5 December 2020  |   शनिबार, मंसिर २०, २०७७

मधेस आन्दोलन र नाकाबन्दी सुल्झाउन सत्तारुढ दलको यस्तो प्रयास  

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२  

काठमाडौं, मंसिर १० । मधेस केन्द्रीत दलको आन्दोलन र भारतीय नाकाबन्दीका कारण मुलुकको जनजीवन अस्तव्यस्त बन्दै गएपछि सत्तारुढ दलले समस्या समाधानमा सक्रियता बढाएका छन् ।

मधेस केन्द्रीत दलहरुसँग अनौपचारिक छलफलपछि ठोस सहमति गर्ने प्रयासस्वरुप सत्तारुढ दलहरुले सक्रियता बढाएका हुन् ।

मुलुककासमस्या तत्काल समाधान गर्न विशेष गरी प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक र आन्दोलनरत पक्षसँगको संवाद बढाएका हुन ।

उनीहरुले आन्दोलनरत मधेसी दलहरुसँगको अनौपचारिक छलफललाई तिव्रता दिएका छन् । प्रधानमन्त्री ओलीले मधेसी दलहरुसँग सहमतिका लागि उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका एकीकृत माओवादीका अध्यक्ष दाहाललाई जिम्मेवारी दिएका छन् ।

संयोजक दाहालले मधेस केन्द्रीत दलहरुसँग पटकपटक अनौपचारिक छलफल गरिसकेका छन् । उनले सहमतिका लागि विभिन्न विकल्प पनि प्रस्तुत गरेको बताइएको छ ।

ती विकल्पमाथि सकारात्मक छलफल भएको बताइएको छ । मधेसी दलहरुसँग भएका छलफलबारे उनले प्रधानमन्त्री ओलीलाइसमेत जानकारी दिइरहेका छन् ।

तर अनौपचारिक छलफलमा भएका विषयलाई सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमति लिएर मात्र मधेसी दलहरुसँग ठोस वार्ता गर्ने तयारी भएको छ ।

मधेसी दलहरुसँग सहमति भएपछि मात्र मुलुकको संकट समाधान हुने निष्कर्षमा सत्तारुढ दल पुगेकाले अब चाँडै सहमति हुने आशा नेताहरुले लिएका छन् ।
यसक्रममा सत्ता पक्ष सीमांकन हेरफेरमा समेत लचिलो हुन तयार रहेको तर पहाड र मधेसलाई पूर्णरुपमा छुट्याउन भने सहमत नभएको स्रोतहरुले जनाएका छन् ।

प्रकाशित मितिः बिहिबार, मंसिर १०, २०७२     10:54:36 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *