेच्ने बिक्रेताहरुलाई कानुन बमोजिम कारवाहि हुने अधिकृत पौडेलले बताए । अघिल्लो साता जिल्ला प्रशासन कार्यालयमा बसेको आपुर्ती समितिको बैठकले ग्यास बिक्रीका लागि निश्चित मापदण्ड बनाउंदै अनुगमन समिति गठन गरेको थियो ।
प्रकाशित मिति : २०७२ मंसिर १५ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्