सञ्चालन अनुमतिबिनै चल्छन् स्पा



वीरेन्द्र जैसी । नेपालगन्ज ।

‘टिनको छानामुनि सटरमा दुईवटा कोठा रैछन् । एउटा कोठामा दुईवटा बेडहरू रैछन् । पर्दाले बारेर क्याबिनहरू बनाएका रहेछन् । त्यसैमा दुईजना केटी थिए । एकजना महिला काउन्टरमा बसेकी थिइन् । एकजना गार्ड ढोकाबाहिर थिए,’ स्पा सेन्टरमा सेवा लिएर फर्किएको बताउने त्रिभुवन चोकमा भेटिएका एक व्यक्तिले त्यहाँको वातावरण वर्णन गर्दै भने, ‘भित्र पुगेपछि पहिले नै एक हजार रूपैयाँँ बुझाउनुपर्ने रहेछ । दुईवटा बेड रहेछन् ।

दुईजना युवतीहरू बसेका थिए । कसले मसाज गर्ने भनेर रोज्न पनि पाइने रहेछ ।’ तर, उनले मसाज गर्ने युवतीसँग कुरा गर्दै जाँदा आफू १६ वर्षकी मात्रै भएको बताएकी ती व्यक्तिले दाबी गरे । ‘खासमा स्पा भनेको त विदेशमा जस्तै सुविधासम्पन्न होला, मसाज मात्रै होइन फेसियल, कम्तीमा हट वाटर बाथ त होला भनेको काँ हुन्थ्यो ? त्यो त एउटा कोठामा लगेर यौनधन्दा गराउने ठाउँ रहेछ,’ ती व्यक्तिले भने । नेपालगन्जमा कार्यरत मानव बेचबिखनविरुद्धका एक अभियन्ताको अनुभव पनि ती व्यक्तिको भन्दा फरक छैन । ती अभियन्ताले आफूले स्पा सेन्टरको अवस्था बुझ्ने उद्देश्यले स्पा सेन्टरमा गएको अनुभव सुनाउँदै भने, ‘म खासमा अवस्था के रहेछ भनेर बुझन् गएको थिएँ ।

त्यहाँभित्र झ्याल पनि नभएको बन्द कोठा हुँदो रहेछ । कुनै कोठामा एसी हुने, कुनैमा पंखा मात्रै रहेछ । मलाई मसाज गर्न भनेर एकजना नानी आइन् । उनीसँग कुरा गर्दै जाँदा उनले साढे १६ वर्ष उमेरकी भएको बताइन् । उनको एक वर्षको छोरो पनि रहेछ ।’ ती अभियन्ताका अनुसार स्पा सेन्टरका सेवाग्राहीहरू मुख्यगरी क्यासिनो खेल्नका लागि आउने भारतीयहरू हुने गरेका छन् । त्यसमा पनि बालबालिकाको प्रयोग हुनु झनै संवेदनशील विषय भएपनि बाँके प्रशासनले यस्ता स्पाहरूमा निगरानी त परै जाओस् कतिवटा स्पाहरू सञ्चालनमा छन् भन्ने अभिलेखसमेत राखेको छैन ।

नेपालगन्ज उपमहानगरपालिकाको राजस्व शाखाको तथ्यांकअनुसार नेपालगन्ज क्षेत्रमा अहिले २७ वटा स्पाहरू दर्ता रहेका छन् ।नेपालगन्जको चौलिक्का चोकदेखि गणेशमानचोकबीचको करिब दुई किलोमिटरको सडकखण्ड आसपासमै ११ वटा स्पाहरू सञ्चालनमा छन्। यसैगरी कारकाँदो चोकदेखि भाटभटेनी बीचको खण्डमा १३ वटा स्पाहरू सञ्चालनमा छन् । सहरका अन्य स्थानमा पनि स्पाहरूका बोर्डहरू झुण्डिने क्रम तीव्र छ । तर, जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार प्रशासनमा गएर एकजनाले पनि स्पा सञ्चालनका लागि भनेर अनुमति लिएको छैन ।

जबकी जिल्ला प्रशासन कार्यालय आफैँले एक वर्षअघि बनाएको रात्रिकालीन÷पूर्णसमयमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०८१ ले स्पा लगायतका व्यवसायहरू सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको हुनुपर्ने व्यवस्था गरेको छ । गृह मन्त्रालयले सुशासन ऐनले दिएको अधिकार प्रयोग गर्दै बनाएको पूर्णसमयमा व्यवसाय सञ्चालन गर्नेसम्बन्धी कार्यविधि २०७९ को अधीनमा रहेर उक्त मापदण्ड तयार गरेको थियो ।

उक्त मापदण्डमा प्रमुख जिल्ला अधिकारीले तोकेको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा व्यवसाय सञ्चालनका लागि सिफारिस गर्ने, मापदण्ड पालना गराउने र अनुगमन गर्ने पाँच सदस्यीय जिल्लास्तरीय अनुगमन समिति रहने भनिएको छ । अहिलेसम्म उक्त समिति पनि गठन गरिएको छैन, अनुगमन त परै जाओस् । यसरी अनुगमन गर्ने निकायले नै अनुगमन नगर्दा स्पाहरू आन्तरिक मानव बेचबिखनको केन्द्र बन्ने जोखिम रहेको मानव बेचबिखनविरुद्ध काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिहरू बताउँछन् ।

एक संस्थाका प्रमुखले भने, ‘स्पाहरूमा यौन किनबेच भइरहेको छ । त्यसको जोखिममा बालबालिका परेका छन् भन्ने कुरा प्रहरीदेखि प्रशासनलाई थाहा नहुने कुरै छैन । उनीहरूलाई हामी यसविरुद्धमा काम गर्नेहरूले नघचघच्याएको पनि होइन । तर खै किन यसविषयमा कुनैपनि निकायले सक्रियतापूर्वक काम गरिरहेका छैनन् ।’ आन्तरिक तथा देशबाहिर मानव बेचबिखन परेका, पर्ने जोखिममा रहेका र समाजमा पुनस्र्थापना हुन अप्ठ्यारो भएकाहरूलाई आश्रय दिनेसम्मको काम गर्दै आएको शक्ति समूहको नेपालगन्जस्थित कार्यालयकी प्रमुख निर्मला पौडेल पनि स्पा सेन्टरहरूको अनुगमन नै नहुनु जोखिमको अवस्था भएको बताउँछिन् ।

उनले भनिन्, ‘व्यवसाय गर्न पाउनुपर्छ । त्यसमा कुनै समस्या भएन । तर, यस्तो संवेदनशील व्यवसायले पालना गर्नुपर्ने मापदण्डको अनुगमन नै नहुनु एकदमै शंकास्पद कुरा हो ।’ रात्रीकालीन÷पूर्णसमयमा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०८१ ले गरेको व्यवस्थाअनुसार मनोरञ्जनात्मक व्यवसायहरूमा १८ वर्षमुनिका व्यक्तिहरूलाई काममा लगाउन पाइँदैन । उक्त मापदण्डमात्रै नभई अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी दस्ताबेजले १८ बालबालिकालाई यस्ता काममा लगाउन बन्देज गरेको छ ।

तर, पौडेलले नेपालगन्जका स्पाहरूमा १८ वर्षमुनिका बालिकाहरूको शोषण भइरहेको अवस्था रहेको बताइन् । सीमानजिक रहेको सहर भएकोले यस्ता व्यवसायमा काम गर्ने बालिकाहरू अझ बढी जोखिममा रहने भएकोले राज्यले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
शक्ति समूहले मानव बेचबिखनको जोखिममा रही देशबाहिर जान लागेका र आन्तरिकरूपमा पनि बेचबिखनको जोखिममा परेकाहरूलाई उद्धार गरेको तथ्यांक हेर्दा पछिल्लो वर्षमा सेवा दिइएका पाँच सय चार जनामध्ये तीन सय ९१ जना त १८ वर्षमुनिका बालिकाहरू नै रहेका छन् । यस तथ्यांकले पनि अहिले बालिकाहरू मानव बेचबिखनजन्य अपराधीहरूको निसानामा रहेका देखिन्छ ।

तर, सहरमा खुलेआम अनुमति बेगर नै सञ्चालनमा रहेका स्पाहरूमै बालबालिकाको प्रयोग भइरहेको हुनसक्नेतर्फ प्रशासन बेखबर छ ।रात्रीकालीन÷पूर्णसमयमा होटल तथा मनोरञ्जनात्मक व्यवसायका लागि प्रशासनले तोकेको समयमा मात्र सञ्चालन गर्नुपर्ने भनिएको छ । तर, नेपालगन्जमा स्पाहरू सञ्चालनमा रहेका क्षेत्रका स्थानीयहरू यस्ता स्पाहरूले अहिले पनि रात्रीको समयमा सेवा दिइरहेका छन् । जसमा अधिकांश भारतीयहरूसहित नेपालीहरू पनि यसका सेवाग्राहीका रूपमा रहेका छन् ।

मापदण्डले सेवाहरूबारे स्पष्टरूपमा मूल्यसूची राखेको हुनुपर्ने, कर्मचारीलाई नियुक्तिपत्र दिएको हुनुपर्ने, पोशाक, परिचयपत्र, रात्रीको समयमा यातायात र सुरक्षाको व्यवस्था गरेको हुुनुपर्ने लगायतका व्यवस्था गरेको छ । यसैगरी सेवाग्राहीलाई पनि सफा, स्वच्छ र सुरक्षित वातावरणमा सेवा दिनुपर्ने, घरसम्म पुग्ने यातायातको व्यवस्था गरिदिनुपर्ने लगायतका व्यवस्थाहरू पनि मापदण्डमा छन् । यी कुनैपनि मापदण्ड पालना भए–नभएको अहिलेसम्म अनुगमन भएको छैन । कतिपय स्पाहरू त दर्तासमेत नभई सञ्चालनमा रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा २५ वटा स्पाहरू सुर्खेत रोड आसपासमै सञ्चालनमा रहँदा उपमहानगरमा २७ वटा मात्रै दर्ता रहेका छन् । वडा नम्बर ४, १२, ११, २ लगायतका स्थानमा पनि स्पाका बोर्डहरू राखिएका देख्न सकिन्छ । उपमहानगरको राजस्व शाखाका एक कर्मचारीले दर्ता नभएका स्पाहलाई दर्तामा आउन अनुरोध गरिएको र नआएमा अनुगमन गरी कारबाहीको दायरामा ल्याउने योजनामा रहेको जानकारी दिए । स्पालाई मनोरञ्जन र प्राकृतिक उपचारको एक प्राचीन तरिकाको रूपमा लिइन्छ ।

तर, नेपालगन्जमा खुलेका स्पाहरूले नाम स्पाको राखेपनि सेवा भने मसाजको मात्रै दिइरहेका छन् । वास्तवमा स्पाको एउटा अंगमात्रै हो मसाज। प्राचीन समयमा ग्रीक र रोमनहरूले तातो पानीको मुहानमा नुहाएर शारीरिक थकान तथा दुःखाइ कम गर्ने प्रचलनबाट सुरु भएको मानिने यो मनोरञ्जनको शैलीले मध्ययुगपछि ‘स्पा’ नाम पाएको मानिन्छ । १८औँ र १९औँ शताब्दीमा धनी वर्गका मानिसहरूल स्पाले चिकित्सा र उपचारको रूपमा प्रयोग बढाउँदै लगेको मानिन्छ ।

अहिले स्पा सौन्दर्य उपचार, योग र ध्यानजस्ता विधिहरूमार्फत आनन्द प्राप्त गर्ने सेवाका रूपमा विश्वभरी फैलिएको छ । तर, नेपालमा यसको मापदण्डका सम्बन्धमा स्पष्ट व्यवस्था नहुँदा यसलाई व्यवसायका रूपमा अपनाउनेहरूले स्पाका नाममा मसाज सेन्टर खोलेर झुक्याइरहेका सेवाग्राहीहरू बताउँछन् । अर्काेतिर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ मा मानव बेचबिखन र ओसारपसारको कसुर मानिने केही कार्यहरूलाई स्पष्टरूपमा उल्लेख गरिएको छ । ऐनको परिभाषाअनुसार, मानव बेचबिखन भन्नाले मानिसलाई किन्ने र बेच्नेलाई मात्रै मानव बेचबिखन मानेको छैन ।

ऐनले त यौन शोषण गरी व्यवसाय सञ्चालन गर्ने, जबरजस्ती काममा लगाउने, अङ्ग झिक्ने, दासत्वमा राख्ने जस्ता कार्यलाई पनि मानव बेखबिखन मानेको छ । ऐनले मानव बेचबिखन मानेका क्रियाकलाप पनि केही वर्षको अन्तरालमै च्याउ झैँ उम्रिएका र मापदण्डको यकिन नभएका स्पाहरूमार्फत पनि नभएको होला भन्न नसकिने यसविरुद्ध काम गरिरहेकाहरूको बुझाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार