भेटेरीनरी बाँकेको बजेट १२ करोड ८५ लाख



नेपालगन्ज ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष २०७८÷०७९ मा गरिने कार्यक्रमका बारेमा कार्यालयले सार्वजनिक गरेको हो । कार्यालयले एक कार्यक्रमको आयोजना गरी चालू आर्थिक वर्षमा सञ्चालन गरिने १२ करोड ८५ लाख ७९ हजार कुल बजेट खर्च गर्ने गरी योजना बनाएको छ ।

११ करोड ५ लाख १९ हजार रुपैयाँ कार्यक्रमका लागि र अन्य कार्यालय प्रयोजनका लागि बजेट खर्च हुने भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले जानकारी दिइन् । विज्ञ केन्द्रले सञ्चालन गर्ने वार्षिक कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि १ करोड २४ लाख ४९ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रममा जिल्लाका ४ वटा स्थानीय तहका गाउँहरू रहेका छन् । त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (संघ शसस्त्र अनुदान) अन्तर्गत ब्लक विकास कार्यक्रमका लागि २ करोड ७ लाख बजेट, अभियानमुखी (मिसन) कृषि तथा पशुपंक्षी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमका लागि ३ करोड १९ लाख ६८ हजार, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रमका लागि १ करोड ३८ लाख, मत्स्य विकास तथा प्रवर्द्धन कार्यक्रमका लागि ९ लाख ७३ हजार, पशु सेवा (संघ सःशर्त अनुदान) मार्फत २६ लाख ६५ हजार, कृषि तथा पशु जन्य उद्योग यन्त्र तथा पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ८ लाख, कृषि विकास र रणनीति अनुगमन तथा समन्वय कार्यक्रम (संघ सःशर्त) का लागि २ लाख, पशुपंक्षी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमका लागि १ करोड १५ लाख १९ हजार बजेट रहेको छ ।

विज्ञ केन्द्रका अनुसार जिल्लामा गाई भैंसी, बाख्रा, बंगुर, माछाका ब्लक विकास कार्यक्रम सञ्चालन गरिनेछ । मिसन कार्यक्रममा बाख्रा र माछालाई फोकस गरिएको छ । यसैमा साइलेज उत्पादनका लागि मकै मिसन पनि सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।

सेवा टेवा विस्तार कार्यक्रम सञ्चालनका लागि बाख्रा, भैंसी स्रोत केन्द्र स्थापना, डोर टु डोर पशु बाँझोपन निवारण सेवा, उपचार तथा खोप, हरित स्वयम् सेवकका लागि क्षमता अभिवृद्धि तालिम, पशु स्वास्थ्य आकास्मिक सेवा, हरित स्वयंम सेवकका लागि नमुना फर्म स्थापना र प्रदर्शनी, बाख्रा प्रवर्द्धन कार्यक्रम, व्यावसायीक बंगुर उत्पादन प्रवर्द्धन, गाई भैंसी प्रवर्द्धन कार्यक्रम, ५० प्रतिशत अनुदानमा चिलिङ भ्याट कार्यक्रम, पशुपन्छी तथा मत्स्य प्रविधि प्रदर्शन, निजी तथा सरकारी निकायसँगको सहकार्यमा दूध विविधिकरण कार्यक्रम, बायोग्यास सहितको भकारो सुधार कार्यक्रम, मिल्क एनलाइजर वितरण कार्यक्रम, पाडा पाडि हुर्काउने कार्यक्रम, चाप कटर वितरण, मिल्क क्यान वितरण, धान खेतमा माछा र हाँस पालन प्रर्दशन कार्यक्रम लगायतका रहेका छन् ।

कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, घाँसको श्रोत केन्द्र स्थापना, ग्रामिण कुखुरा पालन विस्तार कार्यक्रम, कोभिड विशेष मागमा आधारित कार्यक्रमका साथै अन्य कार्यक्रम रहेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन् ।

उता मत्स्य विकास प्रवर्द्धन कार्यक्रममा आपतकालीन सेवा, जिउँदो माछा बिक्रि वितरण स्टल निर्माण तथा सुधार रहेको छ । पशुपन्छीको रोग नियन्त्रणका लागि खोप कार्यक्रम रहेको छ भने पशुपन्छी उपचार सेवाको लागि भ्यान खरिद समेत गरिने विज्ञ केन्द्रले जनाएको छ । जिल्लामा साइलेज उद्योग स्थापना पनि गर्ने गरी बजेट विनियोजन भएको छ ।

त्यस्तै विज्ञ केन्द्रले भैंसी ब्रीडर हर्ड व्यवस्थापन गर्ने जनाएको छ । चालू आर्थिक वर्षमा शुद्द नश्लको राँगो पनि किसानलाई वितरण गरिने विज्ञ केन्द्रले योजना बनाएको छ । डुडुवा गाउँ पालिकाको लागत साझेदारीमा डुडुवामा समुदायमा आधारित व्यावसायीक भैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने छ भने जानकी ग्रामिण उथान कृषि सहकारी संस्थाको दाना गोदाम घर निर्माण गरिनेछ ।

वार्षिक सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तव, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, विज्ञ केन्द्र नेपालगन्जका मत्स्य विकास अधिकृत वसिर अहमत, कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लाल बहादुर खत्री, किसान महासंघका केवल शर्मा, अगुवा किसानहरू, स्थानिय तहमा रहेका पशु सेवा शाखाका प्रमुख तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ मंसिर ७ गते मंगलबार