गाउँदै देश दौडाहा गायक जीवन शर्मा



मंसिर २१, २०७२- साधारण पहिरन। फुलेको कपाल। हाँसिरहने बानी। यिनै गुणले ५६ वर्ष पार गर्न लाग्दा समेत जनताको मन मस्तिष्कमा बस्न सफल छन् गायक जीवन शर्मा। यति बेला भारतले गरेको नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त छ। सर्वसाधारणलाई छाक जुटाउन समस्या छ। संकटको यो समय उनी जनताको पक्षमा गीत गाउन देश दौडाहामा छन्।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रहेका शर्मा १० जनाको कलाकार टोली लिएर दाङसम्मको यात्रामा निस्किएका हुन्। नाकाबन्दी नखुले सुर्खेतसम्म पुग्ने सोच छ। पोखराबाट सुरु अभियान अहिले नवलपरासी हुँदै चितवनमा जारी छ। ‘जनता र राष्ट्रको गीत गाउँदै हिँड्ने मान्छे हो म,’ नारायाणगढमा भेटिएका उनले भने, ‘जब देश र जनतालाई दु:ख पर्छ, तब उनीहरूकै नाममा गीत गाउँदै हिँड्छु।’ बागलुङको राङखानीमा जन्मिएका शर्मा विद्यालयदेखि नै गीत गाउँथे। २०३२ बाट सांगीतिक यात्रा सुरु गरे। २०४७ मा ‘स्वागत छ हाम्रो पाहुनालाई…’ बोलको पहिलो गीत रेकर्ड गराए।
CVl6uNpWsAAe4IU
‘२०४५ सालको नाकाबन्दीमा भूमिगत थियौं, मझेरीमा टुकी बालेर गीत गाउँथ्यौं,’ उनले भने, ‘त्यो बेला अहिले जस्तो सकस थिएन, २०/३० वर्षको दौरानमा देश पराधीन भइसकेछ।’ उनका झन्डै ८ सय गीत रेकर्ड भइसकेका छन्। ४५ वटा एल्बम निकालिसके। उनी प्राय: आफ्नै शब्द संगीतमा गीत गाउँछन्। ‘पैसा कमाउने उद्देश्य राखेर यो क्षेत्रमा लागेको भए राम्रै कमाइन्थ्यो होला,’ उनले भने, ‘त्यस्तो सोच कहिल्यै पलाएन, जनता जस्ता छन, म त्यस्तै छु।’ उनले गाएका ‘ सिमली छायाँ…’, ‘झरनाको चिसो पानी…’, ‘यसपालि त यस्तै भयो आमा…’ दर्शकश्रोताले बढी मन पराएका गीत हुन्।

अनामनगर काठमाडौंमा डेरा गरी बस्ने उनका ३ छोरा र एक छोरी छन्। बाँचुन्जेल देश र जनताको नाममा गीत गाउने वाचा गरेका उनी जनताको हित गर्ने गीत मात्र गाउने बताउँछन्। पत्नी नीलिमा पुन पनि गायिका भएकाले परिवारबाट राम्रो सहयोग मिलेको छ। ‘ऋण/धन गरेर अहिलेसम्म जीवन चलेको छ,’ उनले भने। उनले नाकाबन्दीविरुद्ध देशव्यापी जन सांगीतिक अभियान सुरु गर्ने क्रममा चितवन आएको बताए।

  • No tags available
प्रकाशित मिति : २०७२ मंसिर २१ गते सोमबार