2 December 2020  |   बुधबार, मंसिर १७, २०७७

जीवन चलाउन बालीघरे प्रथालाई निरन्तरता दिँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस ७, २०७२  

सल्यान, ७ पुस । मूलखोला– ५ च्युराका खिमलाल दमाईंले गाउँघरमा कपडा सिलाउन लागेको ५० वर्ष भयो । उहाँले अझै पनि नगदमा कारोबारो गर्नुभएको छैन । दलित समुदायका अगुवा भनेर चिनिने खिमलालको सातजनाको परिवार बालीघरे प्रथाबाटै पालन पोषण हुँदै आएको छ । गाउँघरमा मेसिन लिएर कपडा सिलाउन जाने खिमलालले परिवार हेरेर अन्न उठाउने, त्यही अन्न लिएर घरमा खाने र बढी भएको अन्न बिक्री गरेर अन्य आवश्यक सरसामान खरिद गर्नुहुन्छ । पुर्खाले गरेको पेसालाई अङ्गाल्दा उहाँमा कुनै पश्चाताप छैन बरु अहिलेका सिलाइ सेन्टरलाई चुनौती दिँदै गाउँका धेरै मानिसका कपडा सिलाउँदा उहाँमा गर्व लाग्छ । “परिवार हेरेर दुई पाथीदेखि १५ पाथीसम्म वार्षिक अन्न उठाउँछु अहिलेसम्म परिवारको पालन पोषण चलेकै छ” – खिमलालले भन्नुभयो । उहाँले वर्षभरि १५० घरधुरीका कपडा सिलाउनुहुन्छ । मूलखोला– ५ कै भद्रबहादुर कामीले आरनको काम गर्न लागेको ४० वर्ष भयो । खिमलालको जस्तै उहाँले पनि गाउँमा भएका सबै कृषकलाई फलामे औजार पु¥याउनुहुन्छ । पाँचजनाको परिवारलाई भद्रबहादुरले यसैगरी पाल्नुभएको छ । विवाह, पूजाआजा भएको घरमा थप नगद रुपैयाँ र अन्न पाउनुहुन्छ भद्रबहादुरले । “छोरीको विवाह हुँदा रु पाँच हजारसम्म इष्टले बुझाउँछन् छोराको भए रु एक हजारसम्म थप पाउँछु” – भद्रबहादुरले भन्नुभयो ।

कोटवारा– ९ का ज्ञानबहादुर परियारको पनि खिमलालको भन्दा कत्ति फरक छैन । तीन गाविसका २६० घरका कपडा सिलाउन लागेको ३५ वर्ष भयो । ज्ञानबहादुरको यही पेसाले छोराछोरी हुर्काउनुभयो, पढाउनुभयो । “सुरुमा त प्रतिघर दुई पाथी अन्नले काम चलाउनुपथ्र्यो अहिले भने कहिले नगद र २० पाथीसम्म अन्न पाउँछु”, ज्ञानबहादुरले भन्नुभयो – “पुर्खाले यही पेसा चलाए मैले पनि निरन्तरता दिँदा कुनै दुःख छैन ।”

उहाँले लुगा सिलाउँदा अहिलेसम्म कसैबाट पनि अपमान सहनु नपरेको बताउनुभयो । “लुगा सिलाउन जाँदा कहिले गाउँमै मेसिन लिएर दुई तीन महिनासम्म बस्नुपर्छ त्यतिबेला सबैसँग एउटै परिवार भएर बस्दा आनन्द आउँछ” – ज्ञानबहादुरले भन्नुभयो । गाउँमा रहेका ३० घर सबैले बालीघरे प्रथा चलाएर परिवार पालेको उहाँको भनाइ छ ।
छोराहरु छुट्टिँदा उहाँले आफूले लुगा सिलाउने घरलाई पनि भागबन्डा गर्नुभएको छ । “हामीहरु छुट्टिँदा सबै विष्टहरु बराबर पर्ने गरी भाग लगाउँछौँ र त्यहीअनुसार पछि कपडा सिलाएर अन्न उठाउँछौँ” – ज्ञानबहादुरले भन्नुभयो । परम्परादेखि नै बालीघर प्रथालाई निरन्तरता दिएका यी प्रतिनिधि पात्रहरुले भने झँै पहिले पहिले कामअनुसारको अन्न नपाए पनि अहिले भने पैसामा रकमान्तर गर्दा कुनै फरक छैन । यही पेसा गरेर कतिपयले त अन्न बिक्री गर्ने गरेको बताउँछन् । रासस

प्रकाशित मितिः मङ्लबार, पुस ७, २०७२     11:33:27 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *