काठमाण्डु, १४ मंसिर–सँधै हिन्दी फिल्मको व्यापारको वर्चस्व रहने नेपालमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘कबड्डी कबड्डी’ले उल्लेख्य व्यापार गरेको छ । रामबाबु गुरङले निर्देशन गरको यस फिल्मले प्रदर्शनको दुई दिनमा लगभग १ करोड २६ लाख रुपैयाँ कमाएको छ ।
kabaddi kabaddi poster-final
सोही दिन प्रदर्शनमा आएको अर्को हिन्दी फिल्म ‘तमाशा’लाई जितेर ‘कबड्डी कबड्डी’ काठमाण्डुमा मात्रै पहिलो दिनमै ३८ लाख बराबरको व्यापार गरेको थियो भने मोफसलमा १६ लाखको टिकट बिक्री भएको वितरक कम्पनीका प्रचण्डमान श्रेष्ठले कान्तिपुर पत्रिकासँगको कुराकनीमा भनेका छन् ।
प्रचण्डले शुक्रबार र भोलिपल्टको फिल्म ‘कबड्डी कबड्डी’को कमाई सजिलै करोड नाघेको बताएका छन् । मोफसलका हलहरुमा पनि आक्रमक व्यापार गरिरहेको फिल्म पूर्वमा दमक, विर्तामोडका हलहरुमा अझैँ लाग्न बाँकी नै छ । ती हलहरुमा सोमबारदेखि नै फिल्म लाग्ने वितरक कम्पनी पपकर्न पिक्चर्सले जनाएको छ ।
नेपाली ब्लकबस्टर फिल्म ‘कबड्डी’को सिक्वेलमा बनेको ‘कबड्डी कबड्डी’मा दयाहाङ राई, सौगात मल्ल तथा रिष्मा गुरुङको मुख्य अभिनय रहेको छ । राजनीतिक पृष्ठभूमिमा कमेडी स्वाद चखाउने ‘कबड्डी कबड्डी’ले रणबीर कपूर–दीपिका पादुकोणको फिल्म ‘तमाशा’लाई व्यापार र सो दुवैमा टक्कर दिएको छ ।
भारतको अघोषित नाकाबन्दीको मार खेपी रहेका नेपाली दर्शकहरुले भारतीय टेलिभिजन र फिल्म बन्द गर्ने माग चलिरहेको बेला नेपाली फिल्मले पनि हिन्दी फिल्मलाई बद्ला लिइरहेको छ । ‘कबड्डी कबड्डी’को लोभलाग्दो र आक्रमक व्यापारले हिन्दी ‘तमाशा’लाई सीमित गरिदिएको छ । यहि गतिमा व्यापार गर्दै जाने हो भने फिल्मले तीनदेखि चार करोडसम्म कमाई गर्ने अनुमान लगाइएको छ ।
प्रकाशित मिति : २०७२ मंसिर १४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्