वीरेन्द्रनगर ।
उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम, प्रादेशिक कार्यक्रम व्यवस्थापन कार्यालय (आरएचभिएपि)को अस्थायी कार्यालय स्थापना भएको छ। सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कार्यालयको सुभारम्भ गरेका हुन् । मन्त्री शाहले यस कार्यालयको स्थापना अर्को व्यवस्थापन नभएसम्मका लागि अस्थायी कार्यालयको रूपमा रहने बताए ।
कर्णाली प्रदेशमा कार्यान्वयनको चरणमा रहेको यस कार्याक्रमले प्रदेशको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान प्रदान गर्ने उनको विश्वास छ । निर्वाहमुखी कृषि प्रणालीलाई नाफामुखी कृषिमा रुपान्तरण गर्नुका साथै कर्णालीको रैथाने बालीको सम्वद्र्धन गरी प्रयावरणमैत्री कृषि उत्पादन र बजारीकरणको व्यवस्थापन गर्ने कार्यक्रमको लक्ष्य छ । मन्त्री शाहले यस कार्यक्रमबाट साना किसानहरूको आयस्तरमा वृद्धि भइ किसानहरूको जीवनस्तरमा सुधार र कृषि तथा पशुपन्छी क्षेत्रको विकाससँगै रोजगारी सिर्जना हुने जानकारी दिए ।
मन्त्रालयका सचिव परशुराम रावतका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०८१–०८२ देखि २०८९–०९० सम्म आठ वर्षसम्म सञ्चालन हुनेछ । कर्णाली प्रदेशमा एक प्रादेशिक कार्यक्रम सुर्खेत र जुम्ला तथा जाजरकोटमा कोरिडर कार्यालयहरू रहने उनले बताए । उनले भने, ‘यसबाट गरिबी न्यूनीकरण गर्न, साना किसान परिवारको उत्थानशीलता अभिवृद्धि तथा सुधार तथा साना किसानहरूको कृषि प्रणालीलाई लाभकारी, समावेशी र प्रायावरणमैत्री बनाइ दिगो खाद्य प्राणालीमा रुपान्तरण गर्न सहयोग गर्ने उदेश्य छ ।’
यो कार्यक्रम कर्णाली प्रदेशका आठ जिल्लाका ३२ वटा पालिकामा लागु हुनेछ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (ईफाड)ले आर्थिक सहयोग रहेको यो कार्यक्रम संघ, प्रदेश, स्थानीय तह र लाभग्राही उत्पादक÷उद्यमीसँग मिलेर सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्