
सुर्खेत ।
जुम्लाबाट करोडौँ मूल्यको स्याउ बोकेर आएका दर्जनौँ ट्रक कर्णाली राजमार्गमा अलपत्र परेका छन् । बाह्य जिल्लामा स्याउ निर्यातका लागि पठाइएका ट्रक सडक अवरुद्ध भएपछि राजमार्गमै अलपत्र पर्दा करोडौँको स्याउ कुहिने जोखिम बढेको छ । सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवल, काठमाडौँलगायत जिल्लामा स्याउ निर्यातका लागि हिँडेका ट्रक सडक नखुल्दा तीन दिनयता राजमार्गमै अलपत्र हुन् । अविरल वर्षापछि आएको भीषण ढुंगासहितको पहिरोले कर्णाली राजमार्गमा आउजाउ पूर्णठप्प छ ।
भदौ १४ गते बिहान राजमार्गको गगने खोलामा पहिरो जाँदा भएको सडक अवरुद्व अझै खुल्न सकेको छैन् । सडक पूर्णरूपमा अवरुद्ध ठप्प हुँदा जुम्लाबाट स्याउ बोकेर आएका ट्रक बाटोमै रोकिएका हुन् । सडक अवरुद्व भएपछि जुम्लाबाट स्याउ बोकेर आएका करिब २३ वटा ट्रक बाटोमै रोकिएका छन् । तीन दिनदेखि सडक अवरुद्ध भएपछि झण्डै १३ करोड बराबरको स्याउ बाटोमै थन्किएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । उनका अनुसार प्रतिट्रकले छदेखि नौ मेट्रिकटन (औसतमा ८ मे.टन) स्याउ बोकेका छन् ।
यस हिसाबले २३ ट्रकमा भएको १३ करोड बराबरको १८४ मेट्रिकटन स्याउ बाटोमै थन्किएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । किसान र व्यापारीको हितका लागि सडक चाँडोभन्दा चाँडो खुल्नुपर्नेमा उनको जोड छ । तीन दिनदेखि ट्रक बाटोमै रोकिएपछि करोडौँ रुपैयाँ पर्ने स्याउ कुहिने जोखिम बढेको कृषि विज्ञहरू बताउँछन् । विगतको तुलनामा यस वर्ष ढिला गुल्कोजको मात्रा भरिएको र पाकेको स्याउ निर्यात भएकाले निर्वाधरूपमा गन्तव्य पुग्न नसके स्याउ कुहिने जोखिम झन् बढेको हो ।
सीमावर्ती क्षेत्र नाग्म प्रहरी चौकीको रेकर्डअनुसार भदौ १४ गतेदेखि १६ गते साँझसम्ममात्रै करिब २५ भन्दाबढी स्याउ बोकेका ट्रक बाहिरिएका छन् । नाग्म प्रहरी चौकीका असई यम शर्माका अनुसार गगने खोलामा ठूला ठूला ढुंगा आएको र ब्रेकरले पनि ढुंगा फुटाउन सम्भव नभएपछि ब्लाष्टिङ गर्ने तयारी छ । बाटोमा रोकिएका उक्त ट्रकमा भण्डै ८०० क्विन्टल स्याउ निर्यात भएको उल्लेख छ । न्यूनतम १२ क्विन्टलदेखि अधिकतम ४० क्विन्टलसम्म स्याउ व्यापारीले बिक्रीका लागि लिएको पाइएको छ । व्यापारी हरिसिंह नेपालीले लगातार तीन दिनदेखि बाटोमै स्याउ थन्किएको बताए । स्याउ कुहिने जोखिम पनि उच्च रहेकाले चिन्ताले पिरोलेको उनको भनाइ छ ।
उनका अनुसार हरेक स्याउ निर्यातकै सिजनमा वर्षात हुने, बाढी पहिरो आउने र बाटो अवरुद्ध हुने समस्या आउने गरेको छ भने करोडौँका स्याउ बोकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर अवरुद्व सडक खुलाउने तयारी भने सुस्त छ । ‘सडकमा ठूला ठूला ढुंगा खसेको स्थानमा ब्रेकरले पनि ढुंगा फुटाउन सकेको छैन् । अब ब्लाष्टिङ गर्ने भन्ने छ । कहिले सडक खुल्ने हो पत्तो छैन्’ उनले भने, ‘सडक खुल्ने स्थिति नरहेपछि स्याउ कुहिने चिन्ताले सताएको छ ।’
अर्का स्याउ व्यापारी कालीबहादुर रोकायाले सडक अवरुद्ध भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ती पाएको बताए । उनले चार हजार किलो स्याउ बिक्रीका लागि निर्यात गरिएको बताए । उनले किसानबाट स्याउ खरिद गरेको आधा पैसा दिन बाँकी रहेको भन्दै गाडीको ढुवानी भाडा तिर्न बाँकी रहेको बताए । तर स्याउ बाटोमै थन्किएपछि कुहिने सम्भावना उच्च हुँदा लगानी डुब्ने चिन्ता रहेको उनको भनाइ छ । समयमै सडक नखुल्दा किसानसँगै व्यापारी पनि मारमा पर्ने खतरा छ ।
‘जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात गरेर आउने आम्दानी हो,’ उनले भने, ‘स्याउ निर्यातको समयमा लगातार तीन दिनसम्म सडक अवरुद्ध हुँदा समस्या भएको छ । सडक खुल्ने समय निश्चित नहुँदा बाटोमा अलपत्र परेको मात्र नभइ बोटमै रहेका स्याउ पनि कुहिने अवस्था छ ।’ यस्तै प्याकिङ गरी निर्यात गर्ने तयारीमा रहेका गाडी र संकलन गरेर प्याकिङ गर्दै गरेको स्याउ पनि जिल्लामै थन्किएको छ । यो समस्याले किसानको करोडौँ मूल्यको स्याउ कुहिने जोखिम बढेको छ ।
एउटा ट्रकमा कम्तीमा पनि ५०० स्याउका कार्टुन लोड गरिएका छन् । यस वर्ष जुम्लामा बढीमा १३ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जसमा चार हजार मेट्रिकटनसम्म निर्यात हुने अनुमान छ । साथै असिनापानीले समेत यस वर्ष जुम्लामा स्याउमा ठूलो क्षति गरेको छ । करिब पाँँच लाख बिरुवामा असिनाले क्षति गर्दा १६ करोडको स्याउ नोक्सान भएको अनुमानित तथ्यांक छ । उत्पादन कम भएको वर्ष मूल्यवृद्वि भएपनि सडक अवरुद्ध हुँदा किसान र व्यापारी घाटामा छन् ।
सडक अवरुद्ध हुँदा ठूला मालबाहक सवारीसँगै अन्य यात्रुबाहक सवारी पनि सडकमै थन्किएका छन् । समयमै नेपालगन्ज, सुर्खेत गाडी पु¥याउन नसके करोडौँको क्षति जुम्लाले व्यहोर्नुपर्ने जुम्लाका देउराम नेपालीले बताए । उनका अनुसार नजिकिँदै गरेको दसैँतिहार मनाउने गरी केही रकमको जोहो होला भनेर स्याउ निर्यात गर्न लागिएको छ । तर चार दिनदेखि बाटोमै स्याउ थन्किएपछि उनी चिन्तित छन् । उनले भने, ‘बाटोमा चालक, सहचालक र यात्रुलाई स्याउ खुवाउँदा खर्च बढेको छ । गाडीको ढुवानी पनि बढी तिर्नुपर्ने अवस्था छ । यसरी थन्किएको स्याउ कुहिने समस्याले लाखौँ घाटा लाग्ने निश्चित छ ।’
सडक खुलाउन ब्लाष्टिङ गरिँदै
गगने खोलाको सडक अवरुद्व हटाउन ब्लाष्टिङ गर्ने तयारी छ । सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले सोमबारदेखि सुरु भएको ब्लाष्टिङ कार्य मंगलबारसम्म सक्ने तयारी छ । उनका अनुसार कतिपय स्थानमा ब्रेकर लगाएर पनि ढुंगा फुटाउन नसकिएपछि ब्लाष्टिङको प्रयास जारी छ । दुई दिनसम्मको प्रयास सम्भव नभएपछि अब ब्लाष्टिङ नगरी सडक खुल्ने स्थिति नरहेको उनले जानकारी दिए । उनले भने, ‘कालिकोट प्रहरी, प्रशासन र सेनासँग समन्वय गरि ब्लाष्टिङ कार्य अघि बढाइएको छ । गगने खोलामा ठूला ठूला ढुंगा खसेका छन् । सडकको निसाना नै छैन् । अब ठाउँठाउँमा ब्लाष्टिङ मात्रै अन्तिम विकल्प हो ।’
कर्णाली राजमार्गमा वर्षा सिजनभरी जोखिम कायमै रहन्छ । भौगोलिक रूपमा भिरालो क्षेत्र र स्थानीय तहले जथाभावी निर्माण गरेको पहुँच सडकका कारणले पनि झन् जोखिम बढेको हो । सामान्य वर्षात हुनेबित्तिकै राजमार्गमा पहिरोको उच्च जोखिम हुने गरेको छ । गत वर्ष पनि भदौ १३ देखि १६ गतेसम्म सडक अवरुद्ध हुँदा ६३ वटा स्याउ बोकेका ट्रक अलपत्र परेका थिए भने आधा स्याउ बाटोमै कुहिँदा व्यापारीहरू घाटामा परेका थिए ।









प्रतिक्रिया दिनुहोस्